बदलिँदो परिवेशअनुसार बलियो बनाउन प्रहरी संगठनकाे रुपान्तरण जरुरी: मुख्यमन्त्री आचार्य – Nepal Press

बदलिँदो परिवेशअनुसार बलियो बनाउन प्रहरी संगठनकाे रुपान्तरण जरुरी: मुख्यमन्त्री आचार्य

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

६९औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समयअनुसार प्रहरी संगठनलाई प्रविधियुक्त बनाउँदै रुपान्तरण आवश्यक रहेको बताएका हुन् ।

‘अपराधहरु बढेर गएका छन् । चुनौतीहरु थपिएका छन् । हाम्रो प्रहरी संगठन बदलिँदो परिवेशअनुसार आफूलाई पनि रुपान्तरण गरेर जनहितको रक्षाको निम्ति केन्द्रित गरेर अघि बढ्नुपर्नेछ’, उनले भने, ‘प्रहरीले मुलुकमा शान्ति सुरक्षा कायम गर्न, बढदो अपराधलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बदलिँदो परिवेशअनुसार समाजमा हुने अपराध न्यूनीकरण गर्न आधुनिकीकरण गरेर अघि बढ्न जरुरी छ ।’

अपराध अनुसन्धानको क्षेत्रमा प्रहरीको योगदानका कारण लुम्बिनी प्रदेशको शीर उँचो बनेको मुख्यमन्त्री आचार्यले बताए ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले अमर प्रहरीको स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायम गर्न, विपद् व्यवस्थापनलगायतका काममा प्रहरीले सफलता प्राप्त गरेको बताए ।

सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको कार्यक्रममा प्रहरी स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर