भिसा पर्खाइको व्यग्रताबीच सन्दीपको सांकेतिक स्टाटस – Nepal Press

भिसा पर्खाइको व्यग्रताबीच सन्दीपको सांकेतिक स्टाटस

क्यान स्रोतले भन्यो- लिग २ सुरू हुनुअगाडि सन्दीप अमेरिका पुग्नेमा विश्वस्त छौं

काठमाडौं । नेपालले अमेरिकामा पर्सीबाट त्रिकोणात्मक टी-२० र र त्यसपछि एकदिवसीय सिरिज खेल्दैछ । तर, टीमका प्रमुख स्पिनर सन्दीप लामिछाने नेपालमै छन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए । अहिलेसम्म पनि उनलाई अमेरिकी दूतावासले भिसा दिएको छैन । सन्दीपले सामाजिक सञ्जालमा आफ्नो व्यग्रतालाई सांकेतिकरुपमा पोखेका छन् ।

उनले लेखेका छन्, ‘परिस्थितिहरू नियन्त्रण बाहिर ।’

नेपाली टोली क्यानाडा प्रस्थान गर्नुअघि अमेरिकाको समेत भिसा लिएका थिए । त्यसबेला दूतावासले सन्दीपको भिसा आवेदनलाई ‘होल्ड’ मा राखेको थियो । सन्दीपले अमेरिकी दूतावासबाट पासपोर्ट फिर्ता लिएर क्यानाडा उडे । त्यहाँ नेपालले विश्वकप लिग २ र टि २० सिरिज खेलेको थियो ।

क्यानाडाको खेलहरू सकिएर नेपाली टीम अमेरिका लाग्यो भने सन्दीप नेपाल फर्किए । नेपाल आउँदा दशैँको बिदा भएकाले भीसाको प्रक्रिया अघि बढ्न सकेन । हिजोबाट दूतावास खुलेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार सन्दीपले भीसा पाउने सम्भावना समाप्त भइसकेको छैन ।

स्रोतले भन्यो, ‘हामीलाई लाग्दैन कि यसपटक भिसा अस्वीकार गरिनेछ । अस्वीकार गर्नुपर्ने कुनै कारण नै छैन ।’

यसअघि सन्दीपको मुद्दा सर्वोच्च जान सक्ने कारण देखाएर दूतावासले अल्झाइरहेको थियो । तर, केही दिनअघि मात्रै महान्यायाधीवक्ता कार्यालयले उच्च अदालतको फैसलालाई चित्त बुझाएर सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय लिइसकेको छ । यससँगै सन्दीपको मुद्दाको फाइल पूर्णरुपमा बन्द भएकाले दूतावाससँग भीसा रोक्नुपर्ने कारण छैन ।

दूतावासले सन्दीपलाई अन्तर्वार्ताका लागि केही दिनपछिको समय दिएको क्यान स्रोतले बतायो । अन्तर्वार्ताको डेट अगाडि सार्न प्रयास भइरहेको स्रोतको भनाइ छ ।

नेपालले अमेरिकामा पहिले त्रिकोणात्मक टी-२० सिरिज र त्यसपछि लिग २ को सिरिज खेल्ने तालिका छ । टी २० सिरिज स्थानीय समयअनुसार १७ अक्टोबर रातिबाट (नेपाली समयअनुसार पर्सी बिहान) सुरू हुन्छ । सन्दीप टी-२० सिरिजमा उपलब्ध हुन सकेनन् भने पनि लिग २ मा भने नेपाल उनलाई मिस गर्न चाहँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर