बैतडी विमानस्थल: संरचनामा करोडौं खर्चियाे, जहाज आएन – Nepal Press

बैतडी विमानस्थल: संरचनामा करोडौं खर्चियाे, जहाज आएन

बैतडी । जिल्लाकाे पाटन नगरपालिका- ६ का ८३ वर्षीय नरबहादुर विष्टले केही वर्ष पहिलेसम्म आफ्नै घरमाथिबाट कानै फुट्ने आवाज आउनेगरी जहाज आएको, गएको देखे, तर, अहिले जहाज नदेखेको तीन वर्ष हुन थाल्यो ।

‘पहिलो विमानस्थल राम्रो थिएन । विमान आउँथ्यो । अहिले विमानस्थल भव्य भएको छ, तर विमान आउँदैन’, उनी भन्छन्, ‘पहिले धूलो उडाउँदै जहाज उड्थ्यो । अहिले पिच भयो, जहाज आएको छैन ।’

सोही ठाउँकी मञ्जु भुल पनि धेरै समयदेखि गाउँमा विमान नआएको बताउँछिन् ।

‘पहिले पहिले आउँथ्यो, अचेल आउँदैन’, उनी भन्छिन्, ‘कहिलेकाहीँ दुःख विराम हुँदा जहाज नआउँदा समस्या हुन्छ । यत्रो संरचना बनेपछि त जहाज नियमित आउनुपर्ने नि ?’

२०७७ असोज १७ गते तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पाटन विमानस्थलको उद्घाटन गरेका थिए । उद्घाटनपछि हप्ताको एक दिन विमान उडे, तर २०७८ चैत १० गतेयता पाटन विमानस्थल सुनसान छ ।

बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । यात्रु अभावका कारण उडान गर्न नसकिने समिट एयरले जनाएको छ ।

‘यात्रु अभावकै कारण यहाँको हवाई सेवा बन्द भएको हो । भाडा महँगो भएकै कारण यात्रु पाउन मुस्किल छ’, धर्मानन्द भट्टले भने ।

पाटन-धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा तीन हजार ७०० रुपैयाँमा हवाई उडान हुने गरेको थियो । त्यो भाडा ४ हजार २०० सम्म पुगेको थियो । ५ हजार बनाउने भएपछि यात्रुको रोजाइ हवाई मार्गभन्दा सडक मार्ग हुन पुग्यो ।

हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धन र व्यापार-व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनुपरेको स्थानीय बताउँछन् ।

पाटन- १ सकारकी तुलसी भट्टराईले आकस्मिक अवस्थाको लागि पनि विमान नहुँदा समस्या हुने गरेको बताउँछिन् ।

‘हवाई उडान बन्द हुँदा बैतडीबाट आकस्मिक रूपमा प्रदेश राजधानी धनगढी जाने यात्रु र बिरामीलाई समस्या हुने गरेको छ’, उनले भनिन् ।

अढाई वर्षयता पाटन विमानस्थलमा व्यवसायिक उडान नहुँदा झन्डै १६ करोड रुपैयाँका संरचना प्रयोगविहीन छन् । ११ करोड खर्च गरेर २० मिटर चौडा र ५८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो । त्यसपछि करिब पाँच करोड खर्च गरेर टर्मिनल भवन निर्माण गरिएको छ ।

विमानस्थल सञ्चालनमा आएमा बैतडीसँगै दार्चुलाका नागरिकले सेवा पाउने भए पनि बन्द हवाई सेवा सञ्चालनका लागि कसैले चासो नदिएको स्थानीय उद्धवराज भट्टराई बताउँछन् । स्थायी कैलाली ठेगाना भएका भट्टराईको पुर्ख्यौली घर पाटन हो । २०७८ सालमा विमानबाट आएको सम्झँदै उनी भन्छन्, ‘त्यो बेला संरचना थिएन, विमान थियो । अहिले संरचना छ, विमान आउँदैन ।’

नियमित उडान नहुने र भाडा पनि महँगो भएकाले यात्रुले पनि सडक मार्ग नै प्रयोग गर्न थालेको उनी बताउँछन् ।

नियमित हवाई उडान सेवा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय भइरहेको पाटनका मेयर गौरीसिंह रावल बताउँछन् ।

उनले भने, ‘नियमित हवाई सेवा सञ्चालन नहुँदा समस्या छ । नगरपालिकाबाट यसका लागि पहल भइरहेको छ ।’

उनले सुदूरपश्चिमकै पर्यटनमन्त्री हुँदा यसतर्फ ध्यान दिनुपर्ने बताउँछन् ।

जहाज नआउँदा विमानस्थलको धावनमार्ग स्थानीयवासीको लागि टिकटक बनाउने, फोटो खिच्ने स्थल बनेको छ । धावनमार्गमा घाँस उम्रिन थालेको छ । विमानस्थल संरक्षणका लागि बनाइएको घेरा पर्खाल भत्किन थालेको छ । तार जालीसमेत चुँडिन थालेको छ ।

पाटनमा २०३६ देखि ०५२ सम्म कच्ची विमानस्थलमै करिब १६ वर्ष हवाई उडान भएको थियो । द्वन्द्वपछि यो विमानस्थल २५ वर्षसम्म ठप्प रह्यो । विमानस्थल सञ्चालन गर्न करोडौं रुपैयाँ खर्च भए पनि हवाई उडान ठप्प हुँदा बैतडीवासी निराश छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *