जहाज चढ्नुअघि फेसबुकमा हर्क साम्पाङका दर्जन पोस्ट : रातभरि निदाउन नसकेको गुनासो – Nepal Press

जहाज चढ्नुअघि फेसबुकमा हर्क साम्पाङका दर्जन पोस्ट : रातभरि निदाउन नसकेको गुनासो

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सपरिवार बेलायत प्रस्थान गरेका छन् । जहाज चढ्नुअघि उनले फेसबुकमा विभिन्न पोस्टहरूको वर्षा गरे ।

साम्पाङ तीन दिनअघि धरानबाट बिदाबारी भएर काठमाडौं आएका थिए । काठमाडौंमा उनले पशुपति मन्दिर, स्वयम्भू स्तुपा लगायत धार्मिकस्थल भ्रमण गरे । उनी हिजै कीर्तिपुरमा उममहेश्वर मन्दिर परिसर पुगेर सरसफाइमा जुटे । कीर्तिपुर शहर घुमघाम गरे ।

आज बिहान ५ बजेदेखि नै उनी फेसबुकमा सक्रिय बनेका छन् । उनले पहिलो पोस्ट बिहान ५ः२३ मा गरेका थिए ।

कीर्तिपुरवासीहरुसँग भलाकुसारी गरेका तस्बिरहरू हाल्दै उनले लेखका छन्, ‘सुन्दर कीर्तिपुर ! मिलनसार कीर्तिपुरवासी ! संस्कृतिले भरिएको शहर ! घुम्न जाने सबैको रहर ! छ’

५:४२ मा उनले उमामहेश्वर मन्दिर दर्शनको भिडिओ पोस्ट गरे ।

५ः४८ मा साम्पाङको स्टाटस आयो ।

उनले लेखेका छन्, ‘नेपालीको अघिल्तिर दुइटा बाटा छन् ! एउटा माटो छुने संस्कृति अर्थात् श्रम संस्कृतितर्फ जान्छ ! अर्को रोजीरोटीको खोजीमा विदेशतिर लाग्छ ! कुन बाटो रोज्ने आफै बिचार गर्नुहोला ! ढुङ्गे मेयर ढुङ्गे मेयर भनेर खिसी गरिनबस्नु !’

यो स्टाटस लेखिसकेर करिब एक घन्टा उनी शान्त बसे । सायद बिहानको नित्यकर्म भ्याए होलान् । त्यसपछि ६ः४५ मा आफ्नो एउटा फोटो पोस्ट गरे

त्यसको क्याप्सन यस्तो थियो:

अरूलाई पाप चिताउनेको दाहिने भगवान् कहिल्यै हुँदैनन् ! यति बुझ्नु ‘सबैको हित चिताउने मानिसलाई भगवानले सदैब साथ दिइरहन्छन् !’ जय मानव !

यो हालेको एक घण्टापछि साम्पाङको नयाँ स्टाटस खस्यो । त्यसमा उनले आफू रातभरि निदाउन नसकेको उल्लेख गरेका छन् ।

स्टाटस यस्तो छः

जनताको आँखामा देखिएको त्यो आशाको किरणलाई समेटेर सुनौलो प्रभात ल्याउने कसम खाएको एउटा सानो मान्छे रातभर सुत्न सकेन ! मनमा अनेकन् कुराहरू मडारिएर सुत्न दिएन ! लागियो एयरपोर्ट तर्फ !’

एयरपोर्ट पुगेर बोडिङ पास लिएपछि जहाज पर्खिँदै गर्दा साम्पाङले ८ः५९ मा एउटा फोटो पोस्ट गर्न भ्याए । त्यसमा उनले सबैसँग बिदा मागेका छन् । ९ः१४ मा उनले लगेज चेकका लागि लाइन लागेको भिडिओ सेयर गरे ।

फेरि ९ः२४ मा साम्पाङले अर्को फोटो र स्टाटस हाले ।

हाते माइक बोकेर ढुंगामा बसेको पुरानो फोटो हाल्दै उनले लेखेका छन्, ‘म जहाँ गए पनि एउटा आवाज बनेर जानेछु ! म जहाँ भए पनि एउटा आवाज बनेर बाँच्नेछु ! सुतेकालाई जगाउनु र सही मार्गमा लगाउनु मेरो स्वभाव छ !’

१०ः४५ मा साम्पाङको नयाँ पोस्ट आयो । उनले विमानस्थलमा श्रीमती र छोरासहित प्रतीक्षारत रहेको फोटो हाले । त्यसमा उनले लेखेका छन्, ‘उद्देश्य सहितको एउटा अनौठो यात्रा काठमाडौं टु दोहा टु लण्डन ! Waiting lobby at TIA 11:30 am, some minutes to go beforing boarding !’

त्यसको २० मिनेटपछि विमानस्थलभित्र छिर्दै गरेको भिडिओ पोस्ट गरेका छन् ।

त्यसपछि पनि उनी रोकिएनन् । जहाँजभित्र पस्नुअघि दुईवटा पोस्ट हाले । एउटा भिडिओमा पोस्टमा जहाज अगाडि उभिएर सानो ‘बाइट’ दिँदै उनले केही दिन विदेशिँदा जन्मभूमिलाई मिस गर्ने बताए । त्यसपछि श्रीमती र छोरासहित जहाज अगाडि उभिएको फोटो हालेका छन् ।

सायद यो समाचार प्रकाशित हुँदासम्म उनको जहाज उडिसकेको हुनेछ । दोहा एयरपोर्ट अवतरण नहुँदासम्म उनको फेसबुक शान्त रहन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *