के हो एनपीएलको नाम विवाद ? क्यान भन्छ- भ्रम फैलाउने काम भयो – Nepal Press

के हो एनपीएलको नाम विवाद ? क्यान भन्छ- भ्रम फैलाउने काम भयो

काठमाडौं। नेपाल प्रिमियर लिग-एनपीएलको नामलाई लिएर यतिबेला नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध आमिर अख्तर उत्रिएका छन्। नेपाल प्रिमियर लिग प्राली आफ्नो नाममा रहेको भन्दै उनले मङ्गलवार क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।

त्यसमार्फत उनले आग्रह गरेका छन्- मसँग सहमति गरेर क्यानले नेपाल प्रिमियर लिग प्राली नामसारी गरोस्। अख्तरले त्यसका लागि एक साताको समय दिएका छन्।

क्यान भने आमिरको यो ध्यानाकर्षण पत्रलाई वास्ता गर्नेतर्फ देखिएको छैन। क्यान प्रवक्ता छुम्मी लामा नेपाल प्रिमियर लिग प्राली नामसारी गर्नुपर्ने आवश्यकतै नरहेको बताए।

‘क्यान नेपाली क्रिकेटको सर्वोच्च संस्था हो। यो खेलकुद ऐनअनुसार चलेको छ। यसले विभिन्न नाम राखेर प्रतियोगिताहरू आयोजना गर्न सक्छ। ती प्रतियोगिता गर्न कुनै कम्पनी खडा गर्नुपर्दैन’, उनले भने, ‘नेपाल प्रिमियर लिग प्रालि कम्पनी ऐनमा दर्ता भएको नाफामुखी संस्था हो। उसले आफ्ना गतिविधि कम्पनी ऐनअनुसार गर्छ। त्यसैले नेपाल प्रिमियर लिग र नेपाल प्रिमियर लिग प्राली दुई फरक विषय हुन्।’

उनले क्यान गैह्र नाफामुखी संस्था भएको उल्लेख गर्दै कुनै प्रतियोगिताको नाम राखेर कम्पनी दर्ता हुँदैमा क्यानलाई सोही नाम राखेर प्रतियोगिता आयोजना गर्न फरक नपर्ने बताए।

‘जस्तो एनपीएलमा पोखरा एभेन्जर्सको कम्पनी नेपाल टी-२० प्राली रहेको छ। अब नेपाल टी-२० प्राली छ भनेर क्यानले नेपाल टी-२० लिग गर्न नपाउने भन्ने हुँदैन। यो भ्रम फैलाउने मात्र काम हो’,उनले भने।

आमिरले सन् २०१४ मा नेपाल प्रिमियर लिग आयोजना गरेका थिए। उक्त प्रतियोगिता नेपाल प्रिमियर लिग प्रालीले गरेको थियो जसका एकल सञ्चालक आमिर हुन्। तर नेपाल प्रिमियर लिगको नाममा क्यानले मात्र प्रतियोगिता आयोजना गर्न पाउने भन्दै विवाद उठेपछि आमिरले प्रतियोगिताको नाम फेरेर एभरेस्ट प्रिमियर लिग (ईपीएल) राखेका थिए।

यतिबेला आमिर कानुनी उपचार खोज्ने चेतावनी दिइरहेका छन्। क्यान भने आगामी मंसिर १६ देखि एनपीएल आयोजना गर्ने तयारीमा छ।

क्यानले एनपीएल पहिलोपटक आयोजना गर्न लागेको हो। गत वर्ष आयोजना भएको नेपाल टी-२० विवादमा आएको थियो।

स्पट फिक्सिङ विवादपछि क्यानले आयोजना अधिकार दिएक भारतीय कम्पनीमा बीचमा छाडेर फर्किएका थिए। क्यानको नयाँ नेतृत्वले यसपटकदेखि एनपीएल नाममा प्रतियोगिता आयोजना गर्न लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *