बुटवल-गोरुसिंगे सडक विस्तारमा ढिलाइ: सात हजारभन्दा बढी रुख व्यवस्थापन मुख्य चुनौती – Nepal Press

बुटवल-गोरुसिंगे सडक विस्तारमा ढिलाइ: सात हजारभन्दा बढी रुख व्यवस्थापन मुख्य चुनौती

रुपन्देही । पूर्वपश्चिम राजमार्गअन्तर्गत बहुप्रतिक्षित बुटवल-गोरुसिंगे सडक विस्तारको काम तिहारपछि मात्रै सुरु हुने भएको छ । यो क्षेत्रमा रहेका करिब ७ हजार रुखको व्यवस्थापन कसरी गर्ने भन्ने टुंगो नलाग्दा सडक विस्तारमा ढिलाइ हुँदै आएको छ ।

राजा महेन्द्रको पालामा बनेको सडकको ६२ वर्षपछि स्तरोन्नति गर्न लागिएको हो । यसपछि दोस्रो चरणमा चन्द्रौटा र पछि कोहलपुर तथा त्यहाँभन्दा पनि पश्चिमसम्मै चरणबद्ध रूपमा राजमार्ग विस्तार गर्ने लक्ष्य छ ।

बस्ती विस्तारको क्रममा रहेको रुपन्देही र कपिलवस्तुका मुख्य पालिकामा पर्ने यो सडक छेउमा रहेका धेरै पुराना रुखहरु काटिने चिन्ता स्थानीयमा परेको छ । चर्को गर्मीमा बाटो छेउमा रहेका वर, पिपलसहित धेरै पुराना रुखहरुसहित सात हजारभन्दा बढी रुख काटिने भएपछि पाका पुस्ता र वातावरणविद्ले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले यी रुखहरु बाटोको बीचमा पनि नपर्ने भएकाले सकेसम्म मिलाएरै बाटो बनाउनुपर्ने र त्यो गर्न नमिल्ने रुखहरुलाई नयाँ प्रविधिको प्रयोग गरेर अन्यत्र व्यवस्थापन गर्नुपर्ने सुझाएका छन् ।

वातावरणविद्हरूले ठूलो संख्यामा रुख कटान हुँदा यो क्षेत्रको वातावरण सन्तुलनमा समेत असर पुग्ने औंल्याएका छन् । उनीहरुले यसको विकल्प खोज्नुपर्ने आवाज उठाए पनि ५० किलोमिटर सडक खण्डभित्र अन्ततः सात हजारभन्दा बढी रुख काटिने भएको छ ।

शहरी सडक क्षेत्रमा हुर्केका रुख बचाउने उपाय खोज्ने विषयमा वन तथा भूसंरक्षण विभागमा छलफल भए पनि अहिलेसम्म त्यस्तो प्रावधानको कार्यान्वयन भने भएको छैन । वर, पिपल, समी, आँप, सिमल, कदमलगायतका रुख बचाउनुपर्नेमा वातावरणविद्को जोड छ ।

वातावरणविद् युवराज कँडेल विकासको नाममा हुने यस प्रकारको विनाशको तत्काल विकल्प खोजिनुपर्ने बताउँछन् । विकसित मुलुकहरूले रुखहरू जोगाएर विकास गर्ने गरेको भन्दै उनले त्यसको सिको नेपालमा पनि गर्न जरुरी रहेको बताए ।

‘धेरै लामो समय लागेर हुर्केका र निकै महत्व राख्ने यस्ता रुख संरक्षणको नीति बन्नै सकेन, विदेशमा पनि विकास धेरै भएका छन्, तर यस्ता महत्वपूर्ण रुखहरु संरक्षण गरिएका हुन्छन्, रुखहरू जोगाएर पनि विकास गर्न सकिन्छ भन्ने भावनाको विकास नै हुन सकेन, विकास भनेकै पर्यावरण मास्ने जस्तै सोच भएको छ, पुर्खाले कसरी जोगाएका थिए भन्ने नै भएन’, उनले भने ।

अहिले बुटवल-चन्द्रौटा सडक दुई लेनको छ । यो विस्तार गर्दा सात हजार बढी रुख काटिने भए पनि त्यी रुखहरू बचाउनतर्फ कसैले चासै नदिएकोले चिन्ता बढेको अध्यापक वसन्तराज खनाल बताउँछन् ।

‘धेरै दशकदेखि अहिले बन्ने बाटो क्षेत्रमा हामी हिँडेका छौं, गर्मीमा यी रुखहरुले कति न्याय गर्छ भन्ने स्थानीयलाई नै जानकारी छ, विकसित देशहरुमा सडक छेउका रुखहरु बचाएर बाटो बनाएको हामीले पनि देखेका छौं, कम्तीमा मुख्य ठूला गाडी नचल्ने बाटो छेउका रुखहरु बचाऔं, हटाउनै परे जरैबाट निकालेर कतै व्यवस्थापन गरौं, यस्तै रुख बनाउन अर्को शताब्दी कुनुपर्छ’, खनालले भने ।

बुटवल-गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका प्रमुख इन्जिनियर कुशलता न्यौपानेले सडक विस्तारका क्रममा सात हजार ७०० रुख कटान गर्नुपर्ने भएकाले वन विभागसँग अनुमति मागिएको बताइन् ।

‘रुख कटानको अनुमति माग गरिएको छ । अनुमतिपछि रुख कटान सुरू हुन्छ । सायद दशैंपछि हुन्छ होला’, उनले भनिन् ।

उनले सात हजारभन्दा बढी रुख कटान गर्ने भएकाले त्यसको सट्टा एक रुख बराबर १० रुख रोप्ने नीतिअनुसार ७० हजारभन्दा बढी रुख रोपिने बताइन् ।

सात हजार रुख काट्न लाग्ने खर्च, एक रुख काटे बराबर १० विरुवा रोप्ने र पाँच वर्ष संरक्षण गर्न लाग्ने खर्च पनि वन विभागलाई दिइने उनको भनाइ छ । यसका लागि लाग्ने सबै खर्च सम्बन्धित आयोजनाले वन विभागसँग समन्वय गरेर व्यहोर्नुपर्ने र यसका लागि करिब ४ करोड रुपैयाँ लागत अनुमान गरिएको उनले बताइन् ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि दुई प्याकेजमा विभाजन गरेर निर्माण गर्ने गरी १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा गत असार १३ गते ठेक्का सम्झौता भएको थियो । सडक क्षेत्रमा विद्युतका पोल सार्ने प्रक्रिया सुरु भइसकेको छ । सडक नाप गर्ने र अहिले ‘साइट क्लियर’ को प्रक्रिया चलिरहेको छ ।

पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुनेछ । आयोजनाका अनुसार १४९ कल्भर्ट र ६ वटा ‘अन्डर पास र ओभर पास’ निर्माण हुनेछ । सडक विस्तारको काम शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा साढे ३७ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुनेछ ।

चुरे क्षेत्र नजिक र यो बाटोका दक्षिणमा पनि जंगल रहेकाले सडक खण्ड वन्यजन्तुमैत्री बनाइने भएको छ । वन्यजन्तु ओहोरदोहोर गर्नकै लागि १९ वटा पुल तथा क्रसिङ बनाइने आयोजनाको भनाइ छ । सालझण्डी-पिपरा जंगल क्षेत्र, कोइली-बनगाई गोरुसिङ्गे जंगल क्षेत्र, बडहरा-बेलगुडवा नदी क्षेत्रमा पुल र त्रसिङ बनाइने र ठूला वन्यजन्तु आवतजावतका लागि कोठी नदीमा ४२ मिटर लामो पुल बनाइने आयोजना प्रमुख न्यौपानेले बताइन् ।

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका २०७८ अनुसार वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु ओहोरदोहोर गर्नकै लागि सडकमा पुल र क्रसिङ बनाउन लागिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर