बाल्यकालको दक्षिणाः ५ पैसा पाउँदा फुरुङ्ग, खर्च केमा ? – Nepal Press

बाल्यकालको दक्षिणाः ५ पैसा पाउँदा फुरुङ्ग, खर्च केमा ?

काठमाडौं । दशैँको मुख्य विशेषता निधारभरीको टीका हो । अझ हरेक कुरा नयाँ हुनुपर्छ भन्ने मान्यता आजसम्म पनि छ । त्यसैले हुँदा खाने र हुने खाने सबैले दशैँका लागि मिठा मिठा परिकार, नयाँ लुगा र टीका लगाएर दिइने दक्षिणाको जोहो गर्छन् । ऋणै गरेर भएपनि दशैँ मनाइन्छ ।

दशैँमा दक्षिणा, टीका, जमरा र पिङको मज्जालाई खास अर्थ र महत्वका रूपमा लिइन्छ । आजभन्दा ५५ वर्षअघि ५ पैसा दक्षिणा पाउँदा मख्ख पर्ने अवस्था रहेको सम्झन्छन् पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल । तर, आजकाल मान्छेहरूको असीमित इच्छा चाहनाले दक्षिणा नै बढी दिन थालिएको छ । पाएको दक्षिणाप्रति पनि मानिसमा त्यति उत्साह छैन जुन आजभन्दा ५० वर्षअघि हुन्थ्यो ।

हामीले केहीलाई बालापनको दशैँको दक्षिणाबारे सोधेका छौं-

निलम ढुंगाना, डेपुटी गभर्नर नेपाल राष्ट्र बैंक

दशैँको बेला २ रुपैयाँ देखि ५ रुपैयाँसम्म दक्षिणा पाएको याद छ । २०३४/३५ सालतिर २ रूपैयाँ लिँदा एकदमै खुशी लागेको थियो । दशैँमा टीका लगाएको पैसा खुत्रुकेमा जम्मा गरिहाल्थे । मलाइ याद हुन थालेपछि पहिलो पटक जम्मा भएको पैसाले अक्सफर्ड लर्नर डिक्सनरी किनेको याद छ । मेरो बाल्यकालको प्रायजसो दशैँ दमकमै बित्यो । त्यतिबेला दक्षिणा भनेपनि निकै उत्साहित भइन्थ्यो ।

सुरेन्द्रराज रेग्मी, सीईओ ग्लोबल आईएमई बैंक

२०३४ सालतिरको कुरा हो मलाइ १ रूपैयाँ दक्षिणा लिएको याद छ । त्यसपछि त बिस्तारै २ रूपैयाँ, ५ रूपैयाँसम्म दिन थाले । पहिला पाएको एक रूपैयाँले मैले मिठाइ किनेर खाएको थिए । अरु पैसा के गरेँ याद छैन ।

वीरेन्द्र पाण्डे, उपाध्यक्ष उद्योग परिसंघ

अधिकांश दशैँ काठमाडौंमै बित्यो । हामी जमलमा बस्थ्यौं । बालापनको हरेक दशैँ जमलमै मनाएँ । २ देखि ५ रूपैयाँसम्म दक्षिणा पाएको अझै झलझली छ । त्यो दशैँको पैसा मैले खुत्रुकेमा जम्मा गरेँ । पछि आफ्नो अलिकति थपेर ६ कक्षा पढ्दा याशिकाको क्यामेरा किनेको थिएँ । त्यतिबेला खुब रमाइलो लागेको थियो आफ्नै पैसाले क्यामेरा किन्दा ।

सुधुम्नप्रसाद उपाध्याय, सिइओ सानिमा जीआईसी

घरतिर छोरा मान्छेलाई दक्षिणा दिने चलन थिएन । पैसा नै नपाइने भएपछि दक्षिणाको याद नै नहुने रहेछ । तर मामा घरतिर चाहि दिन्थे । कति पाइयो भन्ने नै बिर्से । मलाइ दक्षिणामा खासै वास्ता हुदैन थियो त्यसकारण पनि याद भएन ।

डा. चिरञ्जीवी नेपाल, पूर्वगभर्नर

५ पैसादेखि ५ रूपैयाँसम्म दक्षिणा पाएको याद छ । २०२६ सालतिर ५ पैसा टीका लगाएर दिन्थे । घरतिर छोरा मान्छेलाई दक्षिणा दिने चलन खासै थिएन । मामाघरतिर दिन्थे । टीका लगाएको पैसा जति सबै चकलेट किनेर खान्थे । त्यतिबेला त ५ पैसाको ५ वटा चकलेट आउँथ्यो । अहिले ती मुद्राहरू टीका लगाएर दिने चलन हराइसक्यो ।

राजेन्द्र मल्ल ,पूर्वअध्यक्ष नेपाल चेम्बर अफ कमर्श

हाम्रो समुदायमा छोरालाई पनि दशैँमा टीका लगाएर पैसा दिने चलन छ । अहिले पनि दिन्छौं । सानो बेलाको दशैँ भन्ने बित्तिकै कति दक्षिणा हुन्छ होला भन्ने कौतुहलता हुन्थ्यो । त्यतिबेला पनि ठूलै रकम दक्षिणाको रूपमा पाइन्थ्यो । २०२६/०२७ सालदेखि मलाई दक्षिणा पाएको राम्ररी याद छ । बाआमाले टीका लगाएर ५ रूपैयाँ दिनुहुन्थ्यो । त्यतिबेलाको ५ रूपैयाँ ठूलै रकम हो । १० पैसाको एक कप चिया आउँथ्यो । ५ रूपैयाँको त झन् धेरै चिज आउथ्यो । म चाहिँ पैसा राखिरहन्थेँ अनि पछि जे चाहिन्छ त्यसैमा खर्च गर्थेँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *