आज कोजाग्रत पूर्णिमा : जानकी मन्दिरमा महोत्तरीबाट आइपुगे सयौं भार
जनकपुरधाम । कोजाग्रत पूर्णिमाको अवसरमा महोत्तरी रतौलीका एक परिवारले जानकी मन्दिरमा सयौं भार (कोसेली) पठाएको छ । रतौलीका स्वर्गीय महेन्द्र ठाकुरले सयौं वर्ष अगाडी कोजाग्रत पूर्णिमा मनाउन भार पठाउने परम्परा सुरु गरेका थिए ।
भार पठाउने परम्परालाई कायम राख्दै ठाकुरकै परिवारका तीन घरबाट यस वर्ष पनि भार पठाएको जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जानकारी दिए ।
उनका अनुसार स्व। ठाकुरको घरबाट दही च्यूरा, फलफूल र विभिन्न खालका मिठाई, पान र मखान सहितका परिकार तथा लत्ता कपडा कोसेलीको रूपमा आएको छ ।
दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ । वैवाहिक बन्धनमा बाँधिएका बेहुली पक्षबाट बेहुलाको घरमा भार ९कोसेली० पठाउने मिथिलामा चलन छ । सोही चलन अनुसार स्व। ठाकुरले माता सीतालाई छोरी मानेर जानकी मन्दिरमा आजको दिन कोसेली पठाउन सुरु गरेका थिए ।
कोजाग्रत पूर्णिमाको अवसरमा आज माता जानकीको विशेष पूजाअर्चना गर्ने तयारी छ । रतौलीबाट आएको कोसेली प्रसादको रूपमा चढाइन्छ । माता जानकीको प्रतिमालाई गर्भगृहबाट बाहिर निकालेर नाचगान र पूजा गर्ने परम्परा रहेको छ ।
आज बिहानैदेखि जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालु तथा भक्तजनको बिहानैदेखि भिडभाड छ । राति भगवान् राम र सीताको प्रतिमालाई जानकी मन्दिरबाहिर निकालेर गीतसंगीतका साथै पान, मखान र बतासा वर्षाउने गरिन्छ ।
त्रेता युगमा भगवान् श्रीकृष्णले यसै दिन रासलीला गरेको र यो दिनमा चन्द्रमा चकोरमा अमृत वर्षा हुने मान्यता पनि छ । त्यसैले मिथिलावासीहरू आजकै राति खीर बनाएर आफ्नो छतमा राखी बिहानपल्ट प्रसादको रूपमा खाने गर्छन् ।