राष्ट्रियसभा अध्यक्ष दाहालले गरे आईपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट – Nepal Press

राष्ट्रियसभा अध्यक्ष दाहालले गरे आईपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट

जेनेभा । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा नेपालको संघीय संसद र अन्तर व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष दाहालले आईपीयूका विभिन्न सभा तथा कार्यक्रमहरूले लोकतन्त्र, मानवअधिकार, लैङ्गिक समानता, युवा सशक्तीकरण, दिगो विकास लगायतका सवालमा संवाद, सहकार्य र असल अभ्यासहरूको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए ।

अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्थाहरू थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरूले बलियो र घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको बताए ।

सो अवसरमा उनले आईपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे ।

संविधानसभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरू जनप्रतिनिधिको रूपमा सहभागी रहेको बताए ।

जनप्रतिनिधिमार्फत विश्वभरका मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एवम् समस्याहरू अभिव्यक्त गर्न सकिने साझा मञ्चको रूपमा अन्तर व्यवस्थापिका संघलाई आफूले बुझेको भन्दै अध्यक्ष दाहालले यसको गरिमा र महत्व विश्वमा झनै बढ्दै गइरहेको बताए ।

सो अवसरमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सनले नेपालले विगतदेखि नै आईपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरे ।

नेपालको संघीय संसदमा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताए ।

आईपीयूको सचिवालयलाई अझैँ व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आईपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताए । भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर