किराँत धर्माबलम्बी लिङदेनको हातबाट क्रिश्चियन सांसद लामाले थापिन् दसैंको टिका – Nepal Press

किराँत धर्माबलम्बी लिङदेनको हातबाट क्रिश्चियन सांसद लामाले थापिन् दसैंको टिका

काठमाडौं । दसंैका टिका लगाउने अन्तिम दिन हिजो राति राप्रपा नेताको एउटा समूह पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको निवासमा छिर्यो । उनीहरुलाई अध्यक्ष राजेन्द्र लिङदेनले टिका लगाएर आशिर्वाद दिए । पार्टी अध्यक्षबाट टिका थाप्नेमध्ये एक थिइन् सांसद विना लामा । उनी क्रिश्चियन धर्मालम्बि हुन् ।

त्यसो त अध्यक्ष लिङदेन पनि हिन्दू होइन । लिम्बु समुदायका उनी किराँत धर्म मान्छन् । दुई गैरहिन्दूबीचको यो दृष्य आफैंमा अर्थपूर्ण र सन्देशमुलक थियो । राप्रपा अध्यक्ष लिङदेनले विगतदेखि नै दसैं मान्दै आएका छन् । उनी आफू पनि टिका लगाउँछन् र अरुलाई पनि लगाइदिन्छन् । जबकि उनको समुदायमा दसैंलाई लिएर एक मत छैन ।

यता बिना लामाको क्रिस्चियन समूदायले दसैं मान्दैनन् । उनको परिवारमा पनि दसैंको टिकाटालो हुँदैन । यद्यपि, उनी आफ्नो धर्म मानिराख्दा हिन्दू धर्मप्रति घृणा फैलाउने काम गर्दिनन् । आफूले फरक धर्म अपनाए पनि नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने उनको मान्यता छ । पार्टीले लिएको हिन्दु राष्ट्रको एजेन्डालाई उनले दृढ वकालत गर्दै आएकी छन् ।

लामा धादिङको रुबीभ्याली गाउँपलिकाको पूर्वउपाध्यक्ष हुन् । हालैमात्र राप्रपाले ४० वर्षमुनिका युवा नेतृत्वमा भित्र्याउने क्रममा केन्द्रीय सदस्य बनाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठ अध्यक्ष लिङदेनले नेतृ लामालाई टिका लगाइदिएको दृष्य रोचक, उदाहरणीय र प्रशसनीय भएको बताउँछन् । जन्म र कर्मले हिन्दू भएकाहरुले यसबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *