कङ्कालिनी भगवती मन्दिरमा ६२१ वटा राँगाको बलि चढाइयो – Nepal Press

कङ्कालिनी भगवती मन्दिरमा ६२१ वटा राँगाको बलि चढाइयो

राजविराज ।  सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडा दसैँको महानवमीका दिन छ सय २१ वटा राँगाको बलि चढाइएको छ ।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित मन्दिरमा उक्त सङ्ख्यामा बलि चढाइएको मन्दिर विकास समितिका सचिव प्रमु मण्डलले जानकारी दिए ।
मन्दिर विकास समितिको निर्णयअनुसार गोलाप्रथाद्वारा कङ्कालिनी नगरपालिका–१ भलुवा निवासी प्रमोद यादवको राँगाको बलि सुरुमा चढाइएको उनले जनाए । त्यसपछि क्रमः आज दिउँसो १२ बजेदेखि सुरु भएको राँगाको बलि दिने कार्यक्रम साँझ ८ बजेसम्म चलेको थियो । गत वर्ष छ सय तीन वटा राँगाको बलि चढाइएको थियो ।
मन्दिरमा घटस्थापनादेखि महानमवीसम्म करिब ३५ हजारको हाराहरीमा खसीबोकाको बलि दिएको मन्दिर विकास समितिले जनाइएको छ । मनकामना एवं भाकल पूरा भएपछि नेपालको विभिन्न जिल्ला र छिमेकी राष्ट्र भारतको विहार राज्यअन्तर्गतका विभिन्न जिल्लाबाट पनि राँगाको बलि दिन भक्तजन मन्दिरमा आउने गरेका छन् ।
सप्तरी जिल्लासहित सिरहा, धनुषा, उदायपुर, सुनसरी मोरङ, झापा र छिमेकी राष्ट्रिय भारतको विहार राज्यको सुपोल, मधुवनी अररिया बिहारलगायतका ठाउँबाट लाखौँको सङ्ख्यामा यहाँ दर्शनार्थी यस मन्दिरमा यस वर्ष पनि विगतकै जस्तो भीड लागेको थियो ।
त्यस्तै सप्तरीकै प्रसिद्ध छिन्नमस्ता गाउँपालिका वडा नं। ३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा पनि घटस्थापनादेखि महानमवीसम्ममा करिब ३५ हजारको हाराहारीमा पशुबलि चढाइएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *