सुदूरपश्चिममा सम्बन्ध विच्छेदको ग्राफ बढ्दो, कारणबारे यसो भन्छन् जानकार – Nepal Press

सुदूरपश्चिममा सम्बन्ध विच्छेदको ग्राफ बढ्दो, कारणबारे यसो भन्छन् जानकार

डोटी । सुदूरपश्चिम प्रदेशमा वर्षेनी सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै गएको तथ्याङ्कले देखाएको छ । तीन वर्षको अवधिमा यस प्रदेशमा दुई हजार आठ सय ६२ जनाले सम्बन्ध विच्छेदका लागि अदालतमा फिराद दर्ता गरेका छन् ।

प्रदेशभित्रका नौ वटै जिल्ला अदालतले उपलब्ध गराएको सूचना अनुसार गत आर्थिक वर्ष (०८०/०८१) एक हजार ९६ जनाले सम्बन्ध विच्छेद गरिपाउन अदालतमा फिराद दर्ता गरेका हुन् ।

यस्तै, आर्थिक वर्ष ०७९/०८० मा नौ सय ७० र ०७८/०७९ मा सात सय ९६ जनाले सम्बन्ध विच्छेद लागि मुद्दा दर्ता गरेका थिए ।

कैलाली जिल्ला अदालतमा तीन वर्षको अवधिमा एक हजार चार सय १२ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् ।

जसमध्ये एक हजार ४८ महिलाहरूले सम्बन्ध विच्छेद गरी पाउन निवेदन दिएका छन् । सोमध्ये एक हजार दुई सय ३९ मुद्दा फर्छ्यौट भई एक सय ७३ मुद्दा चालु आर्थिक वर्षमा जिम्मेवारी सरेका अदालतमा कार्यरत पुष्पा जोशीले जानकारी दिइन् ।

तीन वर्षको अवधिमा बैतडी जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ६८ मुद्दा दर्ता भएका अदालतका सूचना अधिकारी नरेन्द्रबहादुर बोहराले जानकारी दिए ।

यस्तै, बाजुरा जिल्ला अदालतमा तीन वर्षको अवधिमा ९३ सम्बन्ध विच्छेका मुद्दा दर्ता भएका अदालतका निमित्त श्रेष्तेदार चेतबहादुर बोहराले जानकारी दिए ।

डडेल्धुरा जिल्ला अदालतका अदालतका सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले दिएको जानकारी अनुसार यस जिल्लामा तीन वर्षको अवधिमा महिलाका तर्फबाट ७८ र पुरुषका तर्फबाट ५६ गरी एक सय ३४ फिराद दर्ता भएका छन् ।

डोटीमा तीन वर्षको अवधिमा ५१ महिला र ३१ पुरुषले गरी ८२ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका अदालतका श्रेष्तेदार गम्भीर राना मगरले जानकारी दिए ।

अछाम जिल्ला अदालतमा यस अवधिमा ६१ महिला र २८ पुरुष गरी ८९ जनाले सम्बन्ध विच्छेद गरिपाउन माग गर्दै फिराद दर्ता गरेका अदालतका सूचना अधिकारी गुप्तीप्रसाद गौलीले जानकारी दिए ।

यस्तै, विगत तीन वर्षको अवधिमा बझाङ जिल्ला अदालतमा महिला ५६ र पुरुष ४८ गरी एक सय चार जनोल सम्बन्ध विच्छेदका लागि निवेदन दिएका अदालतका श्रेष्तेदार हेमराज तिमिल्सिनाले जानकारी दिए ।

दार्चुला जिल्ला अदालतमा सो अवधिमा सम्बन्ध विच्छेदका एक सय २७ फिराद दर्ता भएका छन् । यीमध्ये ८६ महिला फिरादी रहेका अदालतका सूचना अधिकारी गणेशप्रसाद विष्टले जानकारी दिए ।

कञ्चनपुर जिल्ला अदालतमा यस अवधिमा सात सय ५३ सम्बन्ध विच्छेदका मुद्दाहरु दर्ता भएका अदालतबाट उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।

किन बढ्दैछन् सम्बन्ध विच्छेदका घटनाहरू

सम्बन्ध विच्छेदका घटनाहरू बढ्नुमा बालविवाहलाई प्रमुख कारण मान्छिन् अछाम, बान्नीगढी जयगढ गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समिति संयोजक बिन्दु रावल ।

‘सानो उमेरमा विवाह हुन्छ, एक अर्कालाई बुझेका हुँदैनन्, जब बुझ्ने हुन्छन् अनि एकर्काका भावना नमिल्ने हुन्छन्’ उपाध्यक्ष रावल भन्छिन् ‘विवाद बिस्तारै बढ्दै गएपछि सम्बन्ध विच्छेदको तहमा पुग्छन् । वैदेशिक रोजगारी, श्रीमान श्रीमतीबीच अनुशासनको कमी, एक अर्काप्रति जिम्मेवार नहुनु, घरेलु हिंसालाई पनि सम्बन्ध विच्छेदको कारण मान्छिन् उनी । उनी थप्छिन् ‘पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग पनि एक कारण हो ।’

युवा पुस्तामा उदार सामाजिक सम्बन्ध हुनुले पनि सम्बन्ध विच्छेदका घटनाहरू बढ्ने गरेको अधिवक्ता विष्णु भट्ट बताउँछन् । ‘पछिल्लो समयमा महिलाहरूप्रति कानुनी उदारता बढेको छ, समाज खुला हुँदै गएको छ’ अधिवक्ता भट्ट भन्छन् ‘महिलाहरू पनि कानूनी रूपमा आफ्नो अधिकारप्रति सचेत हुँदै गएका छन् ।’

घरेलु हिंसा सहनु भन्दा सम्बन्ध विच्छेदको तहमा महिलाहरू पुग्ने गरेको भट्टको भनाई छ । अदालती विवाह, प्रविधिको दुरुपयोग लगायतका कारणले पनि सम्बन्ध विच्छेद हुने गरेको उनले बताए ।

अधिवक्ता कल्पना मडै पनि सम्बन्ध विच्छेदको मुख्य कारण बालविवाह देख्छिन् । उनी भन्छिन् ‘सम्बन्ध विच्छेद भएका अधिकांश जोडीहरूको बालविवाह भएको देखिन्छ । यसले बालविवाह नै मुख्य कारण रहेको भन्न सकिन्छ ।’

डोटीको जारायल गाउँपालिकाकी कानुनी सल्लाहकार समेत रहेकी मडै भन्छिन् ‘घरेलु हिंसा, सामाजिक सञ्जालको दुरुपयोग लगायतका कारण सम्बन्ध विच्छेदका घटनाहरू बढेका हुन् सक्छन् ।

दम्पतीबीच पारिवारिक सम्बन्ध राम्रो नभए सम्बन्ध विच्छेद हुनुलाई स्वाभाविक रूपमा लिन्छिन् शिक्षिका गीता जोशी ।

‘विषाक्त सम्बन्धका कारण सम्बन्ध विच्छेद भएको हो भने यसले दम्पत्तिलाई बाँच्न सहज बनाउँछ’ उनी भन्छिन् ‘झट्ट हेर्दा सन्तानहरूलाई नराम्रो असर पर्ला जस्तो देखिन्छ तर आमाबुवाको विषाक्त सम्बन्धले सधै मानसिक समस्या ल्याउनु भन्दा अलग्गिएको राम्रो हुन्छ ।’

समाजलाई यथास्थितिमा हेर्दा नराम्रो भएको देखिए पनि राम्रोकै लागि सम्बन्ध विच्छेद सम्बन्धी नयाँ कानुनी व्यवस्था गरिएको उनको बुझाई छ ।

उनी थप्छिन् ‘चित्त नबुझीकन जीवनभरसँगै बसेको राम्रो होइन, घरमा दम्पत्तिको खराब सम्बन्ध भयो भने त्यसबाट आउने दुष्परिणामबाट बचाउने अस्त्रको रूपमा सम्बन्ध विच्छेद वरदान हो ।’

सञ्चारकर्मी सरिता कठायत सम्बन्ध विच्छेद दम्पत्तिको रहर नभई बाध्यात्मक परिस्थिति भएको बताउँछिन् । सम्बन्ध विच्छेदपछि सबैभन्दा बढी पीडा छोराछोरीहरूले भोग्नु परेको सरिताको बुझाई छ ।

‘आमाबुवाको न्यानो माया, ममता, स्नेह, स्याहारबाट छोराछोरीहरू वञ्चित हुन्छन्’ उनी भन्छिन् ‘अभिभावकको नियन्त्रणको अभावमा बालबालिकाहरू कुलत र कुसंस्कारको बाटोमा लाग्न सक्छन् ।’

समाजमा सम्बन्ध विच्छेदलाई देखासिखीका रूपमा लिने गरेको समेत सञ्चारकर्मी सरिताको बुझाई छ । उनी थप्छिन् ‘आफ्ना कमीकमजोरीलाई सुधार गर्ने भन्दा बढी स्वतन्त्रताको बाटो रोग्नेतिर लाग्छन् उनीहरू ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *