छक्का पन्जा–५ : गम्भीर विषयमा ‘दीपक–दीपा’ शैलीको सुन्दर कथावाचन – Nepal Press

छक्का पन्जा–५ : गम्भीर विषयमा ‘दीपक–दीपा’ शैलीको सुन्दर कथावाचन

काठमाडौं । ट्रेलरलाई लिएर ‘छक्का पन्जा–५’ले राम्रो प्रतिक्रिया पाएको थिएन । फिल्मका गीतहरू पनि विवादित बनाइए । रिलिजअघि नै सामाजिक सञ्जालमा चर्को आक्रमण सहनुपरेको यो फिल्मले अहिले हलहरूमा भने व्यापक संख्यामा दर्शकलाई आकर्षित गरिरहेको छ ।

पहिलो दिन हलहरूमा दर्शकको घुइँचो लाग्नुको मुख्य कारण थियो, ‘छक्का पन्जा’ ब्रान्ड । सामाजिक सञ्जालमा जति खेदिनु परे पनि दर्शकले यो ब्रान्डप्रति भरोसा देखाएका छन् । यस फिल्मको विषयवस्तु र कथा वाचन शैलीले दर्शककाे भराेसामा आँच आउन दिएकाे छैन । दीपक–दीपाले नेपाल र नेपालीको साझा कथालाई चलचित्रको माध्यमबाट अभिव्यक्त गर्ने कोसिस गरेका छन् ।

इमानदार बन्न खोज्दा एक सरकारी अधिकृतले पाउने सास्तीको कथा नै फिल्मको केन्द्रीय विषय हो । पृथ्वीनारायण शाहको दरसन्तान भएकोमा गर्व गर्ने बुवाको छोरा राजा (दीपकराज गिरि) सरकारी अधिकृत छन् । घुस लिनु र दिनुलाई अपराध मान्ने प्रेरित राजाले आफ्नै यो बुझाइका कारण दुःख पाउँछ ।

यो देश र समाजमा जसले इमानको कमाइ मात्रै खान खोज्छ, उसलाई छरछिमेकले हेप्न सुरु गर्छ । इमानदारिताको कमाइ मात्रै खानेलाई परिवारले पनि पत्याउँदैन । किनभने समाज यस्तो बनिसकेको छ कि यहाँ इज्जत, मान प्रतिष्ठा र सम्मान.भनेकै पैसा हो । परिवारले पहिले पैसालाई माया गर्छ अनि मात्रै पैसा कमाउने व्यक्तिलाई । जोसित पैसा छैन, उसले प्रेम पाउने कुरा धेरै परको भइगयो ।
बल्लतल्ल विवाह गरेको राजाकी श्रीमतीले राजालाई माया त गर्छे, तर सम्बन्ध अगाडि बढाउन माया मात्रै काफी हुँदैन, पैसा पनि चाहिन्छ । जसका लागि राजा भ«भ्रष्ट्राचार गर्न तयार छैन । अनि श्रीमतीले डिभोर्स दिन्छे ।
भ्रष्ट र दलाल हुन नसक्दा एक सामान्य नागरिकको जीवनमा आइपर्ने उल्झनहरूको कथा हो ‘छक्का पन्जा– ५’ । त्यो उल्झनमा राजाका बुवा आइपुग्छन् । श्रीमती आइपुग्छे । समाज आइपुग्छ । भ्रष्ट मान्छेहरू आइपुग्छन् । जसले राजालाई चैनले बस्न दिँदैन । यी सबै प्रतिकूलतासँग राजाले कसरी संघर्ष गर्छ त ?

फिल्मको मूलकथा नै यही हो । यो कथालाई दीपक–दीपाले आफ्नै शैलीमा पस्किएका छन् । मसलाको रुपमा कमेडी मिसाइएको छ । अर्को कोणबाट माग्ने बूढा (केदार घिमिरे)ले फिल्मलाई थप रोचक बनाएका छन् । राजाराम पौडेलले पनि फिल्ममा रोमान्चकता थपेका छन् ।

‘श्रीमतीको मात्रै कुरा सुन्छु’ भनेर कागजी सम्झौता गराउँदै गरेको लगायत केही फाल्तु दृश्यहरु बाहेक फिल्म सुन्दर छ । फिल्मले दर्शकलाई बाँधेर राख्न सक्षम छ । अदालतको बहस र दृश्यहरु भने गतिला छैनन् । मुख्य कुरा त डिभोर्सको मुद्दामा अदालतमा न न्यायाधीशले बोलेको सुहाएको छ, न त वकिलहरुले नै ! अदालतमा हुने बहसलाई कमेडी बनाउने नाममा अविश्वसनीय बनाइएको छ ।

स–साना समस्याहरू बाहेक फिल्म जुन नियतका साथ बनाइएको हो, त्यसमा दीपक–दीपा सफल छन् । किनभने व्यावसायिक फिल्मको मूल उद्देश्य नै व्यवसाय हो । जसरी हुन्छ, धेरैभन्दा धेरै दर्शकलाई मनोरनञ्जन दिने गरी कथा भन्नु व्यावसायिक फिल्मको मूल मर्म हो । यसमा ‘छक्का पन्जा– ५’ सफल भएको छ ।

फिल्मको सिनेम्याटोग्राफी औसत छ । सम्पादन र पाश्र्व संगीत ‘वाउ’ भन्ने लेभलको छैन । तर, खराब पनि छैन । फिल्मको सबैभन्दा सुन्दर पक्ष भनेको बावु–छोराको भावनात्मक सम्बन्धकाे चित्रण हो । सानैमा आमा गुमाएको राजालाई भरिया भएर बुवाले हुर्काएको, पढाएको हुन्छ । बुवाको संघर्षसँग भावनात्मक रुपमा जोडिएका छोरा र बाबुबीचको सम्बन्ध फिल्मको भावनात्मक मेरुदण्ड हो । बुवाको भूमिकामा प्रकाश घिमिरेले प्रशंसायोग्य काम गरेका छन् ।

बाबु–छोराको सम्बन्धमा राजाकी श्रीमतीको हस्ताक्षेपपछि फिल्मले पनि गति लिन्छ । सँगै मूल विषयवस्तुमा पनि फिल्मले गति लिइरहेको हुन्छ । फिल्मले दिने सन्देश हाे- एउटा व्यक्तिको कोसिसले मात्रै यो सिस्टम सुधारिँदैन । यो सिस्टम सुधार्नु छ भने सबैजनाले उत्तिकै ऊर्जा खर्च गर्नुपर्छ ।
पछिल्लो समय अधिकांश व्यावसायिक फिल्मले एउटा व्यक्तिलाई सिंगो सिस्टम बदल्न सक्ने अलौकित तागत भएको नायक बनाइरहेको देखिन्छ । उसले एक्लै सिस्टम सुधार्छ । जुन कुरा वास्तविकतामा सम्भव नै छैन । मान्छेहरुको भिड पनि नायक नै खोजेर हिँडिरहेको हुन्छ, जसले छुमन्तर गरेर कायापलट ल्याओस् । जोसँग यस्तो जादुको छडी होस्, जसले एकै निमेषमा अभाव र दुःखलाई दूर गरिदेओस् ! ‘छक्का पन्जा –५’ले यो बाटो पक्रिएको छैन ।

ट्रेलर, गीतले जस्तो प्रतिक्रिया पाए पनि फिल्म भने दशैंका बिदा मनाउन लायकको छ । फिल्ममा नभएको कुरा ट्रेलर र टिजरमा राखेर दर्शक झुक्याउन खोज्ने फिल्महरुको भिडमा ‘छक्का पन्जा’ अलग्गै छ ।
०००


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *