बझाङको शिलदेवी मेलामा देउडा र भलिबल प्रतियोगितासँगै कृषि प्रदर्शनी हुने – Nepal Press

बझाङको शिलदेवी मेलामा देउडा र भलिबल प्रतियोगितासँगै कृषि प्रदर्शनी हुने

बझाङ । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय शिलदेवी मेलामा देउडा र भलिबल प्रतियोगितासँगै कृषि प्रदर्शनी हुने भएको छ ।

कार्तिक १ गते पूर्णिमाको दिन सुरु हुने मेलामा महिला-पुरुष अन्तरपालिका भलिबल र देउडा प्रतियोगिता तथा कृषि प्रदर्शनी आयोजना गरिएको उद्योग वाणिज्य सङ्घ बझाङका उपाध्यक्ष शङ्कर रसाइलीले बताए ।

उद्योग वाणिज्य सङ्घ बझाङले आज पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी दिएको हो । कार्तिक ७ गतेसम्म चल्ने मेलामा आयोजना गरिएको भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम पुरस्कार २ लाख २ हजार ८१ रहेको छ । द्वितीय पुरस्कार १ लाख २ हजार ८१, तृतीय पुरस्कार ५२ हजार ८१ र सान्त्वना पुरस्कार १२ हजार ८१ रुपैयाँ रहेको छ ।

यस्तै महिलातर्फ प्रथम पुरस्कार १ लाख २ हजार ८१, द्वितीय पुरस्कार ५२ हजार ८१, तृतीय पुरस्कार २२ हजार ८१, सान्त्वना पुरस्कार ५ हजार ५८१ रहेको छ ।

पुरुष भलिबलमा ३० टीम र महिलामा २० टीमसम्म सहभागी पुग्ने आयोजकले अनुमान गरेको छ ।

स्थानीय भेषभुषा र देउडाको संरक्षणका लागि शिलदेवी मेलामा अन्तरपालिका महिला-पुरुष देउडा प्रतियोगिता पनि आयोजना गरिएको उद्योग वाणिज्य सङ्घ बझाङले जनाएको छ । हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र मौलिकताको प्रचारप्रसारको लागि प्रतियोगिता गरिएको उद्योग वाणिज्य सङ्घ बझाङका महासचिव नरेन्द्र खड्काले बताए ।

महासचिव खड्काका अनुसार प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीय स्थान हासिल गर्नेलाई १० हजार पुरस्कार रहेको छ ।

शिलदेवी मेलामा स्थानीय उत्पादन (कृषि मेला) प्रदर्शनी आयोजना गरिएको छ । कृषि ज्ञान केन्द्र बझाङको आयोजना र उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय बालीको संरक्षण, प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले मेलामा स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शनीमा किसानहरूले आफ्नै उत्पादन एवं रैथाने वस्तुहरूको स्टल राखिने उद्योग वाणिज्य सङ्घ बझाङका महासचिव खड्काले बताए ।

मेलामा १० हजार सहभागी हुने आयोजकले अपेक्षा गरेको छ ।मेलामा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसमेत रहेको बताइएको छ ।

शिलदेवी मेलाको महत्त्व

एघारौं शताब्दीतिर दुर्गादेवीकी १६ बहिनीमध्ये सुर्मादेवी सुर्मा सरोवर जाने क्रममा चैनपुर आएको र चैनपुरका जोख्या थापासित काँक्रो माग्दा नदिएपछि आफ्नो दिव्य शक्तिले सेती नदी र बाहुलीगाड खोलाको बहाव बढाई चैनपुर बगाइदिएको किंवदन्ती छ ।

उक्त किंवदन्तीअनुसार कोजाग्रत पूर्णिमाको दिन भएको घटना चैनपुरको बीच भागमा रहेको ढुङ्गामा बसेर सुर्मादेवीले हेरेकाले सोही ढुङ्गा (शिल)लाई यहाँका मानिसले मन्दिर बनाई पूजा गर्दै मेला गर्न थालेका हुन् । त्यही दिनको सम्झनामा प्रत्येक कोजाग्रत पूर्णिमाको दिन मेला लाग्ने गरेको बझाङी इतिहासका अध्येता विष्णुभक्त शास्त्री बताउँछन् ।

शास्त्रीका अनुसार पछि सोह्रौं शताब्दीतिर बझाङी राजा गजराज सिंहले यो मन्दिरलाई अझ भव्य बनाउन लगाएको र मेलालाई पनि थप व्यवस्थित तथा आकर्षक गराउन पहल गरेका थिए । मेलाको दिन आएर शिलदेवीको दर्शन गरे पुण्य प्राप्त हुने र इच्छित वर प्राप्त हुने भनाइले यसको महत्त्व अझ बढेको शास्त्री बताउँछन् ।

मेला भर्न बझाङस्ँगै सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दर्शनार्थी सदरमुकाम चैनपुर पुग्ने गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *