उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएपछि धरानमा विवाद, यस्तो छ अदालतको नजिर – Nepal Press

उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएपछि धरानमा विवाद, यस्तो छ अदालतको नजिर

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले उपमेयर कार्यालयमा हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उनी विवादमा तानिएका छन् ।

उपमेयर आइन्द्रविक्रम बेघा कार्यकक्षमा रहेकै बेला वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक दिएर बेलायत गएपछि मेयर साम्पाङको आलोचना भएको छ ।

उनले बेलायत जाने क्रममा अवैधानिक रूपमा ११ नं वडा अध्यक्ष फागोलाई कार्यवाहकको पत्र थमाएकोप्रति धरानमा नेपाली कांग्रेसबाहेकका ५ राजनीतिक दलले आपत्ति जनाएका छन् ।

धरानमा क्रियाशील ५ राजनीतिक दलले विज्ञप्ति निकाल्दै मेयर साम्पाङले अत्यन्तै नीच कार्य गरेको ठहर गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ (क) १२ मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका अध्यक्ष वा नगरपालिकाका प्रमुख अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने स्पष्ट व्यवस्था रहेको छ ।’

विज्ञप्तिमा नेपाली कांग्रेसले भने हस्ताक्षर गरेको छैन । विज्ञप्तिमा भनिएको छ,‘ नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक मूल्य र मान्यता मान्ने पार्टीबाट निर्वाचित वडा अध्यक्षले आफ्नै पार्टीसहितले बनाएको संविधान र कानूनविपरीत सर्तसहित केवल थपनामात्रको कथित कार्यवाहकको जिम्मा लिनु आश्चर्यजनक भएको छ ।’

यस्तो छ अदालतको नजिर

यसअघि झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले वडा अध्यक्षलाई कार्यवाहक दिएको विषयमा परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका तत्कालीन न्यायाधीश सोमकान्त मैनालीको इजलासले गाउँपालिका अध्यक्षको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । २०८० भदौ ५ गतेको आदेशमा गाउँपालिकाका अध्यक्षको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ । अदालतको आदेशसँगै गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले स्वतः कार्यवाहक पाएकी थिइन् ।

अध्यक्ष हुकुमसिंह राईले वडा अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए । उनले उपाध्यक्ष हुँदाहुँदै कार्यवाहकको जिम्मेवारी वडाध्यक्ष सुब्बालाई दिएपछि उपाध्यक्ष न्यौपाने अदालत गएकी थिइन् । उनले २०८० साल भदौ १ गते उच्च अदालतमा रिट हालेकी थिइन् ।

याे पनि पढ्नुस् : मामा ससुरा वडाध्यक्षलाई कावा दिएर हर्क साम्पाङ सपरिवार लन्डनमा, उपमेयर अदालत जाँदै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर