नोबेल पुरस्कार विजेता आङ सान सुकीले सिफारिस गरेका नेपालका पाँच गन्तव्य प्याकेज – Nepal Press

नोबेल पुरस्कार विजेता आङ सान सुकीले सिफारिस गरेका नेपालका पाँच गन्तव्य प्याकेज

काठमाडौं । सन १९९१ सालको नोबेल शान्ति पुरस्कार पाउने म्यानमार (तत्कालीन बर्मा)कि नेतृ आङ सान सुकीबारेमा धेरै नेपालीहरू नचिनेको एक पक्ष छ । त्यो हो– उनी नेपालको पर्यटन पुस्तक लेख्ने लेखक पनि हुन् ।

उनले सन् १९८५ मा बेलायतबाट प्रकाशन गरिन् ‘लेट्स भिजिट नेपाल’ अर्थात् घुम्न जाउँ नेपाल । बुक प्रकाशन गृहबाट प्रकाशित उनको किताबमा नेपाली प्रकृति, संस्कृति, जनता र जीवनशैलीदेखि इतिहास अनि भविष्यसम्मका कुराहरू लेखिएका छन् ।

किताबमा सुकीले नेपाल विभिन्न गन्तव्यहरू भ्रमणको लागि सिफारिस गरेकी छिन् । भ्रमण योग्य भनेर चर्चा गरेकी छिन् । नेपाली पर्यटन क्षेत्रमा लेखिएका किताबहरूमा नोबेल पुरस्कार पाउनेले लेखेको किताब यही एक किताब हो । तर, यो किताबको नेपाली पर्यटन बजारमा खासै प्रचार भएको छैन ।

नेपाली पर्यटनकर्मी, पर्यटन उद्यमीले प्रचार गर्न सकेका छैनन् । पर्यटन पढाउने विद्यालय तथा कलेजहरूले पनि यसको खासै महत्त्व फैलाउन सकेका छैनन् । अरू त अरू नेपाल पर्यटन बोर्डले यो किताबलाई ब्रान्ड गरेर नेपाली पर्यटन गन्तव्यलाई बजारीकरण र व्यवसायीकरण गर्न सकेको छैन ।

मौलिकीकरण र मौद्रिकीकरण गर्न सकेको छैन । खैर, प्रचारमा कम आएता पनि किताबको सान्दर्भिकता अझै कमजोर भएको छैन । यसलाई पढ्दा अझै बासी नहुने धेरै कुराहरू किताबमा छन् ।

खासमा किताब पर्यटनको गन्तव्य चर्चा मात्रै नभएर समग्र नेपालको चर्चा भएको किताब हो । जातजाति, धर्म, भाषा, सभ्यता, सम्पदाहरूको मात्रै नभएर राजनीतिक मुद्दामा पनि किताबमा चर्चा गरिएको छ ।

पञ्चायतबारेमा जनताको बुझाइ सकारात्मक नभएको किताबमै लेखिएको छ । अन्तिम अध्यायमा भनिएको छ, ‘राजाको जनकल्याणको पवित्र विचार तथा जनताले देशको बारेमा बोल्न पाउने केहि अधिकारहरू भएता पनि त्यहाँ राजनीतिक असन्तोष धेरै छ । धेरै शिक्षित नेपालीहरू देशमा अझ लोकतान्त्रिक स्वरूपको सरकार हुनुपर्ने बताउँछन् । राजाले उनीहरूको साथ नलिए भविष्यमा राजनीतिक अवरोध हुनसक्छ ।’

उनै सुकीको किताबमा सुकिले चर्चा गरेका र घुम्न सिफारिस गरिएका नेपालका प्रमुख पर्यटन गन्तव्यहरू यी हुन्:
१. चितवन

नेपालमा चितवनबाहेक तत्कालीन समयमा भएका चार अरू राष्ट्रिय निकुन्जको चर्चा गरेकी छिन् सुकीले । जसमा सगरमाथा, रारा, डोप्ला र लाङटाङ छन् । उनले निकुञ्जहरू घुम्नको लागि मनसुन बाहेक अरू सबै मौसम सही भएता पनि अक्टोबर, नोभेम्बर र फेब्रुअरी सही समय भएको लेखेकी छिन् ।

उनले निकुञ्जबारेमा कुरा गर्दा चितवनलाई ‘नेपालको सर्वाधिक चिनिएको राष्ट्रिय निकुञ्ज’ उपमा दिएकी छिन् । उनले अहिले बन्द भएको तर, त्यो बेला सञ्चालनमा भएको निकुञ्ज चित्रको टाइगर टप्प लज पनि सिफारिस गरेकी छिन् ।

तस्बिर सामाजिक संजाल

२. जुम्ला, जोमसोम र आसपास

ट्रेकिङको लागि सुकिले रारा ताल भएको जुम्ला क्षेत्र पश्चिम नेपालको प्रमुख गन्तव्य भएको लेखेकी छिन् । यस्तै उनले कालीगण्डकी क्षेत्रको जोमसोम यात्राको पनि सिफारिस गरेकी छिन् । तर, यी क्षेत्रहरूमा यात्रा गर्दा धेरै महँगो हुने उनको कुरा छ ।

३. पोखरा प्याकेज

सुकीले पोखरा भ्रमण गर्न मात्रै नभएर पोखरा क्षेत्रका पोखरालाई आधार बनाएर हुने अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि आदिको ट्रेकिङ गर्न सुझाएकी छिन् ।

४. सोलु सफर

सुकीले सगरमाथा आधार शिविरको यात्रा गर्न सिफारिस गरेकी छिन् । तर, सन १९८० को दशकमा भएको लामोसाँघुबाट यात्रा सुरु हुने लेखेकी छिन् । अहिले त्यो रुटमा यात्रा छैन । सोलुमा तेङ्बोचे गुम्बा, लुक्ला र शेर्पा जीवनशैलीमा पनि उनले लेखेकी छिन् ।

५. काठमाडौँ उपत्यका र त्यहाँका तीर्थस्थलहरू

सुकीले काठमाडौं उपत्यका क्षेत्रका दक्षिणकाली, बुढानीलकण्ठ, चाँगुनारायण, पशुपतिनाथ, बौद्धनाम, स्वयम्भूनाथ, कृष्ण मन्दिर, कुमारी चोक, मञ्जु देवल, तलेजु भगवती, न्यातपोल लगायतको भ्रमण सुझाएकी छिन् ।

यस्तै काठमाडौँ, भक्तपुर र ललितपुर सबै स्थान घुम्न उनले सुझाएकी छिन् । नामकरणको सवालमा उनले काष्ठमण्डप नाम पछि कान्तिपुर भएको र क्रमशः काठमाडौं भएको उनले लेखेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *