‘यस्तो शोमा इन्टर्भ्यु दिन्न’ भन्दै प्रकाश सुवेदीमाथि विराज भट्टको कडा प्रहार – Nepal Press

‘यस्तो शोमा इन्टर्भ्यु दिन्न’ भन्दै प्रकाश सुवेदीमाथि विराज भट्टको कडा प्रहार

‘यो मन पर्छ कि त्यो मन पर्छ भनेर कन्ट्रोभर्सी बनाउने र कलाकारबीच विभाजन ल्याउन खोज्ने मिडियालाई कुनै भ्यालु दिन्न’

काठमाडौं । आफ्नो चलचित्र ‘१२ गाउँ’ ले हलहरूमा आक्रामक ओपनिङ गरेपछि बिराज भट्ट निकै हौसिएका छन् । हिजो हल भिजिट गर्ने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदा उनको बोलीमा बेग्लै रवाफ थियो ।

छोरा समीर भट्टलाई साथ लिएर हल भिजिटमा हिँडेका थिए विराज । रिलिजअघि खासै आरोप-प्रत्यारोपमा नउत्रिएका उनले हलहरूमा दर्शकको चाप देखेपछि भने कडा लवजमा प्रतिक्रिया दिएका हुन् ।

साइबर सेना प्रयोग गरेको आरोप लगाउनेलाई दर्शकले नै जवाफ दिएको विराजले बताए । उनले भने, ‘जसले साइबर सेना भनिरहेका थिए उनीहरूले हलमा आएर हेर्दा हुन्छ ।’

सञ्चारकर्मी प्रकाश सुबेदीमाथि पनि खनिए बिराज । केही दिनअघि सुवेदीको कार्यक्रममा केही चलचित्रकर्मीले दशैंमा रिलिज हुने तीन चलचित्रमध्ये १२ गाउँ तेस्रो हुने भविष्यवाणी गरेका थिए । विराजले राम्रो चलचित्र बनाउन नसकेका र मार्केटमा कुनै इमेज नभएकाहरूले ईर्ष्या र जलन भएर मिडियामा ‘१२ गाउँ’ माथि नकारात्मक टिप्पणी गरेको भनेर आरोप लगाए ।

‘१२ गाउँको विषयमा नकारात्मक समीक्षा गर्ने तिनीहरूको हैसियत छैन,’ विराजले भने, ‘म चुप लागेर बस्दा मान्छेहरूले चाहिने-नचाहिने चिजहरू गरे । तर यिनीहरूले बोलेर केही हुँदैन भन्ने मलाई थाहा थियो । दुई-चार जनाले प्लान गरेर चाहिने-नचाहिने बोलेर केही हुँदैन ।’

सञ्चारकर्मी सुबेदीलाई लक्षित गर्दै उनले कडा टिप्पणी गरे ।

‘यस्तालाई म मिडिया नै मान्दिनँ र मैले कहिल्यै भ्यालु पनि दिएको छैन । मेरो आफ्नै व्यक्तित्व छ । कलाकारलाई कन्ट्रोभर्सीमा ल्याउने र नेगेटिभिटी फैलाउने मिडियालाई अन्तर्वार्ता दिन पनि जान्न । यो मन पर्छ कि त्यो मन पर्छ भनेर जवाफ दिनका लागि म कलाकार भएको हो ? यस्ता मिडियालाई मैले जिन्दगीभर अभोइड गरेको छु । मेरोलागि चलचित्र उद्योग मेरो परिवार हो । आफ्नै परिवारभित्र विभाजन ल्याउन खोज्ने मिडियाहरूलाई सबैले अभोइड गर्नुपर्छ । यो मन पर्छ कि त्यो भनेर जवाफ दिनको लागि मैले कलाकारिता गरेको होइन । मेरो लागि सबै जना समान हुन् ।’

विराजमाथि लागेको अर्को आरोप हो, भोजपुरी चलचित्र खेल्न थालेपछि आफूलाई ‘भारतीय’ जस्तो बनाउन ‘भट्ट’ थरलाई ‘भट्’ बनाएको । यो विषयमा भने उनले स्पष्ट जवाफ दिन सकेनन् । आफू झिनामसिना कुराको जवाफ नदिने बताए ।

उनले भने, ‘झिनामसिना कुरामा जवाफ दिइरहने मेरो औकात र हैसियत होइन । मेरो फुर्सद पनि छैन । कुकुर भुक्दै गर्छ, हात्ती लम्किँदै गर्छ। कुकुर भुक्नेवित्तिकै हात्तीले ओहो कुकुर आयो भनेर फर्केर हेर्दैन । मलाई यत्तिकै बाघ भनेर भनिएको होइन क्या ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *