संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल, दुईतिहाइको सरकार कामचलाउ जस्तो भएको दाबी – Nepal Press

संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल, दुईतिहाइको सरकार कामचलाउ जस्तो भएको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन अपिल गर्दै सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गरेको छ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिन पूरा गरेलगत्तै रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक विषयहरुबारे तत्काल छलफल गर्न आवश्यक देखिएकाले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन अपिल गरेका छन् ।

उनले दुईतिहाइको सरकार कामचलाउ जस्तो भएकोसमेत दाबी गरेका छन् ।

सरकारको तीन महिने अवधि पूर्ण मूल्यांकनको आधार नभए पनि यसबीचमा घोषित प्रतिबद्धताहरु पूरा गर्नेतर्फ सरकारले प्रारम्भिक संकेतसम्म देखाउन नसकेको रास्वपाको निष्कर्ष छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विपद्को पूर्वतयारीमा चुकेको सरकार व्यवस्थापनमा पनि असफल भएको छ । मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौं मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको दरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको छ । संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुनेगरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा थियो, तर उक्त विषय अहिले ओझेलमा पारिएको छ ।’

संवादहीनतामा लोकतन्त्र फस्टाउन नस्क्ने भन्दै रास्वपाले शिथिल अर्थतन्त्र, कमजोर विपद् व्यवस्थापन, उकुसमुकुसपूर्ण सामाजिक परिस्थिति र युवाहरुमाझ निराशा फैलिएको बेला नागरिक समाज र जनप्रतिनिधिहरु मौन बस्न नमिल्ने औंल्याएको छ ।


प्रतिक्रिया

One thought on “संसदको विशेष अधिवेशन बोलाउन रास्वपाको अपिल, दुईतिहाइको सरकार कामचलाउ जस्तो भएको दाबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *