एक महिनाभित्र रुग्ण उद्योग सञ्चालन गर्ने सूचना आह्वान गर्छौं: मन्त्री भण्डारी – Nepal Press

एक महिनाभित्र रुग्ण उद्योग सञ्चालन गर्ने सूचना आह्वान गर्छौं: मन्त्री भण्डारी

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरू अबको एक महिनाभित्रै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको बताएका छन् ।

गृहजिल्ला बैतडीमा आयोजित दसैँतिहारको शुभकामना आदानप्रदान कार्यक्रममा भण्डारीले भने, ‘अबको एक महिनाभित्र लामो समयदेखि बन्द अवस्थामा रहेका उद्योगहरूलाई सञ्चालनमा ल्याउने तयारी गरेका छौं । त्यसका लागि धेरे चरणमा छलफल गरेका छौं । यी उद्योगहरू सञ्चालन प्रक्रियाका लागि सूचना आह्वान गर्छौं ।’

उनले सरकारीमात्र होइन, निजी उद्योगलाई पनि सञ्चालनमा ल्याउन सहयोग गर्ने बताए । नतिजा देखिने गरी काम गर्न मन्त्रालयहरुबीच प्रतिस्पर्धा चलिरहेको मन्त्री भण्डारीले सुनाए ।

उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रतिस्पर्धामा अगाडि आउने दाबी गरे ।

‘हाम्रो मन्त्रालय प्रतिस्पर्धामा पुछारमा रहन्न, अगाडि नै हुन्छ । हामीले धेरै मेहनत गरेर मन्त्रालयको कार्ययोजना बनाएका छौं’, भण्डारीले भने, ‘शतप्रतिशत त म भन्दिनँ, त्यसको आसपासमा हाम्रो नतिजा देखिन्छ ।’

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्रको काम भइरहेको उनले बताए । यसका साथै मध्य पहाडी लोकमार्गको अन्तिम बिन्दु बैतडीको झुलाघाटमा मोटर पुल बनाउन भारत सरकारसँग छलफल भइरहेको उनले दाबी गरे ।

पुल निर्माणसँगै दुई देशको व्यापारमा वृद्धि हुने र बैतडीमा सिमेन्ट उद्योग स्थापना भएर भारतीय बजारमा निर्यात हुने भण्डारीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *