गुप्तेश्वर गुफाको गाई- घाँस न खोले, १६ वर्षमा एक करोड बढी आम्दानी ! – Nepal Press

गुप्तेश्वर गुफाको गाई- घाँस न खोले, १६ वर्षमा एक करोड बढी आम्दानी !

गण्डकी : यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै सोहोर्नु पर्छ । तर, त्यही गाईले वार्षिक लाखौँ रूपैयाँ आम्दानी दिँदै आएको छ ।

पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा राखिएको यन्त्रजडित गाईबाट गत आर्थिक वर्षमा मात्र १३ लाख ५ हजार ४० आम्दानी भएको छ । गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई विगत १६ वर्षदेखि गुफाको निरन्तर आम्दानीको स्रोत बन्दै आएको हो । गाईको प्रतिमाको भित्तातर्फ दूध राखिएको छ जुन ‘पाइप’ को माध्यमबाट थुनसम्म आउँछ ।

कामधेनु गाईगोठमा अवस्थित यन्त्रजडित गाईको नजिकै रहेको सानो प्वालमा १० रूपैँयामा खरिद गरी एउटा गुच्चा राखेपछि गाईको चारवटै थुनबाट दूध बगेर सिधै शिवलिङ्गमा पुग्ने व्यवस्था मिलाइएको छ ।

भक्तजनले गाईको गहुँतले स्नान गरेर शुद्ध भई केही तल रहेको प्राकृतिक शिवलिङ्गको दर्शन गर्ने गर्दछन् । विसं २०६४ सालमा १ लाख ५७ हजार १९८ रूपैयाँ लागतमा निर्माण गरिएको सो गाईले १६ वर्षमा एक करोडभन्दा बढी आम्दानी दिइसकेको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए ।

सो अवधिमा करिब १५ लाख दर्शकले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गरेका छन् । उनका अनुसार गुफा अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थी पनि आउने गर्छन् । विशेषगरी धार्मिक परम्पराअनुसार साउनको सोमबार, शिवरात्री, मङ्गलचौथी, हरिबोधनी एकादशी, ऋषितर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी, नयाँ वर्षलगायतका तिथिमा दर्शनार्थीको घुइँचो लाग्छ ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *