खेलले भावनात्मक एकता बढाउँछ :ओखेडा – Nepal Press

खेलले भावनात्मक एकता बढाउँछ :ओखेडा

बझाङ । संविधान सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य अफिलाल ओखेडाले खेल क्षेत्रले भावनात्मक एकता बढाउने  बताएका छन् । बिहीबार बझाङ जिल्ला खेलकुद समितिले आयोजना गरेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सुदूरपश्चिम प्रदेश छनोट प्रतियोगिताका लागि बझाङ जिल्ला छनोट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै ओखेडाले खेल क्षेत्रले प्रतिभा जन्माउने भएकोले यसमा सबैको सहानुभूति हुने बताएका हुन् ।

‘खेलमा प्रतिभा प्रदर्शन हुने भएकोले यसप्रति कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रह छैन,’ उनले भने, ‘प्रतिभावान् व्यक्तिप्रति सबैले सम्मानपूर्वक माया गर्छन् र हौसला दिन्छन् ।’ ओखेडाले जिल्ला, प्रदेश र राष्ट्रको मान, सम्मान र प्रतिष्ठासँग जोडिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

ओखेडाले खेलकुदको माध्यमबाट देशको पहिचान गर्न राज्यले लगानी बढाउनुपर्ने बताए । खेलकुद क्षेत्रले पछिल्लो समय आशा लाग्दो प्रदर्शन गरेकाले राज्यले लगानी बढाउनुपर्ने उनको भनाई छ । उनले भने,‘पछिल्ला दिनहरूमा भरलाग्दा प्रदर्शन भएका छन् । त्यसलाई जोगाएर थप उत्कृष्ट प्रदान गर्नका लागि राज्यले आवश्यक लगानी गर्नुपर्छ ।’ उनले विभिन्न ठाउँमा हुने मेला महोत्सवले अहिले बझाङको खेल क्षेत्र धानिएको समेत बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बझाङका उपप्रमुख कृष्णबहादुर विष्टले खेलकुद राष्ट्रको सम्पत्ति भएकाले यसको संरक्षण एवं संवर्द्धन गर्न आवश्यक रहेको बताए । खेल प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलको प्रतिस्पर्धाका लागि सहज हुने भएकाले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले अन्य क्षेत्रमा भन्दा खेलकुद क्षेत्रमा राष्ट्रियता देखिएको बताइन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनोट प्रतियोगिता कार्तिक २४ गते देखि २७ गते सम्म कैलालीमा हुने भएको छ । ३६ वटा खेल हुने दशौँ राष्ट्रिय खेलमा बझाङ जिल्ला १८ खेलमा सहभागी हुने बझाङ जिल्ला खेलकुद समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताए ।

१८ वटा खेलमा १८ टिम पुरुष र १३ टिम महिला गरी २२६ जना खेलाडी सहभागी हुने भएका छन् । जिल्ला छनोट प्रतियोगिता अन्तरगत आजबाट सिमखेतमा क्रिक्रेटको छनोट सुरु भएको छ । आजबाट सुरु भएको छनोट प्रतियोगिता कार्तिक १० गते सम्म चल्ने भएको छ ।

नवौँ राष्ट्रिय खेलमा बझाङबाट २३ खेलाडी राष्ट्रिय खेलमा सहभागी भएका थिए । खेलमैदानको अभावका बिच पनि विभिन्न प्रतियोगितामा बझाङका खेलाडीहरू सहभागी हुने गरेको अध्यक्ष रोकायाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *