जीतगढीमा ऐतिहासिक सरायँ नाच, सेनाको टुकटीद्वारा युद्धकला प्रदर्शन – Nepal Press

जीतगढीमा ऐतिहासिक सरायँ नाच, सेनाको टुकटीद्वारा युद्धकला प्रदर्शन

रुपन्देही । बुटवल उपमहानगरपालिका- १३ जीतगढीमा पहाडी क्षेत्रमा दसैँपछि नाचिने परम्परागत सरायँ नाच प्रदर्शन गरिएको छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दसैँको अन्तिम दिन पूर्णिमामासम्म खेलिन्छ ।

सरायँ व्यवस्थापन समिति बुटवल- १३ ले बुधबार व्यवस्थित रुपमा सरायँ नाच प्रदर्शन गरेको हो । यो स्थानमा २०७० सालदेखि समितिले नियमित रुपमा सरायँ प्रदर्शन गर्दै आएको संस्थाका संस्थापक ऋषि आजादले बताए ।

समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक एवं लोपोन्मुख नाच संरक्षणका लागि सरायँलाई नियमित गरिएको बताए । विसं २०७० सालदेखि गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठानबाट बसाइसराइ गरी बुटवल आएकाहरुको पहलमा सरायँ नाच संरक्षण गर्ने उद्देश्यले बर्सेनि यो कार्यक्रम राखिएको अध्यक्ष थापाले बताए ।

सरायँ नाच संरक्षण गर्न बुटवल उपमहानगरपालिका र प्रदेश सरकारबाट सहयोग भएको उनको भनाइ छ ।

लुम्बिनी प्रदेशका उद्योग तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्घाटन गरेको कार्यक्रममा नेपाली सेनाको टुकडीले पनि सरायँ प्रदर्शन गरेको थियो ।

समितिका सचिव पिताम्बर भण्डारीका अनुसार दिउँसो १ देखि साँझ ५ बजेसम्म सरायँ नाच प्रदर्शन गरिएको बताए ।

सरायँ खेल्दा तरबार, खुकुरी आदि परम्परागत हातहतियारहरु नचाएर युद्धकला प्रदर्शन गर्दै एकापसमा खुसी साटासाट गर्ने र रमाइलो गर्ने गरिन्छ । सरायँ नाच विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुका कोट तथा शक्तिपीठहरूमा नाच्ने प्रचलन छ ।


प्रतिक्रिया

One thought on “जीतगढीमा ऐतिहासिक सरायँ नाच, सेनाको टुकटीद्वारा युद्धकला प्रदर्शन

Leave a Reply

Your email address will not be published. Required fields are marked *