सन्दर्भ जग्गादान : मीनबहादुरबाहेक सबै महान ? – Nepal Press

सन्दर्भ जग्गादान : मीनबहादुरबाहेक सबै महान ?

एकनाथ ढकालहरूलाई एमालेले पोस्दा जबजलाई ठेस लागेन, मीनबहादुरले एमालेलाई पोस्दा दुनियाँलाई बेस लागेन

नेकपा एमालेमा ‘चरी’ र ‘चाँचरी’ हरूको आवाज शून्य छ । केपी शर्मा ओलीले दशौँ महाधिवेशनमा ‘सर्वाधिकारसम्पन्न’ पार्टी नेतृत्वको थिति बसालेपछि त्यहाँका स्थायी कमिटी र पदाधिकारी पनि ‘ज्ञानी स्रोता’ का रूपमा विकास भएको वर्षौँ भयो । अध्यक्षज्यूबाट जे ‘कार्जे’ हुन्छ, एकबारको जूनीमा ‘थपडी बजाउनु’ नै उपयुक्त हुन्छ, नत्र भने गोकुल बाँस्कोटा र महेश बस्नेतजस्तो कुनै पनि बेला ‘लेफ्ट किक’ भेटेर ‘राइट कर्नर’ मा पनि उभिन नसक्ने भइन्छ भन्ने भेउ नपाउने अब कोही पनि छैनन् ।

सामाजिक सञ्जालमा जतिसुकै ‘दास’ वा ‘झोले’ को उपमा मिलोस्, ‘अध्यक्षज्यूबाट गजब भयो’ भन्दै स्तुति गाउनुबाहेक त्यहाँका असन्तुष्टको कुनै ओखती छैन । ओखती खोजे भीम रावलजस्तो ‘भ्याकुरखेदाइ’ मा परिन्छ भन्ने दिव्यज्ञान ज्ञात-अज्ञात नेतृत्वगणलाई ‘सुन्तलाको स्वाद’ मा घुटुघुटु पिलाएको प्रष्टै छ ।

यति भनेपछि सिधै विषयवस्तुमा जाउँ । भर्खरै कीर्तिपुरको मैत्रीटोलतिर एक अर्ब रूपैयाँ बराबरको जग्गामा नेकपा एमालेको ‘जबजालय’ बनाउन एक व्यापारीले जग्गा दिएछन् । जग्गामात्रै दिएनछन्, पार्टी कार्यालयको ‘भाटभटेनी’ स्टाइलकै आलिसान महल पनि बनाइदिने भएछन् ।

एमालेले दान गरेका विषयहरूमा यहाँहरूको बहस खोइ ? केका आधारमा मोरङे मोतीलाललाई मन्त्री बनाइयो ? केका आधारमा एकनाथ ढकाललाई सांसद दिइयो, केका आधारमा कमल थापालाई ‘सूर्यछाप उम्मेदवार’ बनाइयो ? केका आधारमा आफ्नो भागको गृहमन्त्री रवि लामिछानेलाई टक्र्याइयो ? यी सबै अभ्यासहरू सोह्रैआना ठिक हुन् भने मीनबहादुर गुरुङको दानले नेपाली पुँजीवादमा कहाँ कसरी खतरा आइलाग्छ ? यसले के हुन्छ ?

नेपाली कांग्रेसका द्वितीय महामन्त्री विश्वप्रकाश शर्माले एक दूरदर्शन च्यानलमा ‘सुपरिचित व्यापारी’ भनेर यसले विवाद उत्पन्न हुनसक्ने उद्घोष गरेको सुनेँ । यी सुपरिचित व्यापारी चेन बिजनेस स्टार्ट गरेर देशभर आफ्नो ब्रान्ड बनाइरहेका मीनबहादुर गुरुङ हुन्, जो ललिता निवास जग्गा प्रकरणमा आरोपित छन् । उनलाई एउटै मुद्दामा दोहोर्‍याएर थुनामा हालियो । दुई दुईपटक धरौटी माग भयो । हिरासतमा राखियो । एउटै मुद्दामा दुईपटक पक्राउ गरिँदा पनि कोही बोलेनन् ।

गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सेनापति छत्रमान सिंह गुरुङका सम्धी पनि हुन् । उनको व्यापारिक सम्बन्ध कुनैबेला माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग थियो भनेर लेख्नेहरूमध्ये धेरैजसो अहिले पनि जीवितै छन् । भाटभटेनीमा विज्ञापन माग्न गइरहेकै छन् । अहिले प्रचण्डसँग होइन, मीनबहादुरको सम्बन्ध प्रधानमन्त्री केपी ओलीसँग पो रहेछ भनेर अधिकांश माओवादी नेता, कार्यकर्ता उफ्रिरहेका छन् ।

दुई-चार लाख चन्दा माग्नेहरूको देशमा अर्ब रूपैयाँको जग्गा अमुक पार्टीलाई दिएपछि बाँकी मागेर गुजारा गर्नेहरूको विरोध खेप्न गुरुङलाई गाह्रै भएको छ । नगदी रसिदको एकापट्टि दाताले पाउनेमा ५० हजार रूपैयाँ र नगदी रसिद बिक्रेताले पार्टी कार्यालयमा बुझाउने अधकट्टीमा पाँच हजार रूपैयाँ लेखेका कैयौँ गोप्य रसिदहरूले नेपाली राजनीतिक दलका नेता कार्यकर्ताको चन्दा असुली कति दूषित छ, यीनै मीनबहादुर गुरुङहरूले भन्दैनन् । नेता कार्यकर्ताहरू ‘९५ प्रतिशत’ चन्दा व्यक्तिगत पारेर धनी भइरहेकाले लुकाउनै पर्ने विषय हो । यस्तो गुपचुप कीर्ते चन्दा असुलीमा एउटा व्यापारीले हाकाहाकी ‘दान’ त्यो पनि अर्ब रूपैयाँमा दिएपछि नेपाली कांग्रेस पार्टीदेखि संसदको तेस्रो, स-साना पार्टीहरूले पनि विरोध गरेका हुन् कि आफूहरूले नपाएकोले तड्पिएका हुन् रामजाने ।

अँ, मदन भण्डारीले भन्नुभएको रहेछ, ‘भ्रष्टको त चन्दामात्रै होइन, मत पनि लिनुहुन्न ।’ उहाँले यो पनि भन्नुभएको हो नि, ‘राजनीतिमा स्थायी शत्रु भन्ने हुँदैन ।’ हो, शत्रुको मत लिने कि नलिने ? नलिने भए ८८ सीटको पार्टीलाई १० वटा मन्त्री दिएर ७ सीटको पार्टीलाई दुई मन्त्री उपलब्ध गराएर सत्ता चलाउनु एमालेको कमजोरी हो ? मदनकै बाटोमा हिँडिरहँदा सबैभन्दा ठूलो वर्गशत्रु त कांग्रेस हो । उसै पनि एमाले दुई पार्टी सिस्टमको कल्पनामा छ । यस्तोमा जो सबैभन्दा प्रमुख दुस्मन हो, उसैले केन्द्र सरकार मात्र होइन, प्रदेश सरकार पनि खाऊ भनेर दिँदा लिन हुने कि नहुने ?

आज देशको सबैभन्दा धनी पार्टी एमाले हुँदाहुँदै फेसबुक फलोअर घटेकामा चिन्ता किन हुन्छ ? पार्टीमा एउटा व्यक्ति महान बनाउने अभियानमा सबैको मौनता किन देखिन्छ ? त्यही व्यक्तिसँग एउटा मेयरले निहुँ खोज्दा किन संरक्षणमा तिनै हजारौँ कार्यकर्ता फेरि परेडमा देखिन्नन् ?

एमालेजनले बुझेका छन्, ‘जनताको बहुदलीय जनवाद समयसापेक्ष सुधारात्मक सिद्धान्त हो ।’ त्यसैले एकनाथ ढकाललाई समानुपातिक सांसद दिन हुन्छ, कमल थापालाई ‘सूर्य चिन्ह’ मा उम्मेदवार बनाउन हुन्छ । मीनबहादुर गुरुङले ‘हाकाहाकी’ खुलामनले दिएको चन्दा लिन किन हुन्न ? हुन्न भने मोहनगोपाल खेतानले उहिले दिएको ९० लाख रूपैयाँ चन्दा पनि फिर्ता गर्नुपर्छ । त्यतिखेरको ९० लाखभन्दा अहिले मीनबहादुरले दिएको एक अर्ब कमै पो हो कि ? माधवकुमार नेपालले कलंकीको जग्गा बेचेर बल्खुमा किनेको घडेरीको रकम पनि फिर्ता गर्नुपर्छ । कि कतै उल्लेख छ, खेतान अर्थात् मारवाडीले दिएको लिन हुन्छ, गुरुङले दिएको लिन हुन्न, जबजमा यस्तै कतै उल्लेख भएको त छैन ? छ भने पीडीएफ उपलब्ध गराइपाउँ ।

ललिता निवासको जग्गा प्रकरणमा मीनबहादुर गुरुङ पनि आरोपी हुन् । तर, उनले जग्गा दरबारबाट किनेका होइनन्, कोही लालपूर्जा देखाउँदै आयो, सस्तोमा दिन्छु भन्यो । गुरुङलाई जीवनभरको दुःखको कमाइले बालुवाटारमा जग्गा किन्ने मोह जाग्यो, लालपूर्जा हेरे, किने । यसमा उनको दोष कति हुन्छ ? तपाईंले काठमाडौंमा बसेर सस्तोमा जग्गा पाएँ भनेर किन्दा मकवानपुरको बाँदर लड्ने भिर पर्‍यो भने यसमा दोष तपाईंको कति हुन्छ, बेच्नेको कति हुन्छ ? यस्तै ललिता निवासको जग्गा प्रकरणमा मीनबहादुर गुरुङ प्रमुख दोषी झैँ करार गर्ने तपाईं हामी सर्वोच्च भन्दा ‘कति बित्ता’ माथि हौँ ? एक इन्च पनि ब्रह्मले तपाईंलाई के भन्छ ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव भएका बेला वसन्त चौधरीले २०५४ सालमा पशुपति क्षेत्र विकास कोषलाई वार्षिक ५१ हजार रूपैयाँ दिने सम्झौता गरेका रहेछन् । यही सम्झौतामा टेकेर राणाकालका कुरा जोडेर अहिले मारवाडी समुदाय पशुपति गौशाला धर्मशालामा हामी भाडाका सञ्चालक होइनौँ, मोही हौँ भनिरहेका छन् ।

अब मीनबहादुर गुरुङले यो बुढेसकालमा केपी शर्मा ओलीसँग एक अर्बको घरजग्गाबापत के माग्लान् ? र, ओलीले पनि के देलान् ? उमेरका कुरा गर्ने हो भने एक कार्यकाल ‘राष्ट्रियसभा सदस्य’ सम्म हुन सक्लान् गुरुङ । त्यो पनि उनको रुचि छ जस्तो देखिन्न । दोस्रो कुरा, जब उनले जनकपुर र वीरगञ्जमा ‘भाटभटेनी आउटलेट’ शुरू गरे । थाहा छैन, दक्षिण रिसायो कि दक्षिणका नाममा दक्षिणी ढुंगाहरू रिसाए ।

एउटा मुद्दामा समातिएर धरौटीमा छुटेका व्यक्तिलाई फेरि सीआईबीले समात्यो । बाहिर बसेर मुद्दा लडिपाउँ भन्दा पनि हुन्न भनेर हिरासतमै कोचियो । पछि धरौटीमा छाडियो । यो प्रकरणमा एउटै मुद्दामा एउटा आरोपी दुई-दुई पटक हिरासतमा पुग्दा पनि यो देशका ‘मानवअधिकारवादी’ किन रिपोर्टर्स क्लब पुगेर बोलेनन्, माइतीघर मण्डलामा देखिएनन् ? एउटै मुद्दामा दोहोरो कारबाही हुँदाखेरि प्राकृतिक न्यायको सिद्धान्तबारे चुइँक्क बोलेनन् । जबकि ‘बाह्रमासे राग’ यो देशका स्थायी अधिकारवादी भएको पनि दशकौँ बित्यो ।

आफ्नो संघ-संगठनको केन्द्रीय समिति बैठक बसाउन सक्दैनन्, उनीहरूले सुशासनको पाठ पढाएर आधा नेपालीको कानलाई ‘सुगर’ भएको पनि डेढ दशक त पक्कै भयो । चौधरी परिवारले जस्तै गुरुङ परिवारले राजनीतिमा हिस्सा मागेको त होइन होला ! हो भने पनि एकनाथ ढकाल, कमल थापालाई दिन हुन्छ भने मीनबहादुर गुरुङलाई दिँदा के बिग्रन्छ ?

गुरुङ नेपाली सेनाका अवकाशप्राप्त सेनापति छत्रमान सिंह गुरुङका सम्धी पनि हुन् । उनको व्यापारिक सम्बन्ध कुनैबेला माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग थियो भनेर लेख्नेहरूमध्ये धेरैजसो अहिले पनि जीवितै छन् । भाटभटेनीमा विज्ञापन माग्न गइरहेकै छन् । अहिले प्रचण्डसँग होइन, मीनबहादुरको सम्बन्ध प्रधानमन्त्री केपी ओलीसँग पो रहेछ भनेर अधिकांश माओवादी नेता, कार्यकर्ता उफ्रिरहेका छन् ।

पुनश्चः मीनबहादुर गुरुङसँग पंतिकारको सामान्य चिनजान पनि छैन । उनको कुनै पनि आउटलेटमा कारोबार पनि छैन, सामान पनि बेच्दिनँ, चिनेजानेको कसैलाई त्यहाँ सेल्स गर्ल, सेल्स ब्वाइ राखिदेऊ पनि भन्दिनँ । त्यहाँ किनमेल गर्ने वर्गको पनि होइन । एमालेमै आस्था राख्ने पत्रकार लेखक विमल नेपालको मेटा स्ट्याटस साभार गरेर बिदा चाहन्छु । उनले लेखेका छन्, ‘पुँजीवादमा ऋणभन्दा दान खतरनाक हुन्छ ।’

हो, एमालेले दान गरेका विषयहरूमा यहाँहरूको बहस खोइ ? केका आधारमा मोरङे मोतीलाललाई मन्त्री बनाइयो ? केका आधारमा एकनाथ ढकाललाई सांसद दिइयो, केका आधारमा कमल थापालाई ‘सूर्यछाप उम्मेदवार’ बनाइयो ? केका आधारमा आफ्नो भागको गृहमन्त्री रवि लामिछानेलाई टक्र्याइयो ? यी सबै अभ्यासहरू सोह्रैआना ठिक हुन् भने मीनबहादुर गुरुङको दानले नेपाली पुँजीवादमा कहाँ कसरी खतरा आइलाग्छ ? यसले के हुन्छ ?

एमालेका लाखौँ कार्यकर्ता ‘लाख रूपैयाँ’ नै चन्दा दिन सक्छन् । आज देशको सबैभन्दा धनी पार्टी एमाले हुँदाहुँदै फेसबुक फलोअर घटेकामा चिन्ता किन हुन्छ ? पार्टीमा एउटा व्यक्ति महान बनाउने अभियानमा सबैको मौनता किन देखिन्छ ? त्यही व्यक्तिसँग एउटा मेयरले निहुँ खोज्दा किन संरक्षणमा तिनै हजारौँ कार्यकर्ता फेरि परेडमा देखिन्नन् ?

प्रश्नहरू गर्ने गरौँ । तर व्यक्ति, छाला, अनुहार, रंग हेरेर होइन, समग्र प्रकृतिमा बहस गरौँ । यतिखेर मीनबहादुर गुरुङको दानबाहेक बाँकी सबै बदमासी महान देखिनु भूल थियो भनेर एकपटक समीक्षा गर्दा यस्ता कैयौँ दानहरू उपलब्ध हुनेमा शंका होला र ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *