४ प्रतिशतभन्दा धेरैले घट्यो मूल्यवृद्धि – Nepal Press

४ प्रतिशतभन्दा धेरैले घट्यो मूल्यवृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार समग्रमा मूल्यवृद्धि घटेको छ । तरकारी, फलफूल र खाद्यान्नको भने मूल्यवृद्धि भएको छ ।

२०८१ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि ३.८५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.१९ प्रतिशत रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष ४.३४ प्रतिशतले मूल्यवृद्धि घटेको हो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.०३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.७७ प्रतिशत र ७.१९ प्रतिशतले वृद्धि भएको थियो ।

दाल तथा गेडागुडी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.८० प्रतिशत, तरकारीको ९.८४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३४ प्रतिशत र फलफूलको ४.९४ प्रतिशतले बढेको छ । भने, मरमसला उप-समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.६९ प्रतिशतले घटेको छ ।

गैर-खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.७१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.७६ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०८ प्रतिशत मूल्य वृद्धि भएको छ । भने, घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.०४ प्रतिशतले बढेको छ । भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.७८ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६६ प्रतिशत, मधेश प्रदेशको ३.८२ प्रतिशत, बागमती प्रदेशको ३.२९ प्रतिशत, गण्डकी प्रदेशको ३.५० प्रतिशत, लुम्बिनी प्रदेशको ३.५३ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.९० प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४९ प्रतिशत, तराईको ४.०९ प्रतिशत, पहाडको ३.६१ प्रतिशत र हिमालको ४.१९ प्रतिशत रहेको छ ।

२०८० भदौ महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत, ७.०३ प्रतिशत, ८.०९ प्रतिशत र ११.३२ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *