वामदेवलाई फकाउँदै नेकपा एस, आज निर्णायक वार्ता – Nepal Press

वामदेवलाई फकाउँदै नेकपा एस, आज निर्णायक वार्ता

वामदेव भन्छन्- खबर छैन, आएमा कुरा गर्न तयार छु

काठमाडौं । नेकपा (एस) ले कम्युनिष्ट नेता वामदेव गौतमलाई आफ्नो पार्टीमा ल्याउनका निम्ति आज निर्णायक वार्ता गर्ने भएको छ ।

पार्टी जिम्मेवारीका निम्ति कार्यविभाजन गर्न गठित कार्यदलको बुधवार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । कार्यदल अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठन भएको छ । त्यसमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहितका सात पदाधिकारी छन् ।

उक्त पार्टीले बुधवार साँझ नेता गौतमसँग कुराकानी गर्ने निर्णय गरे पनि बिहीबार बिहानसम्म कसैले सम्पर्क नगरेको नेता गौतमले नेपाल प्रेसलाई बताए ।

‘म टीकोटालोमा व्यस्त थिएँ, थुप्रै फोन उठाउन पाएको थिएन’, उनले भने, ‘उहाँहरूसँग कुरा गर्नका लागि म जहिले पनि तयार नै छु ।’

कार्यविभाजनपूर्व पार्टीका असन्तुष्ट नेतासँग पनि बिहीबार नै छलफल गरिने उपाध्यक्ष प्रकाश ज्वालाले बताए । ‘उहाँहरूसँग कुरा टुंगिएपछि उहाँहरूको भावनालाई समेत समेटेर भोलि (शुक्रवार) कार्य विभाजन गर्ने कुरा भयो’, ज्वालाले बताए ।

२०७७ सालमा पार्टी विभाजनको शृङ्खला शुरु भएपछि पार्टी एकता राष्ट्रिय अभियानका नाममा अलग्गै समूह चलाउँदै आएका नेता वामदेव गौतमलाई नेकपा (एस) ले वरिष्ठ नेताका रूपमा पार्टीमा प्रवेश गर्न आग्रह गर्दै आएको छ ।

गौतमले जनताको बहुदलीय जनवाद, कार्यकारी तथा प्रत्यक्ष निर्वाचित सरकार प्रमुखजस्ता विषयमा लिखित प्रतिबद्धता माग गर्दै आएका छन् ।

‘उहाँसँग अध्यक्ष र सम्मानित नेताकै तहबाट कुरा हुन्छ’, ज्वालाले भने, ‘अबचाहिँ कुरा मिल्छ भन्ने संकेत पाइएको छ ।’

गत असारमा १० औँ महाधिवेशन सम्पन्न भएयता पार्टीभित्र चुलिएको विवादका कारण नेकपा (एस) ले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्य विभाजन गर्न सकेको छैन ।

कार्यविभाजनको विषय पेचिलो बनेपछि पार्टी अध्यक्षकै नेतृत्वमा कार्यदल बनाइएको दुई महिना बितिसक्यो । विभिन्न विभागको गठन, भौगोलिक तथा गैरभौगोलिक कमिटीका इञ्चार्ज, सहइञ्चार्जसहित जनसंगठनका इञ्चार्जहरु तोक्ने काम विवादका कारण रोकिँदै आएको हो ।

वामदेवको प्राथमिकतामा एस

गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्कीले उक्त अभियानले नेकपा (एस) सँग एकता गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताए ।

‘हामीले धेरै चरणमा कुराकानी गरिसक्यौँ’, उनले भने, ‘केही कुरा मिल्न बाँकी छन् ।’ उनले एकताका विषयमा आफूसँग उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपालले सीधै कुरा गर्ने गरेको बताए ।

एसको १० औँ महाधिवेशनमा पूर्ववामदेव समूहका नेतामध्ये हरि पराजुली झलनाथ खनाल र घनश्याम भुसालको पक्षमा उभिएको भन्दै अध्यक्ष नेपालले गौतमले पार्टीमा आएर आफूलाई साथ दिनुपर्ने शर्त राखेको कार्कीले बताए । ‘राजनीतिक र वैचारिक कुरामा वामदेव र झलनाथको कुरा त्यसै पनि मिल्दैन’, कार्कीले अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै सुनाए ।

यही कुरा कार्कीले गौतमलाई सुनाउँदा गौतमले अहिले केही नभन्ने प्रतिक्रिया दिएका थिए ।

‘पहिला तपाईंहरुभित्रको अन्तर्विरोध मिलाउनुस्, त्यसपछि हामी कुरा गर्न आउँछौँ’ भनी कार्कीले नेपाललाई जवाफ दिएको सुनाए । कार्कीले भने, ‘पार्टीभित्र आ-आफ्नो विचार राख्न सबै स्वतन्त्र हुन्छन्, हामी एसमा गयौँ भने त्यही कुरा गर्छौँ ।’

विचारका आधारमा एकता, एकतापछि जिम्मेवारीको व्यवस्थापन गरौँ भनी अध्यक्ष नेपाललाई बताएको उनले सुनाए ।

यससँगै माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिको दृष्टिकोणमा पनि प्रष्टता हुनुपर्ने माग कार्कीले अध्यक्ष नेपालसँग राखेको बताए ।

‘तपाईँ प्रचण्ड कमरेडसँग पछि लाग्नुहुन्छ, वामदेव कमरेड उहाँको पछि लाग्नु हुन्नँ’, नेपाललाई सुनाएको भन्दै कार्कीले बताए, ‘मिल्दा पहिलो प्राथमिकता एससँगै हो, त्यसपछि एमालेसँग हो ।’

नेकपा (एस) मा रहेका पूर्ववामदेव समूह भनी चिनिने पराजुलीबाहेक सबै नेता महाधिवेशनमा अध्यक्ष नेपालको पक्षमा थिए । केशवलाल श्रेष्ठ, बलराम बास्कोटा, सावित्रा भुसाल, प्रमेश पोखरेल, माधव पन्त, विश्वमणि सुवेदी, ताज मियाँसहित पूर्ववामदेव पक्षीय नेता अहिले पनि अध्यक्ष नेपालकै समूहमा छन् ।

अरूसँग पनि वार्ता चल्दैछः कार्की

कार्कीले पार्टी एकता राष्ट्रिय अभियानले नेकपा ९एमाले० र अशोक राई नेतृत्वको जसपासँग विभिन्न चरणमा वार्ता गरिसकेको बताए । ‘एमालेले मलाई बोलाइरहेको छ, कुराकानी भइरहेको छ’, कार्कीले भने, ‘अन्त जानुहुँदैन, हामीसँगै एकतामा आउनुस् भन्नुभएको छ ।’

जसपासँग तीन चरणमा कुरा भएको उनले बताए । ‘हामीचाहिँ विचार, दृष्टिकोणमा निकटता र हाम्रा अधिकांश पूर्वसहयोद्धा रहेका कारण समाजवादीलाई प्राथमिकतामा राख्छौं’, उनले भने ।


प्रतिक्रिया

One thought on “वामदेवलाई फकाउँदै नेकपा एस, आज निर्णायक वार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर