पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन – Nepal Press

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको अविरल बर्षाको बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध बिपी राजमार्ग दुई हप्तापछि सञ्चालनमा आएको छ । केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडीतथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा ल्याइएको खुलेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
बाढीपहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको उक्त राजमार्ग सडक विभाग, डिभिजन कार्यालय, राजमार्गअन्तर्गतका स्थानीय तहहरु, नेपाली सेनालगायत सुरक्षाकर्मी तथा स्थानीयको निरन्तरको पहलमा आजदेखि  सञ्चालन गर्न सफल भएको हो । कार्यालयले आज बिहानबाट उक्त राजमार्गमा यातायातका साधन सञ्चालनमा ल्याइएको हो । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले पछिल्लोपटक राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारस्थित बोक्सीकुनामा डाइभर्सन बनाएसँगै उक्त स्थानमा हाल एकतर्फी यातायात सञ्चालनमा ल्याइएको बताए ।  बाढीपहिरोले राजमार्गको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी–७ को सीमास्थल चौकीडाँडामा बगाएको करिब दुई सय मिटर सडक पनि अस्थायी रुपमा एकतर्फी खुलाइएको छ । बाढीपहिरोले चौकीडाँडादेखि सिन्धुलीको सिमाथ्ल नेपालथोकसम्म क्षति पु¥याएपछि उक्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।
राजमार्ग खुलाउन चौकीडाँडा र नेपालथोक दुवैतिरबाट निर्माण सुरु गरिएको कार्यालयले जनाएको छ । धेरैजसो स्थानमा खोला फर्काएर तथा खोलाको बहावलाई सोझ्याएर बगरमा सडक बनाइएको छ भने केही ठाउँमा पुरानै अस्थायी सडक बनाइएको छ ।  रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब आठ किलोमिटर क्षतिग्रस्त बनाएको थियो । यसमध्ये राजमार्गअन्तर्गतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय, कटुञ्जे घुमाउनेमा पाँच सय, लास्कोट बेँसीमा दुई सय, चार सय बेँसीमा पाँच सय, गिम्दीबेँसीमा तीन सय, खार्पाचोकबेँसीमा तीन सय र नार्केमा आठ सय मिटर सडक क्षतिग्रस्त भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *