मामा ससुरा वडाध्यक्षलाई कावा दिएर हर्क साम्पाङ सपरिवार लन्डनमा, उपमेयर अदालत जाँदै – Nepal Press

मामा ससुरा वडाध्यक्षलाई कावा दिएर हर्क साम्पाङ सपरिवार लन्डनमा, उपमेयर अदालत जाँदै

विराटनगर । आफूलाई ‘बाइपास’ गरेर नातेदार वडाध्यक्षलाई कार्यवाहक दिने मेयर हर्क साम्पाङको निर्णयविरुद्ध उपमेयर आइन्द्रविक्रम बेघाले कानूनी उपचार खोज्ने भएका छन् । साम्पाङले आफू हुँदाहुँदै गैरकानूनीरूपमा वडाध्यक्षलाई जिम्मेवारी दिएको भन्दै अदालत जाने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘कार्यवाहक अरूलाई दिएको विषयमा भन्दा पनि कानूनविपरीत मेयर साम्पाङले गरेको कामलाई लगाम लगाउन अदालत जाने तयारी गरेको हो । अदालत खुलेपछि रिट हाल्छु ।’

‘स्थानीय सरकार सञ्चालन ऐन दफा १६ ,उपदफा ४ (क) को (१२) बमोजिम धरान उपमहानगरपालिकाको कार्यवाहक प्रमुख म हुँ’, उपमेयर बेघाले भने ।

उपप्रमुख बेघाले नगर प्रमुख साम्पाङले कुन दफा र उपदफा बमोजिम कार्यवाहक दिए, त्यो आफूलाई थाहा नभएको बताउँदै कानूनतः कार्यवाहक प्रमुख आफू भएको बताए ।

उनले भने ‘मेयर सा’ब उपमहानगरपालिका नआइन्जेल विधि र कानूनअनुसार सम्पूर्ण कार्यभार म आफैँ सम्हाल्ने छु ।’

यो पनि पढ्नुहोस्- हर्क साम्पाङले उपमेयरलाई ‘बाइपास’ गर्दै वडाध्यक्षलाई कावा दिएकाे पत्र- यस्ता छन् ५ सर्त

नेपालको संविधान २०७२ को भाग १७ को स्थानीय कार्यपालिका गठनसम्बन्धी धारा २१४ देखि २३० सम्म व्यवस्था भए बमोजिम स्थानीय सरकार गठन भएकोले कानूनतः गाउँपालिका र नगरपालिकामा अनुपस्थित भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा उपप्रमुखले कार्यभार सम्हाले प्रस्ट लेखिएको उनले स्मरण गरे ।

उपप्रमुख बेघाले भने ‘नैतिकता र कानूनी प्रश्नले सिङ्गो संस्थालाई विवादित बनाएको छ ।’ यसले सिङ्गो उपमहानगरपालिका र नगरबासीलाई समेत हित नगरेको उनको भनाइ छ ।

विधिको शासन कायम गर्न २० वटै वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यसहित प्रशासकीय अधिकृत र सबै महाशाखा प्रमुखहरूलाई अनुरोध पत्र पठाइएको उनले बेघाले जानकारी दिए ।

धरान उपमहानगरपालिका मेयर साम्पाङले वडा ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर श्रीमती र छोरासहित बेलायत उडिसकेका छन् । फागो हर्कका मामा ससुरासमेत हुन् ।

सुम्निमा-पारुहाङ्गको प्रतिमा निर्माणको सहयोगार्थ धरान समाज युके र प्रतिमा निर्माण अभियानको निमन्त्रणमा उनी लन्डन गएका हुन् । साम्पाङ परिवार तिहार मनाएरमात्रै नेपाल फर्कने बताइएको छ ।

मामा ससुरालाई कार्यवाहक दिएर मेयर बेलायत उडेपछि धरानका निवर्तमान मेयर तिलक राईले विरोध जनाएका छन् । उनले आज बिहान पत्रकार सम्मेलन गरी धरानमा विधिको शासन हराएर गएको भन्दै चिन्ता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर