यसपाला नुनिलो आँसुमै घोलियो ‘बाधुरे’ को दशैँ
सधैँ झैं कार्यालय गइरहेको थिएँ, बाटोमा बाधुरे भेटिनुभयो । दश औंला जोडेर नमस्कार गर्दै बाधुरेले मेरो बाटो छेक्नुभयो । हार्दिकताका साथ नमस्कार ग्रहण गर्दै मैले बाधुरेलाई हालखबर सोधेँ । लौ ! उहाँ त झुत्रो र मैलो कोटको खल्तीबाट कागजको टुक्रा मलाई देखाउँदै रुन पो थाल्नुभयो । असहज स्थिति आएपछि यहाँ आउनुहोस् भन्दै नजिकै रहेको कमल जैसीजीको मोबाइल पसलमा बसेर त्यो कागजको टुक्रा लिएर पढेँ ।
आम्मामा ! बाधुरेले त बिहानै कैलालीमा हुन लागेको धार्मिक महोत्सवका लागि १५० रूपैयाँ सहयोग गरेका रहेछन् । उनका हातमा १५० तिरेको रसिद थियो । नगदी रसिद मेरो हातमा दिएर बाधुरेले दुई हात जोडेर केही भन्न खोज्दै हुनुहुन्थ्यो । आँखाबाट बाटो छेक्दै आँसुका थोपा खसाल्दै बाधुरेले फेरि दश औंला जोडेर केही भन्ने प्रयास गर्नुभयो ।
उहाँको आवाज बुझ्न नसकिने छ । अर्थात् उहाँले बोल्दा शब्द नछुट्टिएर हाहाहाह…… जस्तो आवाजमात्रै सुनिन्छ । बाधुरेको कुरा बुझ्ने एउटामात्रै माध्यम हातको इसारा हो । मैले पनि हातको इसाराबाट मात्रै उहाँका आँसुका मूल्य बुझेँ । सामाजिक सुरक्षा भत्ता पाउन नसकेको पीडा बाधुरेको आँसुको ढिका बनेर खसेको रहेछ ।
बाधुरेलाई मैले चिन्न थालेको २०४६ सालदेखि हो । त्यो बेला म केटाकेटी नै थिएँ । विनायक बजारमा मैलो र झुत्रो लुगामा सधैँ भेटिने तिनै बाधुरेको नामबाट गाउँघरमा एउटा मानक बनेको थियो । कसैलाई अपमान गर्दा वा होच्याएर बोल्दा बाधुरेको नामलाई हतियार बनाउने गरिन्थ्यो । जस्तो-‘तेरो त बाधुरे जतिको पनि हैसियत छैन, तँ र बाधुरेमा केही फरक छ ?’ यस्तै संवाद त्यति बेलाका केटाकेटीदेखि वृद्धावृद्धसम्मको मुखबाट सुनिन्थ्यो । त्यतिमात्रै होइन, कसैले आफूलाई हेपिएको अनुभूति गर्यो भने उही बाधुरेकै नामको सहारा लिन्थे । जस्तो- ‘मलाई त बाधुरे जत्तिको पनि मानेको छैनस्, पख तँलाई !’ आदि ।
बजारको हल्लालाई आधार मान्ने हो भने मन्त्रालयले मेयरको रोजाइको प्रमुख प्रशासकीय अधिकृत नखटाइदिएकाले मन्त्रालय र प्रमुख प्रशासकीय अधिकृतको रिस जनतामाथि पोखिएको हो । मेयर र प्रमुख प्रशासकीय अधिकृतको वैयक्तिक मामिलाले नगरपालिकाको सार्वजनिक सेवा अवरुद्ध गरिएको हो रे ! जनताको नुन खाएर आफ्ना वैयक्तिक कुण्ठा र रिस जनतामाथि पोख्ने अधिकार कसले दियो ?
बाधुरे विनायक बजारको ब्राण्ड हुन् । लगभग आधा अछामीले बाधुरेलाई चिन्छन् होला । उहाँलाई सानैदेखि चिन्ने जतिले बाधुरेको उमेर ७५ देखि ८० वर्षसम्म मान्छन् । होटेल र पसलमा गएर जुठा भाँडा माझ्ने, त्यसबापत कसैले दिएका खानेकुरा खाने, कसैले दिएका लुगा लगाउने बाधुरेको जीवनी हो । मैले थाहा पाएअनुसार बाधुरे अविवाहित हुनुहुन्छ । जसले एक गाँस खान र पिँढीमा बास दिन्छ त्यहीँ बस्नुहुन्छ, बाधुरे ।
उहाँको आम्दानीको स्रोत भनेकै त्यही सामाजिक सुरक्षा भत्ता र कसैले दिने स्वेच्छिक दान दक्षिणा हो । बाधुरे आफैँले मागेर हिँड्नुभएको मैले आजसम्म देखेको छैन् । तर, कसैले दुई-चार पैसा दियो भने खुसी भएर पैसा लिने गर्नुहुन्छ । मैले पनि धेरै पटक दुई-चार पैसा दिएको छु । आज भने उनले उल्टै अरुलाई दान दिएको नगदी रसिद देखाएपछि म स्तब्ध भएँ । मसँगको छोटो बसिबियाँलोमा गहभरि आँसु झार्दै हातको इसाराले सामाजिक सुरक्षा भत्ता लिन दशचोटी बैंक गइसकेको र रित्तो हात फर्किएको गुनासो पोख्नुभयो र भत्ता कहिले पाइन्छ ? भनेर प्रश्न गर्नुभयो ।
बाधुरेको प्रश्नले म निशब्द बनेँ । उत्तर दिनलाई मलाई शब्दको अभाव भयो । र, आफ्नो मनलाई एकपटक पढ्न मैले आफैँलाई आदेश दिएँ । म शब्दसँग लुकामारी खेल्छु । शब्द खेलाउँदै मैले कैयौं पटक गीत लेखेको छु भने कैयौं पटक कविता । निबन्ध लेख्न मैले शब्द नै खेलाउने गर्छु । शब्दकै माला बुनेर मैले प्रकाशन हुन मात्रै बाँकी रहेको पाण्डुलिपी हैसियतको उपन्यास लेखेको छु । मैले कविता पनि लेखेको छु । शब्द तौलेर नै मैले कथा लेखेको छु ।
मैले थुप्रै शब्दमा सङ्गीत पनि भरेको छु । शब्दको जादु देखाउन सक्ने मान्छे मलाई महान् लाग्छन् । शब्द ब्रह्म त्यसै भनिएको होइन । त्यही शब्द कसैको प्रेरणाको स्रोत र जीवनमार्ग बन्छ भने त्यही शब्द कसैलाई उच्च रक्तचापको कारकमात्रै होइन, मृत्यु बनेर बज्रिदिन्छ । शब्द जादुगरको पङ्तिमा यो पङ्तिकारको पनि कतै न कतै उपस्थिति छ जस्तो लाग्छ । तर, आज बाधुरेको आँखाबाट छचल्किएका आँसु अगाडि म शब्दाभावको भूमरीमा निकै रनभुल्ल परेँ । जे हुन्छ सबै ठीक हुन्छ भन्ने गीतासारको सहयोग लिँदै मैले बाधुरेलाई हात हल्लाएँ र कार्यालयतिर हिँडे ।
संविधानले बाधुरेजस्ता बबुरा जनतालाई न्याय गर्यो कि गरेन ? नीति निर्माताले गरिबमुखी नागरिक प्रशासन (निजामती ऐन) बनाएका रहेछन् कि शासकमुखी बनाएछन् ? संघीय सरकारले बाधुरेलाई सम्झियो कि सम्झिएन ? मन्त्रीलाई बाधुरेका आँसुको मूल्य थाहा भयो कि भएन ? बाधुरेका आँखाबाट निस्किएका आँसुलाई कतै हर्षका आँसु सम्झेर नगरपालिकाका मेयर साहेव भ्रमित हुनु त भएन ?
हिँड्दा हिँड्दै बाधुरेको हातमा भएको नगदी रसिदले मलाई स्तब्ध बनाइरहेको थियो । कैलालीको लम्की चुहा नगरपालिकाको कालिका धार्मिक महोत्सवका लागि बाधुरेले १५० रुपैयाँ दान दिनुभएको विषय अतुलनीय थियो । आज रसिदबाट मात्रै मलाई थाह भयो कि बाधुरेको न्वारानको नाम बचनसिंह कामी रहेछ । बाधुरे त उहाँको ब्राण्ड रहेछ । एकातिर सामाजिक सुरक्षा भत्ता नपाएको पीडा, अर्कोतिर सर्वहारा बाधुरेको समाजसेवा गजबको संयोजन लाग्यो, मलाई । बाधुरे सामाजिक सुरक्षा भत्ता लिन दिनको दुईपटक बैंक पुग्ने गरेको सुनेको थिएँ । आज मेरै अगाडि बाधुरेलाई मैले दानविर तर असहायको रूपमा साक्षात्कार गरेको थिएँ ।
कार्यालय जाँदै गर्दा मेरा खुट्टा भारी भए । टाउकोमा रिङ्गटाले फन्को मार्यो । करिब ५ मिनेटको बाटो मलाई आज ५ घण्टा जतिको लाग्यो । हिँड्दै जाँदा मैले कतै समुन्द्रका छालले लखेटेको महसुस गरेँ भने कतै काँडेघारीको बाटोमा अरेली काँडाले चसक्क घोचेको अनुभव भयो । कार्यालय पुग्दा आधा घण्टा ढिलो भइसकेको थियो । कार्यालयमा खासै काम थिएन । काम त थियो तर गर्न दिइएको थिएन ।
दशैँको बिदा आउन केबल एक दिन मात्र बाँकी थियो । असहाय, एकल महिला, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाका लागि सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ताबाट लाभग्राही वञ्चित पारिएका थिए भने पसिना बगाएर पकाएको आफ्नो ज्याला पाउन आकाशको फल आँखा तरी मर भन्ने जनउक्ति सम्झिनँ विचरा शिक्षक/कर्मचारी विवश थिए । मैले जेनतेन कार्यालयमा २ घण्टा बिताएँ, तर मेरो मानसपटलमा चलेको भावनाको हुरी बतास शान्त हुने कुनै लक्षण थिएन । मानसपटलमा बाधुरे, समाजसेवा र सामाजिक सुरक्षा भत्ता घुमिरह्यो, घुमिरह्यो……।
बाधुरेको आँखामा आँसु बगाउने अधिकार हामीलाई कसले दियो ? यस्तो कुकर्मको दोषी को हो ? यस्तै प्रश्नको उत्तरका लागि म निकैबेर घोत्लिएँ । उत्तर सहज थियो, तर आफैँलाई दोषी करार गर्न विवश थिएँ, म । किनकी म स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृत थिएँ । करिब तीन महिनाअघि मलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त जिम्मेवारी दिएको थियो । स्थानीय सरकारको आर्थिक र प्रशासनिक कार्यसम्पादन गर्नु मेरो कर्तव्य र दायित्व थियो । थुप्रै बाधुरेको सामाजिक सुरक्षा भत्ता भुक्तानी दिनु मेरो जिम्मेवारी थियो । सरकारी सेवामा पसिना बगाएर काम गर्दै आइरहेका शिक्षक कर्मचारीको ज्याला दिन खटाइएको सरकारको प्रतिनिधि भएर पनि म केही गर्न सकिरहेको थिइनँ ।
बाधुरेको नुनिला आँसुको सन्देश
बाधुरेको हातमा मैले देखेको समाजसेवाको रसिद र आँखाबाट चुहिएका पीडारूपी आँसुका ढिकाले मलाई परिवर्तनका लागि भएका राजनीतिक आन्दोलन, राष्ट्रको संविधान, इतिहासकालदेखि विकेन्द्रीकरण क्षेत्रमा भएका अभ्यास, ऐन, नियमावली र जनताले तिरेको करबाट नुन खाएर सार्वजनिक पदधारण गर्ने हाम्रो जवाफदेहिता र कर्तव्यनिष्ठतामाथि उब्जिएका थुप्रै प्रश्नमा म घोत्लिन पुगेँ । माथि उल्लेख गरिएका संवैधानिक तथा कानूनी विषय यही सवालका सिलसिला हुन् । सार्वजनिक सेवाको केन्द्रमा जनता हुनुपर्दछ । बिरालोले म्याउँ गरोस् वा नगरोस् तर मुसा मार्नैपर्छ भने झैँ केन्द्रिकृत वा विकेन्द्रित प्रशासन जे सुकै होस् केन्द्रबिन्दुमा जनता हुनै पर्दछ । मेरो मानसपटलमा खेलिरहेका प्रश्नको नालीबेली बाधुरेको नयनबाट खसेका आँसुका ढिकाबाट नै खोज्ने प्रयास गरेको छु ।
यसपटक बाधुरेको दशैँ नुनिलो आँसुमै घोलियो । नगरपालिकामा कैयौँ बाधुरे होलान्, तर विनायकका बाधुरे एक प्रतिनिधि पात्र मात्र हुन् । असहाय भनेर सरकारले दिएको सामाजिक सुरक्षा भत्ता आउला र दशैँ मनाउला भनेर पर्खिएर बसेका बाधुरेजस्ता कैयौं जेष्ठ नागरिक, एकल महिलाले के सोचे होलान् ? संघीय सरकारले पठाएको ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिको भत्ता र मजदुरको पारिश्रमिक स्थानीय सरकारले खोसिदिएको कतिले थाह पाए होलान् ।
विनायक बजारदेखि करिब ५ घण्टा पैदल दुरी बारलामा बस्ने ९० वर्षीय जक्ति शाहीले भने यसरी दुःखेसो पोख्नुभयो- ‘हामीले भोट हालिकन जिताएका मान्ठले हाम्रै खुसी लुट्न्ना भन्ने सोचेका छिएनौ ।’ विनायक बजारदेखि तीन घण्टाको दुरी आली बस्ने ९३ वर्षीया कुन्ती माझीले गहँभरि आँसु चुहाउँदै पोख्नुभएको निराशा यस्तो छ- ‘यो पाला औठिमीमा पनि सत्ता पाएनौं । अर्को औठिमीमा मरिन्छ कि बाँचिन्छ खै पत्तै छैन ।’
जक्ति शाही र कुन्ती माझी मात्रै होइन, शिक्षक, कर्मचारीको पीडा दु:खेसो उस्तै छ । किसान मजदूरलाई पनि यस पटकको दशैँ नियति बनेर बज्रिँदैछ । पसिना बगाएर आर्ज्याको श्रमको ज्यालाले दैनिकी चलाउने मेहनतको श्रमिकले दशैँ जस्तो चाडमा पकाएको ज्याला नपाउनु जस्तो अन्याय के होला र ?
आम्मामा ! बाधुरेले त बिहानै कैलालीमा हुन लागेको धार्मिक महोत्सवका लागि १५० रूपैयाँ सहयोग गरेका रहेछन् । उनका हातमा १५० तिरेको रसिद थियो । नगदी रसिद मेरो हातमा दिएर बाधुरेले दुई हात जोडेर केही भन्न खोज्दै हुनुहुन्थ्यो । आँखाबाट बाटो छेक्दै आँसुका थोपा खसाल्दै बाधुरेले फेरि दश औंला जोडेर केही भन्ने प्रयास गर्नुभयो । उहाँको आवाज बुझ्न नसकिने छ ।
संविधानले बाधुरेजस्ता बबुरा जनतालाई न्याय गर्यो कि गरेन ? नीति निर्माताले गरिबमुखी नागरिक प्रशासन (निजामती ऐन) बनाएका रहेछन् कि शासकमुखी बनाएछन् ? संघीय सरकारले बाधुरेलाई सम्झियो कि सम्झिएन ? मन्त्रीलाई बाधुरेका आँसुको मूल्य थाहा भयो कि भएन ? बाधुरेका आँखाबाट निस्किएका आँसुलाई कतै हर्षका आँसु सम्झेर नगरपालिकाका मेयर साहेव भ्रमित हुनु त भएन ? जिल्लाका सीडिओ र विभागीय हाकिमले बाधुरेलाई चिन्नु भयो कि भएन ? प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कर्तव्य निर्वाह गर्नु भयो कि भएन ?
बाधुरेका आँखाबाट झरिरहेका आँसुले यिनै प्रश्नको जवाफ खोजिरहेको छ र, यसको लेखाजोखा हुनैपर्छ । जनताको कर खाएर जनताको खुसी र दुःखसँग खेलबाड गर्ने अधिकार कसैलाई हुनुहुँदैन । यसपटक बाधुरेको दशैँ नुनिलो आँसुमा घोलिएर बित्यो । शिक्षक, कर्मचारी, किसान र मजदुरको घर पनि यसअघिका दशैँजस्तै चम्किलो छैनन् । आखिर किन यस्तो अवस्था आयो ? बाधुरेका आँसुले यो प्रश्नको पनि जवाफ अवश्य खोजिरहेको छ ।
बजारको हल्लालाई आधार मान्ने हो भने मन्त्रालयले मेयरको रोजाइको प्रमुख प्रशासकीय अधिकृत नखटाइदिएकाले मन्त्रालय र प्रमुख प्रशासकीय अधिकृतको रिस जनतामाथि पोखिएको हो । मेयर र प्रमुख प्रशासकीय अधिकृतको वैयक्तिक मामिलाले नगरपालिकाको सार्वजनिक सेवा अवरुद्ध गरिएको हो रे ! जनताको नुन खाएर आफ्ना वैयक्तिक कुण्ठा र रिस जनतामाथि पोख्ने अधिकार कसले दियो ? के सार्वजनिक ओहदामा बसेर कुनै व्यक्ति विशेषसँग जुँगाको लडाइँ गरेर स्थानीय सरकारका पूरै सेवा अवरुद्ध गर्न पाइन्छ ?
मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि बाधुरेको आक्रोशपूर्ण प्रश्नमात्रै होइन दोषीमाथि कडा कारबाही गर्न सरोकारवाला निकायमा हजारौं बाधुरेको अपिल छ । अन्तमा, अरूले दिएको दान दक्षिणाबाट प्राण धान्ने बाधुरेको सामाजिक सुरक्षा भत्ता खोस्नेले आँसुका नुनिला ढिका पिएर भए पनि बाधुरेले गर्नुभएको १५० रुपैयाँको समाज सेवाबाट कुनै सन्देश लिनुहुन्छ कि ? अस्तु !
(पवन मधुश्री उर्फ पदम माझी अछामको पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हुन् ।)