माओवादी केन्द्रले नसम्झिएका बेपत्ता न्यौपानेलाई वडा कमिटीले सम्झियो – Nepal Press

माओवादी केन्द्रले नसम्झिएका बेपत्ता न्यौपानेलाई वडा कमिटीले सम्झियो

चितवन । तत्कालीन नेकपा माओवादीका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयको सचिव समेत रहेर राज्यबाट बेपत्ता पारिएका दण्डपाणि न्यौपानेलाई पहिलोपटक नेकपा माओवादी पार्टीले औपचारिक रुपमा सम्झिन लागेको छ ।

माओवादी पार्टी स्थापना कालदेखि पार्टीमा लागेर जिल्ला तथा केन्द्रको सचिवालय तहको जिम्मेवारी सम्हालेका न्यौपानेलाई २०५६ जेठ ७ गते काठमाडौँमा राज्यका तर्फबाट गिरफ्तार गरिएको थियो । त्यसयता उनको अवस्था के कस्तो छ पत्ता लागेको छैन ।

सशस्त्र द्वन्द्वको समयमा प्रचण्डको निकट मानिएका न्यौपाने अहिलेसम्म पार्टीमा क्रियाशील भएको भए पार्टी उपाध्यक्ष तहमा पुग्ने तहका थिए । उनका समकालीनहरु माओवादीको सचिवालय तहमा छन् । तर, उनलाई बेपत्ता पारिएयता पार्टीले औपचारिक रुपमा भने सम्झिएको छैन ।

परिवारले भने चार वर्षयता जेठ ७ गते न्यौपानेको नाममा स्मृती कार्यक्रम राख्दै आएको छ । नेकपा माओवादी भरतपुर महानगर कमिटी इन्चार्जको रुपमा रहेकी न्यौपानेकी छोरी निशाका अनुसार बेपत्ता पारिएको व्यक्तिलाई सम्बोधन गर्ने औपचारिक कानूनी व्यवस्था नभएकोले पार्टीले कुन रुपमा सम्झिने भनी कानूनी व्यवस्था कुरेको हो ।

तर, माओवादी केन्द्रीय कमिटीबाट सम्बोधन नभएपनि उनको स्थायी बासस्थान भरतपुर १३, को नेकपा माओवादी वडा कमिटीले दण्डपाणि न्यौपाने स्मृति भवन निर्माण गरेर सम्झिन लागेको छ ।

कमिटीले वडा नम्बर १३ मा विद्यालय खोल्ने शिक्षाको पहुँचको लागि न्यौपानेको पहलमा निर्माण भएको प्राथमिक विद्यालय अहिले माध्यामिक तहमा पुगेको छ । तत्कालीन विद्यालय खोल्न पहल गर्नेमध्येका एक शेखरनाथ सुवेदी भन्छन्, — हाम्रो पार्टी सरकारमा पुगेको लामो समयसम्म पनि सम्झिन सकेनौँ, ढिलै भएपनि पार्टीले न्यौपानेलाई सम्झिएको छ ।

कात्तिक ३ गते उनको स्मृतिमा भवन बनाउने र स्मृति फाउण्डेशन निर्माण गर्ने पनि वडा कमिटीले तयारी गरेको छ । न्यौपानेका समकालीन प्राध्यापक डाक्टर भीमराज अधिकारी ३ गते दण्डपाणि न्यौपाने फाउण्डेशनको घोषणा गर्ने बताए । उनले प्रचण्ड स्वयंले केन्द्रीय कमिटीले सम्झिनुपर्नेमा वडाले सम्झिएको भन्दै खुसी व्यक्ति गरेको बताए । उनले भने, — दण्डपाणि स्मृति प्रतिष्ठानको संरक्षक प्रचण्ड आफै बस्छु भन्नुभएको छ ।

त्यसैगरि सोही अवसरमा बृहत साँस्कृतिक कार्यक्रम तथा जनसभाको समेत वडा कमिटीले आयोजना गरेको छ । कार्यक्रम न्यौपानेले नै स्थापना गरेको विद्यालय परिसरमा गर्ने र सो अवसरमा संकलन भएको रकमबाट दण्डपाणि स्मृति भवनको निर्माण गर्ने वडाअध्यक्ष समेत रहेका भरतपुर १३ का नेकपा माओवादी अध्यक्ष प्रकाश दवाडीले जानकारी दिए ।


प्रतिक्रिया

2 thoughts on “माओवादी केन्द्रले नसम्झिएका बेपत्ता न्यौपानेलाई वडा कमिटीले सम्झियो

  1. माओवादी केन्द्र त प्रचण्डका भाइ भारदार र चाकडवाजहरूको सेवामा व्यस्त छ । यिनलाई हेर्ने फुर्सद छैन ।

  2. माओवादी कम्युनिस्ट नाममा प्रचण्ड आसेपासे नातागोता को पार्टी देखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर