अनि पो दशैं आउँथ्यो… – Nepal Press

अनि पो दशैं आउँथ्यो…

काठमाडौं । केटाकेटी हुँदा डाँडामा लिङ्गे पिङ थाप्न बाबियो बाट्न थालेदेखि नै हामी खुसीले औँधी रमाइसकेका हुन्थ्यौँ । चचहुइइ… गर्दै पिङ मच्चाउने प्रतीक्षामा हुन्थ्यौँ । जब पिङ मच्चाउथ्यौँ, जीउ सिरिङसिरिङ भएपछि बल्ल लाग्थ्यो, अबचाहिँ दशैं आयो ।

नयाँ लुगा लगाएर पिङ मच्चाउनुको मज्जै बेग्लै हुने । दशैंका बेला न हो वर्षदिनमा नयाँ लुगा हाल्न पाइने । ‘स्कुल ड्रेस’ नै भए पनि नयाँ नाना लगाउन पाउँदाको खुसी सम्झिँदा पनि मनै फुरुङ्ग हुन्छ । दशैं आउन लाग्दैगर्दा बुबा कपडा लिन पसल जाँदा पछिपछि गइन्थ्यो । कपडाको ठूलो रुमालमा पोको पारेर कपडा घर भित्र्याएपछि दशैं भित्रिएझैँ लाग्थ्यो । झन् लुगा सिलाउने दाइँ मेसिन बोकेर घरमै आएर सिलाउन थालेपछि स्कुलसमेत जान मन नलाग्ने । नयाँ नानाको गन्धले दशैं निम्त्याउँथ्यो । स–सना कुरामा ठूल्ठूलो खुसी मिल्थ्यो उस बेला ।

स्कुल लिपपोत गरेर चिटिक्क बनाएपछि दशैंको बिदा हुन्थ्यो । सरहरूसँग लाइन लागेर कमेरो माटो लिन औलतर्फ गइन्थ्यो । डल्ला बनाएर हातैमा बोकेर कमेरो र रातो माटो ल्याइन्थ्यो । समूहमा मिलेर काम गर्दाको आनन्द अर्कै । कुचोले कमेरो र रातो माटो स्कुल पोत्न सुरु गरेपछि लाथ्थ्यो यी त खुसीका रङ्ग पो रहेछन् । घरघरबाट ल्याएका ब्याट्री फुटाएर स्कुलका झ्याल ढोकामा कालो लगाएर चिटिक्क भएपछि लाग्थ्यो अब दशैं आयो । घर लिपपोत गर्दा त झन् खुसी फक्रने । कमेरो र रातो माटोको सुगन्ध केवल सुगन्ध मात्र थिएन, त्यो चाडपर्व आगमनको सङ्केत पनि थियो ।

यसअघि नै गाउँका प्रत्येक घरबाट सहभागी भएर मूलबाटो फाँडफुँड र सरसफाइ गरेर दशैंलाई स्वागत गथ्र्यौं । घरमा बाँधेको खसीले ‘म्या’ गर्दा बुबाले दशैं करायो हैभन्दै जिस्केको पल सम्झिदा पनि मनमा आनन्द आउँछ । रातिदेखि नै ढिकी ‘भक्य्राङ ढयाँङ’ गरेर चिउराको सुगन्ध, बुबाले एकघरी केरा किनेर ल्याई तलाको डोरीमा झुन्ड्याएपछिको उमङ्ग बेग्लै । टाढाटाढा काममा वा परदेश गएका लाहुरे दाइहरु क्यासेट घन्काउँदै घर फर्कन थालेपछि छाउँथ्यो दशैंको रौनक । हाटबजारमा भीड बढ्थ्यो, वर्षौंपछि भेटघाट भएकाहरूको भलाकुसारीपछि पो खुसी फक्रिन्थ्यो ।

नौ दिनसम्म दशैं घरमा हुने पूजापाठले ल्याउने खुसी र शान्तिको त कुरै नगरौँ । रेडियोमा घन्कने मालश्री धूनले मन प्रफुल्लित बनाउने । विजयादशमी टीकाको दिन घरमा बुबाआमाको हातबाट टीका र आशीर्वाद लिएर मान्यजनसँग टीका थाप्ने । आमैघरमा टीका लगाइसकेपछि आँगनभरि जम्मा भएर स्टिल क्यामराले एक दुई स्न्यापफोटो खिचेपछि मामाघर जाने हतारो । दक्षिणामा प्राप्त हुने नयाँ नोट गन्नुको आनन्द अर्कै । बाल्यकालका ती स्मृतिहरूले उस बेलाको दशैंलाई ताजा बनाउँछ ।

अहिलको दशैं त के दशैं । बढ्दो उमेर या आधुनिकताको प्रभाव भनौँ दशैं त उहिलेकै राम्रो । अहिलेको त के दशैं । बसाइँसराइले त्यो बेला उल्लासमय हुने घरहरू अहिले खालीखाली छन् । युवा जति वैदेशिक रोजगारमा गएका कारण गाउँमा पिङ हाल्ने मान्छे पनि भेटिँदैनन् । अहिले त गाउँमा रहेका वृद्ध बुबाआमालाई पनि सहरमै बोलाएर दशैं मनाउन थालिएको छ । पहिला दशैं मनाउन सहर गाउँमा जान्थ्यो, अहिले गाउँ सहर आउन थालेझैँ लाग्छ । कतिपयले त यही बेला बुबाआमालाई विदेशमै बोलाउन थालेका छन् ।

दशैंको मुखैमा आएको बाढीपहिरोले धेरैको दशैं निराश बनाएको छ । गाउँ फर्कन नपाएर सहरमै दशैं मनाउनेहरूको सङ्ख्या निकै देखिन्छ । सामाजिक र सामूहिकताको भावना विस्तारै स्खलित हुँदै गएको आभाष हुन्छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मै बरु मोबाइलमा व्यस्त देखिन्छन् । पहिले घरका भित्ताहरू रङ्गिएछि दशैं आएजस्तो हुने, अहिले त सामाजिक सञ्जालका भित्ताहरू दशैंको शुभकामनाले रङ्गिएपछि दशैं आएजस्तो हुने । समय कति बदलियो है !

अहिलेका बालबालिकाले त नजिका आफन्तसमेत चिन्न छाडिसके । चाडबाडले भेला हुने, घुलमिल हुने, आत्मीयता आदानप्रदान गर्ने अवसर प्रदान गर्छ तर त्यो क्रम विस्तार कम हुँदै गएको महसुस हुन्छ । यस्तो अवस्थामा हामीले चाडबाडको मर्म र आनन्दलाई नयाँ पुस्तामा जस्ताको तस्तै प्रवाह गर्न सक्नुपर्छ ताकि उनीहरूले यसको अर्थ र महत्वलाई बुझ्न तथा अनुसरण गर्न सकून् ! दशैंलाई देखासिखी गरेर दशा नबनाऔँ । घाँटी हेरी हाड निलौँ । दशैंका बेला धेरै चिल्लो पिरो र मदिरा सेवन गरेर स्वास्थ्यलाई प्रतिकूल असर पार्ने काम नगरौँ । हाम्रा रितिथिति, चाडपर्वका मौलिकता संरक्षणमा सबै गम्भीर बनौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *