विपदबाट प्रभावित स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म उपलब्ध गराउने निर्णय – Nepal Press

विपदबाट प्रभावित स्थानीय तहलाई ५० लाखदेखि १ करोडसम्म उपलब्ध गराउने निर्णय

काठमाडौं । असोज १० गतेदेखि २०८१ असोज १३ सम्मको भारी भारी बर्षापछिको बाढी, पहिरो तथा डुबान प्रभावित स्थानीय तहलाई क्षतिको आधारमा वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने भएको छ । बिहीबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २७ औं बैठकले अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई क्षतिको आधारमा वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको २७ औं बैठकले बाढी पहिरोबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम निकासा गर्ने निर्णय गरेको प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिए । उनका अनुसार प्रभावित तहलाई तीन भागका वर्गीकरण गरी राहत रकम स्वरुप पालिकालाई रु ५० लाखदेखि १ करोड रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।

त्यसका साथै जिल्ला विपद् व्यवस्थापन समिति मार्फत तत्काल राहतस्वरुप प्रभावित पालिकालाई उपलब्ध गराउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिष्दमा सिफारिस गर्ने निर्णय गरिएको अधिकारीले बताए ।दीर्घकालका लागि पुनर्निर्माण र पुनर्स्थापना गर्न उल्लिखित विपद्का कारण भएको सम्पूर्ण क्षतिको विस्तृत क्षति आँकलन यथाशीघ्र गर्ने र सो प्रतिवेदनका आधारमा पुनर्निर्माण र पुनर्स्थापनाको कार्य अघि बढाउन सम्बन्धित क्षेत्रगत निकायले आवश्यक व्यवस्था मिलाउने र सो कार्यको लागि आवश्यक बजेट व्यवस्थापन गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् मार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको उनको भनाई छ ।

त्यसैगरी गत बर्ष जाजरकोट, बझाङ्ग र डोटीमा गएको भूकम्प पश्चातको विस्तृति अति आँकलन तत्काल अघि बढाइ स्थायी निजी आवास पुनर्निर्माण प्रक्रियाको विस्तृत कार्ययोजना तयार गर्न प्राधिकरणलाई निर्देशन गर्ने निर्णय भएको छ । त्यसैगरी मनसुन अवधिभर (मिति २०८१ जेष्ठ २८ गतेबाट २०८१ असोज २६ गतेसम्म) भएका विभिन्न विपदजन्य घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई निशुल्क स्वास्थ्य बीमाको प्रबन्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने र निशुल्क स्वास्थ्य बीमाको प्रबन्ध गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।

विपद्को घटना पश्चात खोज तथा उद्धार कार्यमा संलग्न विभिन्न निजी क्षेत्रका संघसंस्था एवम् गैरसरकारी संस्थाहरूको सहयोग एवम् संलग्नतालाई कदर गर्दै धन्यवाद दिने साथै आवश्यकता अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । बैठकमा स्वाथ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पनि सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *