यसपालि साफ च्याम्पियन बन्ने कप्तान एन्जिलाको विश्वास, भन्छिन्- मेहनत खेर जान दिँदैनौं (भिडिओ) – Nepal Press
महिला साफ च्याम्पियन

यसपालि साफ च्याम्पियन बन्ने कप्तान एन्जिलाको विश्वास, भन्छिन्- मेहनत खेर जान दिँदैनौं (भिडिओ)

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताएकी छन् ।

नेपालले तेस्रोपल्ट महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ । बिहीबारदेखि घरेलु मैदानमा हुने साफ च्याम्पियनसिपमा नेपाली टोलीकी कप्तान तथा गोलकिपर एञ्जिलाले च्याम्पियन हुने लक्ष्य रहेको बताइन् ।

 

सबै टोली मेहनत गरेर च्याम्पियन बन्नकै लागि आएपनि यसपल्ट आफ्नो टोली सन्तुलित र बलियो रहेको विश्वास जनाइन् । कप्तान एञ्जिला यसपल्ट आफ्नो टोलीको मेहनत खेर नजानेमा आशावादी देखिएकी छन् । च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तान भिँड्दैछन् ।

आयोजक नेपालले भने शुक्रबार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको शुरूवात गर्दैछ । पहिलो लक्ष्य समूहचरणका खेलमा राम्रो गर्नु रहेको बताउँदै उनले साफको तयारीका लागि समय छोटो भए पनि घरेलु लिगले मद्दत पुग्ने विश्वास जनाइन् ।

डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने र यसमा राम्रो गर्नसके टोलीमा सुधार आउने कप्तान एन्जिलाको भनाइ छ ।

प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताए । फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको भन्दै उनले यसबीच केही स्ट्राइकरहरू पनि विदेशमा रहेकाले टीममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिले पनि प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको बताए ।

पाँच पटक साफको फाइनल खेले पनि उपाधिमा चुक्नुको मुख्य कारण डिफेन्समा कमजोरी रहेको उनको बुझाइ छ । यसको सुधारका लागि खेलाडीहरू पनि थप सजक हुनुपर्ने तामाङले बताए । तथापि, यसपल्ट डिफेन्समा सुधार भएको उनले जिकिर गरेका छन् ।

बंगलादेशकी कप्तान सविना खातुनले पनि यस च्याम्पियनसिपका लागि खेलाडीले धेरै मेहनेत गरेको र टोली सन्तुलित रहेकाले सुखद् प्रदर्शन गर्नेमा आशावादी देखिइन् ।

भारतकी कप्तान आशालताले पनि राम्रो तयारी गरेको बताएकी बताइन् । टोलीमा अनुभवी र युवा खेलाडी रहेको भन्दै उनले केही अन्तर्राष्ट्रिय प्रतिष्पर्धा पनि गरेकाले सुखद् नतिजाको आशा जनाइन् । माल्दिभ्सका प्रशिक्षकले प्राप्त अवसरअनुसार राम्रो तयारी गरेको र आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

प्रतिस्पर्धी अन्य देशका कप्तान र प्रशिक्षकले पनि आफूलाई बलियो रूपमा मैदानमा उतार्ने बताएका थिए ।

च्याम्पियनसिमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेश गरी ७ राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । कुल ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलंका माल्दिभ्स र भुटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साबिक विजेता बंगलादेशले प्रतिर्पर्धा गर्ने तय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *