जिप्रकाले सुरक्षा दिन नमानेपछि पशुपति धर्मशाला खाली गर्न गएको नगर प्रहरी यत्तिकै फर्कियो – Nepal Press

जिप्रकाले सुरक्षा दिन नमानेपछि पशुपति धर्मशाला खाली गर्न गएको नगर प्रहरी यत्तिकै फर्कियो

काठमाडौं । पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा दिन नमानेपछि नगर प्रहरीको प्रयास असफल भएको हो ।

महानगरले पशुपति गौशाला धर्मशाला खाली गराउन जानुअघि प्रहरी/प्रशासनको सहयोग खोजेको थियो । सुरक्षा उपलब्ध गराउन आग्रह गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पठाएको पत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सकारात्मक भएनन् । उनले आपसी छलफलबाट विवाद मिलाउन आग्रह गरेका थिए ।

‘हामीले विवाद नगरी भरसक सहमतिमै टुंग्याउन भनेका छौं । बाहिरबाट निगरानी भइरहेको छ’, सीडीओ आचार्यले नेपाल प्रेससँग भने ।

जिप्रकाले सुरक्षा उपलब्ध नगराए पनि नगर प्रहरीको टोली धर्मशाला खाली गराउन पुग्यो । धर्मशालामा महानगरको बोर्ड राख्न खोज्दा मारवाडी सेवा समितिले अवरोध गरेपछि नगरप्रहरी यत्तिकै फर्किएको हो ।

काठमाडौं जिल्ला अदालतले केही दिनअघि मात्र पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको थियो । त्यसपश्चात कोषले धर्मशाला सञ्चालन/व्यवस्थापनको जिम्मा महानगरपालिकालाई दिने निर्णय गरी महानगरलाई पत्र लेखेको थियो ।

तर, असोज २३ मा पुगेको महानगर प्रहरीलाई आफूहरू बहालमा नभई मोही भएको दाबीसहित मारवाडीहरूले ठाउँ खाली गर्न मानेका थिएनन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म न्यायिक अधिकार सुरक्षित हुनुपर्ने, यहाँका सबै भौतिक संरचना आफूहरूले बनाएको, लामो समयदेखि मानव सेवामा समर्पित भएको उनीहरूको जिकिर छ ।

पशुपति क्षेत्र विकास कोषले आजै पत्रकार सम्मेलन गरेर कानूनी प्रावधान र प्रक्रिया अनुसार नै आफूहरू बढेको जनाएको छ । अदालतको फैसलापछि धर्मशाला सञ्चालन व्यवस्थापनको नीति बनाई महानगरसँग सहमति भएको सदस्य सचिव डा. मिलनकुमार थापाले बताए ।

पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति सेवासँग जोडेर कोही कसैले पनि गलत ढंगले अतिक्रमण गर्न नपाउने भन्दै उनले आफू मोही हो भने भूमिसुधारको पत्र ल्याउन पनि मारवाडी सेवा समितिलाई चूनौती दिए । २०५८ मा गौशाला धर्मशाला शब्द मिलाएर मिल्दोजुल्दो हुने गरी जिल्ला प्रशासन कार्यालयमा मारवाडी सेवा समिति नेपाल नामक संस्था दर्ता गरिएको देखिएको कोषको जिकिर छ ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको ९ बुँदे सम्झौता खारेज गरेपछि ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी समितिले मुद्दा हालेको थियो ।

समितिको दाबी नपुग्ने अदालतको फैसलासँगै कोष र समितिबीचको ९ बुँदे सम्झौता खारेज भएको थियो ।

गौशालास्थित कित्ता नम्बर ८३ को ४ रोपनी १५ आना २ पैसा क्षेत्रफल र सोही स्थानको कित्ता कित्ता नम्बर ८५ को ४ रोपनी १० आना क्षेत्रफल गरी जम्मा ९ रोपनी ९ आना जग्गा र त्यहाँ बनेको धर्मशाला समितिले प्रयोग गर्दै आएको थियो ।

वार्षिक ५१ हजारमा भाडामा दिइएको धर्मशालामा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको थियो । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो । तर, सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेज गर्ने निर्णय गरेको थियो ।

समितिले जर्सी गाई पालेर दूध बेच्दै आएको थियो । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटा सटर मासिक ३५ हजारसम्ममा भाडामा लगाएको कोषले जनाएको छ ।


प्रतिक्रिया

One thought on “जिप्रकाले सुरक्षा दिन नमानेपछि पशुपति धर्मशाला खाली गर्न गएको नगर प्रहरी यत्तिकै फर्कियो

  1. खुरूक्क हटाउ । मारवाडी सेवा समितिको केही हक छैन त्याहा । गौशालाको नाममा लुट मच्चाईरहेका छन् मारवाडीले । ५ रूपैयाको सामान ५० रूपैयामा बेचेर, कर छली गरेर, तस्करी गरेर कमाएका माडवारीले सेवा गरेको भन्नू लाजमर्दो कुरा हो ।सेण्टर ठाउँ भएर कब्जागर्न जबर्जस्ती गर्दैछन् । खालि गराउन नसके दिल्लीले नेपालमाथि कब्जा गरेको प्रमाणित हुन्छ । कोषले पुलिस लगाएर ठाउँ खाली गराउ । अनि महानगरलाई देउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर