टीका लगाउन आउनेलाई दही-मोही र दूधले स्वागत – Nepal Press

टीका लगाउन आउनेलाई दही-मोही र दूधले स्वागत

चितवन । निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो ।

कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे ।

उनले भने ‘पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरु अहिले दूध, दही र मोहीमा आकर्षित भएका पाइयो ।’

उनको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए ।

गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाको हातबाट टीका थाप्न आउने आधाभन्दा बढीलाई दही र मोहीले स्वागत गरे ।

उनले भने, ‘बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत गर्‍यौँ । बजारबाट लगेको पेय खासै खपत भएन, धेरैले दही, मोही नै रुचाए ।’

विवाह भएको पहिलो वर्ष घर, मामाघर र ससुराल टीका थाप्न गएका विद्यार्थी नेता सचेत सुवेदी पनि आफू दही र मोहीको सत्कारमा परेको बताउँछन् । कृषिमा स्नातकोत्तर गरेका सुवेदीले भने, ‘धेरै मानिस स्वास्थ्यप्रतिको सचेत पाइयो । दूध, दही र मोही उनीहरूको प्राथमिकतामा रहेको पाइयो ।’

सरकारले आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतना जगाउनु पर्ने उनको सुझाव छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले पछिल्ला दिनमा दही र मोहीको माग बढ्दै गएको बताउँछन् ।

पहिले पहिले बजारको पेय पदार्थले स्वागत गर्नेहरूले अहिले दही र मोहीले स्वागत गर्ने गरेका छन् । जिल्लाका तीन वटा दुग्ध उत्पादक सहकारीले मोही उत्पादन गर्दै आएका छन् । भरतपुरको अन्नपूर्ण, गङ्गानगर र गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन् ।

जिल्लामा ११५ वटा दुग्ध उत्पादक सहकारी छन् । तीनले दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन गरी एक लाख ५० हजार लिटर अन्यत्र बेच्दै आएका छन् । बाँकी दूध जिल्लाका डेरीबाट बिक्री हुने गरेको छ ।

भरतपुर महानगरपालिका-२२ मा रहेको श्री गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा आफूहरूले विगत ६ महिनादेखि मोही उत्पादन गर्दै आएको बताउँछन् । सुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै उनले अहिले माग बढ्दै गएको बताए ।

विगतमा दैनिक पाँच सय लिटर उत्पादन गर्ने गरेको बताउँदै सापकोटाले माग बढी हुने समयमा दैनिक एक हजार लिटरसम्म उत्पादन गर्ने गरेको सुनाए । वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रममा मोहीको माग अधिक हुने गरेको छ ।

उनले भने, ‘विवाहलगायत समारोहका लागि मोहीको माग हुन गरेको छ ।’

यस वर्षको दसैँमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी दही बिक्री भएको उनी बताउँछन् । फूलपातीदेखि दसमीसम्म दैनिक एक हजार लिटर दही बिक्री भएको भन्दै सापकटाले मोही दैनिक ५ सय लिटर हाराहारी बिक्री भइरहेको बताए ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *