माओवादीमा प्रचण्डले नेतृत्व छाड्नुपर्ने प्रस्ताव राखेका जनार्दन किन पुगे विप्लव निवास ? – Nepal Press

माओवादीमा प्रचण्डले नेतृत्व छाड्नुपर्ने प्रस्ताव राखेका जनार्दन किन पुगे विप्लव निवास ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उपमहासचिव शर्माले महासचिव विप्लवको कपिलवस्तुस्थित निवासमै पुगेर मंगलबार भेट गरेका हुन् ।

भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको महासचिव विप्लवले बताए । पूर्वमाओवादी घटकहरुबीचको एकता र मोर्चाबारे पनि छलफल भएको उनको भनाइ छ ।

उनले भने, ‘उहाँसँग समसामयिक विषयमा छलफल भयो । वामपन्थी शक्तिलाई बलियो बनाएर जानुपर्छ भन्नेबारे पनि कुराकानी भएका छन् ।’

त्यसो त विप्लवसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि निरन्तर संवादमा छन् । प्रचण्डले पछिल्लो समय पूर्वमाओवादी घटकहरुबीचको एकताको प्रयास गरिरहेका छन् । माओवादीसँग एकताको लागि विप्लव पनि तयार देखिँदै आएका छन् ।

तर उपमहासचिव शर्मा पछिल्लो समय पार्टी नेतृत्वप्रति असन्तुष्ट सुनिँदै आएका छन् । लिखित रुपमै प्रचण्डलाई संरक्षक बनाएर नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गरेका शर्मा र विप्लवबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ, तर माओवादीमा शर्माले अघि सारेको प्रस्तावमा समीक्षा गर्न नेताहरू तयार भए पनि तत्काल प्रचण्डको विकल्पमा जान नहुने निष्कर्ष निकालेको छ ।

पार्टीभित्र शर्मा र अर्का उपमहासचिव वर्षमान पुनले मिलेर दबाब बढाएपछि प्रचण्डले विप्लवलाई महासचिव बनाएर भित्र्याउने चर्चासमेत चलेको थियो । जसकारण विप्लवलाई माओवादीमा भित्र्याउन शर्मा र पुनले रोकेको आरोपसमेत लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर