बम राखिएको हल्लापछि भारतीय आकाश एयरको विमान ‘डाइभर्ट’ – Nepal Press

बम राखिएको हल्लापछि भारतीय आकाश एयरको विमान ‘डाइभर्ट’

बेङ्गलोर । भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी बेङ्गलोरका लागि उडेको विमानमा बम राखिएको चेतावनीपछि बुधबार एक भारतीय यात्रुवाहक विमानलाई ‘डाइभर्ट’ गरिएको छ ।

भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी शहर बेङ्गलोरका लागि उडेको आकाश एयरको विमानलाई ‘सुरक्षा सतर्कता’ प्राप्त भएको र ‘सावधानी’ का रूपमा विमानलाई दिल्ली फर्कन आदेश दिइएको थियो ।

विमानस्थलको आपतकालीन टोलीले विमानलाई निगरानी गरेको र क्याप्टेनले दिल्लीमा सुरक्षित अवतरणका लागि आवश्यक सबै आपतकालीन प्रक्रियाको पालना गरेको आकाश एयरले जनाएको छ ।

विमानमा तीन शिशुसहित १८४ जना सवार रहेको एयरलाइन्सले जनाएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । स्थानीय सञ्चारमाध्यम र एयरलाइन्सले यस हप्ता कम्तीमा पनि ६ वटा यस्ता चेतावनी आएको जनाएका छन् ।

मङ्गलबार पनि एयर इन्डिया एक्सप्रेसको विमानमा बम हुनसक्ने इमेलमार्फत चेतावनी दिएपछि सिङ्गापुरको लडाकु विमानले एयर इन्डिया एक्सप्रेसको विमानलाई सुरक्षा प्रदान गरेको थियो ।

मङ्गलबार राति चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गर्नुअघि दुई वटा एफ–१५ जेट विमानलाई ‘जनघनत्व भएको स्थानबाट टाढा’ सुरक्षा प्रदान गर्न तैनाथ गरिएको थियो ।

एयर इन्डियाले नयाँदिल्लीबाट शिकागोका लागि उडेको आफ्नो एउटा विमानलाई क्यानडामा आपतकालीन अवतरण गर्नुपरेको बताएको छ । त्यो विमान पनि सकुशल अवतरण भएको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार साउदी अरबको जेद्दाह र ओमानको मस्कटका लागि उडान भर्ने दुई उडानका बारेमा भारतको कम लागतको अपरेटर इन्डिगोलाई पनि यसै साता यस्तै हल्ला प्राप्त भएको थियो । -रासस/एएफपी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर