‘बेहुली फ्रम मेघौली’ अब ओटीटीमा हालिने, हलबाट उतार्ने निश्चलको घोषणा – Nepal Press

‘बेहुली फ्रम मेघौली’ अब ओटीटीमा हालिने, हलबाट उतार्ने निश्चलको घोषणा

काठमाडौं । दुई साताअघि रिलिज भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ लाई हलबाट उतार्ने घोषणा निर्माता÷निर्देशक निश्चल बस्नेतले गरेका छन् । दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको यो चलचित्र अब ओटीटीमा हाल्ने उनको तयारी छ ।

पहिलो साता राम्रो व्यापार गरेको चलचित्रले दोस्रो सातामा उल्लेख्य शो पाउन सकेको थिएन । फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएपछि ‘बेहुली फ्रम मेघौली’ हेपाइमा परेको हो । अहिले हलहरूले न्यून संख्यामा यो चलचित्रलाई शो दिएका छन् । पाएका शोहरुमा अकुपेन्सी राम्रो छ ।

पर्याप्त शो पाउन नसकेपछि यसअघि बस्नेतले हलहरूप्रति असन्तुष्टि जनाएका थिए । हिन्दी चलचित्रलाई स्थान दिएर आफ्नो चलचित्र पन्छाइएको उनको गुनासो थियो । आज उनले अर्को स्टाटस लेख्दै अब हलमा नलगाउने बताएका छन् ।

उनले लेखेका छन्, ‘हाम्रो चलचित्रलाई हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद । सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्सलाई धेरै धेरै धन्यवाद । भोलिबाट हाम्रो फिल्म नेपालको सबै हलमा नलगाउने निर्णय गरेका छौं ।’

उनले अब ओटीपीको समस्या समाधान गर्दै एमएसएम भिडिओमा चाँडै भेट्ने बताएका छन् ।

निश्चलका अनुसार अमेरिका, जापान, क्यानडा र सिंगापुरमा यो एप उपलब्ध नहुने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर