के दाँतमा साँच्चै आँखाले देखिने कीरा हुन्छ ? – Nepal Press

के दाँतमा साँच्चै आँखाले देखिने कीरा हुन्छ ?

चाडबाडमा यसरी गर्नुहोस् दाँतको ख्याल

दाँतमा ‘कीरा लाग्नु’ यो एक आम बोलचालको शब्द हो, जसले दाँतमा प्वाल पर्नु , प्वाल परेको भागमा कालो हुनु वा ‘क्याभिटी’ भन्ने जनाउँछ ।

जब हामीले धेरै चिनी भएको खाना वा पेय पदार्थ लिन्छौं, हाम्रो मुखमा भएका ब्याक्टेरियाहरुले त्यस चिनीलाई एसिडमा परिवर्तन गर्छन् । यो एसिडले दाँतको इनामेल यानी दाँतको बाहिरी तह लाई कमजोर पार्दै क्षति पुर्‍याउँछ, जसले गर्दा ‘क्याभिटी’ वा प्वालहरू बन्दछन् ।

तसर्थ, ‘दाँतमा कीरा लाग्यो’  भनेको दाँतको भाग ब्याक्टेरियाहरूको एसिडले सडेको र दाँतमा समस्या भएको भनेर बुझ्नु पर्दछ ।

मन्त्र फुकेर दाँतको कीरा झार्ने कीराहरू झर्‍यो भनेको सुनिन्छ नी ! त्यो कसरी सम्भव छ ? कीरा झारेपछि दुख्न छोड्नु सन्चो हुनु पछाडि के कारण हो ?

यो एक प्रकारको परमपरागत मान्यताहरू सँग सम्बन्धित छ । जसरी जादूगरले कुनै कुरा छल स्वरूप देखाउन सक्छन् त्यसरी नै यो विधामा निपूर्ण भएका व्यक्तिहरूले गोवरमा हुने कीरा , जंगलमा पाइने काठ वा जराभित्र हुने कीरालाई दाँतबाटै निकालिएको भनेर कलात्मकरूपले निकालेर देखाउँछन् ।

दुख्न छोड्नुपछि चाहिँ वैज्ञानिक कारणहरू छन् ।

हामीले प्लेसिबो एफेक्ट सुनेका छौं, त्यो विश्वासले मानसिकरूपमा दुखाईको अनुभव कम गर्न सकिन्छ । यस्तो अवस्थामा मानिसले आफ्नो शरीरले निको भइरहेको आभास गर्छ, जसले गर्दा दुखाई घट्न सक्छ ।

अर्को कारण चाहिँ स्वाभाविक निको हुन थाल्नु ।

कहिलेकाहीँ समय बित्दै जाँदा, शरीरले आफैँ सामान्य रूपमा साना दुखाईहरू कम गर्न विभिन्न रसायन बनाउँछ र दुखाई कम गर्छ । यो शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि हो ।

कहिले काहीँ हामी केही दुखाई कम हुने दबाई खाएर डेन्टिस्टकोमा नगएर कीरा झार्नतिर जान्छौं । मन्त्र फुकेको समय र यस प्रक्रियालाई सँगै मिल्दा, मानिसले यसलाई मन्त्रको प्रभाव ठान्न सक्छन् वा कीरा झरेरै दुख्न कम भएको भनेर विश्वास गर्न सक्छन् ।

कीरा लागेपछि के गर्ने ? यसको उपचार विधि के हो ?

दीर्घकालीन रूपमा दाँतको कीरा लाग्ने जस्ता समस्याहरूको समाधान आधुनिक चिकित्सा उपचार नै हो, जस्तै डेन्टिस्टकहाँ गएर सही उपचार गराउनु ।

उपचार के गर्ने भन्ने चाहिँ तपाईँको दाँतमा भएको प्वाल कति गहिरियो, तपाईँको दाँतमा भएको नशामा पुग्यो कि पुगेन भन्ने मा भर पर्छ । कन्डिसन अनुसार तपाईँको दाँत फिलिङ (भर्ने ) वा नशाबाटै दाँतको उपचार गर्ने निधो चाहिँ डेन्टिस्टले तपाईँको दाँतको जाँच गरेपछि भन्छन् ।

चाड पर्वको बेला दाँतलाई कसरी ख्याल राख्ने ?

दाँतको स्वास्थ्यलाई चाडपर्वको मिठासले खराब गर्न नदिन यी कुराहरूलाई ध्यान दिनुभयो भने तपाईं दाँतको समस्या र दुखाईबाट बच्न सक्नुहुन्छ ।

॰ चिनी भएका खानेकुराले दाँतमा ब्याक्टेरिया बढाउँछ, जसले दाँतको इनामेललाई क्षति पुर्‍याउँछ । प्रयास गर्नुहोस् कि मिठाई या मीठो खानेकुरा खाएपछि तुरुन्तै मुख सफा गर्न सकियोस् ।

॰ चाडपर्वमा व्यस्त भएपनि, बिहान र रातमा दाँत मञ्जन गर्ने आदतलाई नछोड्नुहोस् । मिठाई खाएपछि पनि मञ्जन गर्न सके राम्रो हुन्छ।

॰ फ्लोराइडयुक्त मञ्जन प्रयोग गर्नुहोस्, जसले दाँतलाई एसिडबाट बचाउँछ र इनामेल बलियो बनाउँछ ।

॰ सुगर-फ्री चुइङ्गम चपाउनुहोस् यसले दाँतमा अड्किएर रहेका खानाका टुक्रा निकाल्ने काम गर्छ र मुखलाई प्राकृतिकरूपमा सफा राख्छ।

चाडपर्वअघि वा पछि नियमित डेन्टल चेकअप गर्न बिर्सनु हुँदैन। यसले कुनै दाँतको समस्या पहिले नै थाहा पाउन र समयमै उपचार गर्न मद्दत गर्छ ।

(डा. पौडेल मुख तथा दन्तरोग विशेषज्ञ हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *