दुई महिनामा साढे दुई खर्ब रेमिट्यान्स भित्रियो, देशको आर्थिक अवस्था कस्तो छ ? – Nepal Press

दुई महिनामा साढे दुई खर्ब रेमिट्यान्स भित्रियो, देशको आर्थिक अवस्था कस्तो छ ?

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिनामा रेमिट्यान्स १५.२ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब नाघेको छ ।

मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले भदौ महिनासम्म रेमिट्यान्स १५.२ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब १४ करोड पुगेको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा १८.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा नेपालको रेमिट्यान्स १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यो १ अर्ब ७३ करोड थियो ।

त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना रेमिट्यान्स १८ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको थियो ।

विदेशी विनिमय सञ्चिती २१ खर्ब नाघेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा कुल विदेशी विनिमय सञ्चिती ५.५ प्रतिशतले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको हो ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिती भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको छ ।

त्यस्तै कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकमा १९ खर्ब २८ अर्ब ९९ करोड रहेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब २३ अर्ब ५३ करोड रहेको छ ।

भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

भदौ मसान्तमा विदेशी विनिमय सञ्चितीको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः ३७.७, ११४.४ र ३०.८ प्रतिशत रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *