हँसियाले घाँटी रेटेर सासूको हत्या, घटना लुकाउन नयाँ प्रपञ्च – Nepal Press

हँसियाले घाँटी रेटेर सासूको हत्या, घटना लुकाउन नयाँ प्रपञ्च

चितवन । माडी नगरपालिका ७, देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाट यहि असोज १९ गतेदेखि घरबाट हराएकी थिइन् । उनी हराएपछि परिवार आफन्तले सार्वजनिक सूचना जारी गर्दै प्रहरीमा पनि जानकारी गराए ।
घरबाट हराएको ३ दिनसम्म रानाभाटको अत्तोपत्तो लागेन । स्थानी बासिन्दा, प्रहरी तथा आफन्त मिलेर उनको खोजी गरिरहेका थिए । हराएको तेस्रो दिन २१ गते दिउँसो घर पछाडि रहेको जङ्गल नजिकको भीरबाट खसेर लडेको अवस्थामा रानाभाटको शव प्रहरीले फेला पार्‍यो ।

मानसिक रोगको नियमित औषधि सेवन गरिरहेकी र घरमा सौता समेत भएको कारण रानाभाट आफै भीरबाट हाम फालेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको पनि थियो । यद्यपि शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाइएपछि भने डाक्टरले हेर्ने बित्तिकै भीरबाट लडेको कारण नभई घाँटीमा गहिरो चोट लागेर उनको मृत्यु भएको प्रारम्भिक जानकारी दिए ।

‘१९ गते नै मृत्यु भएको कारण शव गल्न थालिसकेको थियो । चोट स्पष्ट यहि हो भन्ने अवस्थामा पहिले देखिएन’ इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी इन्स्पेक्टर केदारमान दोङले भने, — ‘हामीले नाक, कानमा लगाएका गहना नभेटिएपछि घटना शङ्कास्पद रहेको निक्र्यौल गरिसकेका थियौँ । डाक्टरको प्रारम्भिक पोस्टमार्टम रिपोर्टपछि त झन् भवितव्यको मृत्यु नभएर हत्या हुनसक्ने निक्र्यौल भयो ।’

त्यसपछि अनुसन्धान थालेको प्रहरीले एउटै टोलमा घर भएका नन्दका श्रीमान् अर्थात् ज्वाइँ नाताका टीकाराम रानाभाटको शङ्कास्पद गतिविधि देखेपछि अनुसन्धानको लागि पक्राउ गर्‍यो । प्रहरीले पक्राउ गरेपछि ६२ वर्षका टीकारामले आफूले हँसियाले घाँटी रेटेर हत्या गरेको स्वीकार मात्रै गरेनन् घर नजिकैको पतेरी खोला छेउ लुकाएको सुन पनि प्रहरीलाई देखाइदिए । प्रहरीले ठूलो रिङ एक जोडी र कानको माथिल्लो भागमा लगाएका सानो मुन्द्री पाँच वटा भेटेको जनाएको छ

दसैँको छेकोमा भएको घटना भएकोले प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान मात्रै गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा १९ गते बिहानको खाना खाएर घर पछाडिको जङ्गलमा निस्किएकी विष्णुमायाले आफूलाई गाली गरेर मुख छोडेको र आफूले रक्सी सेवन गरेको कारण हँसियाले घाँटीमा प्रहार गर्दा मृत्यु भएको बयान दिएका इन्स्पेक्टर दोङले बताएका छन् । अन्य अनुसन्धान भने बाँकी नै रहेको उनले जानकारी दिए । मृतकको शव भेटिएको ३ दिनपछि पक्राउ परेका टीकाराम प्रहरी हिरासतमा नै रहेको र थप अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *