अमेरिकामा नेपाली टिमलाई किन चाहियो पुबुदु ? – Nepal Press

अमेरिकामा नेपाली टिमलाई किन चाहियो पुबुदु ?

काठमाडौं । नेपाल क्रिकेट सङ्घले अमेरिकामा विश्वकप लिग दुई शृङ्खला खेल्न पुगेको नेपाली टोलीका लागि पुबुदु दासानायकेलाई मेन्टरका रुपमा नियुक्त गरेको छ। क्यानका प्रवक्ता छुम्मी लामाका अनुसार पुबुदुले नेपाली टोलीलाई अमेरिका भ्रमणका क्रममा करिब दुई साता मेन्टरसिप गर्नेछन्। पुबुदुको नियुक्तिले नेपाली टोलीले दुई सफल प्रशिक्षक एकसाथ पाएको छ।

पुबुदु नेपाली टोलीका पूर्व प्रशिक्षक हुन्। उनकै प्रशिक्षणमा नेपालले कुनै समय डिभिजन फाइभदेखि वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपसम्मको यात्रा तय गरेको थियो।

 

त्यति मात्र होइन उनकै प्रशिक्षणमा नेपालले पहिलोपटक छनोट भएर टी२० विश्वकप पनि खेलेको थियो। पुबुदुकै सफलतालाई नेपालका पछिल्ला प्रशिक्षक मन्टि देसाईले नापी रहेका छन्। उनको प्रशिक्षणमा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता कायम राखेको थियो भने टी२० विश्वकप पनि खेलेको छ।

क्यान प्रवक्ता लामाका अनुसार पुबुदुलाई मेन्टर नियुक्त गर्नुका विशेषगरी दुई वटा कारण छन्। पहिलो उनी नेपालका पूर्व सफल प्रशिक्षक हुन्। उनी अहिले खाली छन्। क्यानडा क्रिकेट टिमलाई हेरेका उनी केही समययता उक्त जिम्मेवारीमा छैनन्। दुई सफल प्रशिक्षक पुबुदु र देसाईको संयुक्त प्रयासले नेपाललाई सफलता दिलाउने विश्वास क्यानको छ।

अर्को कारण भनेको पुबुदु अमेरिकालाई पनि प्रशिक्षण गरिसकेका प्रशिक्षक हुन्। अमेरिकी टोलीको कमजोर र बलियो पक्ष उनलाई थाहा भएकाले रणनीतिक रुपमा पनि पुबुदुले काम गर्न सक्ने प्रवक्ता लामाले बताए।

नेपाली टोलीले अमेरिकासँग तीन खेलको टी२० अन्तर्राष्ट्रिय शृङ्खला र विश्वकप लिग २ शृङ्खलामा अमेरिका र स्कटल्यान्डसँग दुई दुई वटा एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्ने छ। यति बेला अमेरिकाले शानदार प्रदर्शन गरिरहेको छ भने नेपाल कमजोर अवस्थामा छ। ८ खेलपछि अमेरिकाको १२ र नेपालको केवल ३ अङ्क छ। पुबुदुले दुई कार्यकाल नेपाली टोली सम्हालेका छन्।

 

अन्तिम पटक सन् २०२१ मा उनी नेपाली टोलीको जिम्मेवारी छाडेर फर्किएका थिए जति बेला नेपाल विश्वकप लिग २ मा कमजोर अवस्थामा थियो। त्यही अवस्थाबाट देसाईले नेपाली क्रिकेटमा एकपछि अर्को सफलता दिलाएका थिए। उनको आगमनपछि नेपालले एसिसी प्रिमियर कप जित्दै पहिलोपटक एसिया कप पनि खेलेको थियो।

 

उनी गत फेब्रुअरीमा क्यानडा टिम लिएर नेपाल आएका थिए। त्यतिबेला नेपालसँग भएका तीन वटा एकदिवशीय अन्तर्राष्ट्रिय खेल क्यानडाले सबै हारेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *