दशैँमा सास त के, लास ल्याउन पनि सकस- यूएईमा अड्किए १५ नेपालीको शव – Nepal Press

दशैँमा सास त के, लास ल्याउन पनि सकस- यूएईमा अड्किए १५ नेपालीको शव

आबुधावी । यूएईको सारजाहमा कार्यरत हिले दोलखाकी ४३ वर्षीया विमला बुढाथोकी खड्का केही समययता खुट्टाको नसासम्बन्धी समस्याबाट ग्रसित थिइन् । सारजाहकै एक क्लिनिङ कम्पनीमा कार्यरत उनलाई नेपाल फर्किने भन्दाभन्दै कम्पनीले झुलायो । काम गर्न नसकेपछि कम्पनीले केही समय यहीँ बसेर आराम गर्न भन्यो ।

यूएईमा ज्यान गुमाएकी विमला बुढाथोकी खड्का ।

दुबईमै काम गरिरहेकी विमलाकी जेठी छोरी पवित्राले आमालाई धेरै पटक नेपाल फर्काउन कोसिस गरिन् । तर, प्रयास सफल भएन । विमलाको नसाको अप्रेसननै गर्नुपर्‍यो । अप्रेसनको केही दिनपछि उनी कम्पनीकै कोठामा ढलिन् । साथीभाइ र कम्पनीले एम्बुलेन्स त बोलाए तर बचाउन सकेनन् ।

उनको शव सारजाह अस्पतालमा छ । बुधबारमात्रै कम्पनीले कागजात तयार गरेको छ । तर, शव नेपाल पठाउन हवाई टिकट र कार्गो व्यवस्थापन भएको छैन ।

साउदीमा कार्यरत विमलाका श्रीमान र जर्मनीमा रहेकी कान्छी छोरी नेपाल पुगेर दशैँको मुखमा विमलाको शव कुरिरहेका छन् । यता दुबईमा छोरी पवित्रालाई पनि आँखैअगाडि आमा गुमाउँदाको पीडा त छँदैछ । दशैँ दशा बनेको बेला शव लैजान नपाएकोमा उस्तै चिन्ता ।

मकवानपुरका भीम बहादुर घिसिङ, सन्धिखर्क ६ अर्घाखाँचीका ताराबहादुर झाँक्री मगर, मोरङका विद्यानन्द राजवंशी, रौतहटका नीरबहादुर थिङ, र सुरेन्द्र शाहीको शव कानूनी प्रकृया पूरा गरी जहाजको कार्गो स्पेसको पर्खाइमा छन ।

यी प्रतिनिधिमात्र हुन् । यूएईमा ज्यान गुमाएका १५ जना नेपालीको शव नेपाल पठाउन अझै बाँकी छ ।

शव नेपाल लैजानु पहिले सम्पूर्ण कागजात पूरा गरेर आबुधावीमार्फत एनओसी (शव लैजान अनुमति पत्र) बनाउनु पर्छ । बिहीबार फूलपातीबाटै दशैँ बिदा सुरू भयो । एनओसीलगायत अत्यावश्यक सेवा नेपाली दूतावास बन्द हुँदा पनि जारी राख्ने राजदूत तेजबहादुर क्षेत्री बताउँछन् ।

पछिल्लो समय यूएईमा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । त्यसमा आत्महत्याको तथ्यांक बढी छ । गएको मंगलबार र बुधबार २ दिनमा नेपाली दूतावास आबुधावीले ९ जनाको शव नेपाल लैजान एनओसी जारी गरेको छ । तर, जहाजमा कार्गो स्पेस फुल भएका कारण ती शव यूएईका विभिन्न मर्चरीमा छन् ।

जहाजको टिकट दुई महिना पहिलेबाट बुकिङ भएको र अहिले यात्रुको चापका कारण लगेज कार्गो धेरै हुने भएकाले शव लैजान समस्या भएको एनआरएन यूएईका अध्यक्ष विकास शाही बताउँछन् ।

‘वाइडवडी जहाजमा २ जनासम्मको र न्यारोवडीमा एकजनाको मात्र शव लगिन्छ । अहिले दशैँको अग्रिम बुकिङका कारण शव लैजान नसकिएको हो’, शाहीले नेपाल प्रेससँग भने ।

यो समस्या नेपाली दूतावास, एयरलाइन्स कम्पनी र कामदार कार्यरत कम्पनीको समन्वयमा समाधान गर्न सकिने उनी सुझाउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *