विपक्षी दलको बैठकमा सत्तापक्षका महन्थ र रञ्जिता : चासो दल फुटाउने अध्यादेशको – Nepal Press

विपक्षी दलको बैठकमा सत्तापक्षका महन्थ र रञ्जिता : चासो दल फुटाउने अध्यादेशको

लोसपा महासचिवले भने - कम्युनिकेसन ग्याप भयो, रञ्जिता भन्छिन्- म पुग्दापुग्दै बैठक सकियो

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बोलाएको विपक्षी दलहरूको बैठकमा सत्तापक्षका दुई नेताहरू पनि उपस्थित भए । विपक्षी मोर्चाको रणनीति बनाउन बोलाइएको बैठकमा सत्तापक्षको सहभागिता आफैंमा अनौठो थियो ।

सरकारमा समेत सहभागी रहेका दुई दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ बैठकमा पुगेका हुन् । उनीहरूको उपस्थितिलाई लिएर विभिन्न अड्कलबाजी हुन थालेका छन् ।

लोसपाबाट केपी ओली नेतृत्वको सरकारमा शरदसिंह भण्डारी श्रममन्त्री छन् । सो पार्टीका महासचिव सुरेन्द्र झाले कम्युनिकेसन ग्यापका कारण अध्यक्ष ठाकुर विपक्षी दलको बैठकमा पुगेको बताए ।

उनले भने, ‘प्रचण्डजीको सचिवालयले भोलि केही नेताहरूलाई भेट्ने कुरा भएको छ । सम्भव भए आउनुस् भन्नुभएको थियो । उहाँलाई विपक्षी दलको बैठक भन्ने थाहा थिएन । सूचनाको ग्याप भयो । त्यही कारणले आजको बैठकमा पुग्नुभएको हो ।’

उनले सत्ता गठबन्धनमा कुनै असन्तुष्टि नरहेको बताए ।

झाले थपे, ‘नेताजस्तो मान्छे बैठकमा पुगेपछि उसै हिँड्ने कुरा भएन । प्राकृतिक प्रकोपको विषयमा तपाईंहरूले उठाउनुभएको कुरामा समर्थन छ । तर, राजनीतिकरूपमा हामी अझै पीडित छौं भन्ने कुरा राखेर फर्किनुभयो । सरकारसँग कुनै असन्तुष्टिको कारणले जानुभएको होइन ।’

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पनि आफूलाई बोलाइएकाले गएको संक्षिप्त प्रतिक्रिया दिइन् ।

उनले भनिन्, ‘मलाई छलफल छ, आउनुस् भन्नुभएको थियो । त्यसैले गएकी हुँ ।’

आफू बैठक सकिने बेलामा पुगेको र छलफलका विषयवस्तु खासै थाहा नपाएको उनले दावी गरिन् ।

तर, स्रोतका अनुसार सत्तापक्षका यी दुवै नेता दल विभाजनसम्बन्धी अध्यादेशको चासोका कारण विपक्षी मोर्चाको बैठकमा भाग लिन पुगेका हुन् । सरकारले साना दलहरूलाई विभाजन गर्न सहज तुल्याउने गरी अध्यादेशमा नयाँ व्यवस्था गर्न लागेको आशंका विपक्षी दलहरूलाई छ । यही विषयमा छलफल गर्न भनेर प्रचण्डले सत्ता पक्षका नेताहरूलाई पनि खबर गरेको बुझिएको छ ।
यदि यस्तो अध्यादेश ल्याउन खोजिएमा संगठित प्रतिवाद गर्ने विषयमा बैठकमा छलफल भएको थियो । महन्थ र रञ्जिताले पनि यसमा समर्थन जनाएको स्रोतले दाबी गर्‍यो ।

‘दल विभाजनसम्बन्धी अध्यादेश आएमा मिलेर प्रतिवाद गर्ने कुरा भएको छ, सत्ता पक्षमा रहेका साना दलका नेताहरूलाई यही विषयमा छलफल गर्न बोलाइएको हो,’ स्रोतले भन्यो ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारमा सहभागी दल विपक्षी दलको बैठकमा जानुअघि सोच्नुपर्ने बताए ।

उनले भने, ‘उहाँ के कारणले बैठकमा जानुभयो भन्ने आउला । तर, सरकारमा सहभागी दलको नेता विपक्षी दलको बैठकमा जानुअघि विचार पुर्‍याउनुपर्छ ।’

रास्वपा संसदीय दलका उपनेता विराजभक्त महर्जन भने सत्तापक्षका नेताहरु पनि विपक्षी बैठकमा आउनु सकारात्मक भएको बताउँछन् ।

उनले भने, ‘यो अभ्यास राम्रो हो । सत्ता पक्षले बोलाएको बैठकमा हामी जान्छौं भने हाम्रो बैठकमा उहाँहरु आउँदा अन्यथा हुँदैन ।’


प्रतिक्रिया

One thought on “विपक्षी दलको बैठकमा सत्तापक्षका महन्थ र रञ्जिता : चासो दल फुटाउने अध्यादेशको

  1. माधवलाई अध्यादेशको विरोध गर्न लाज लाग्दैन ? पहिला ल्याएर फुटाउँदा चाहिँ हुने ? अहिले किन नहुने ? टुक्रे पसलवाला पार्टीहरू धुजाधुजा पारिदिएहुन्छ । यी विदेशीका दलाल सिवाय केही पनि होईनन् । सबैभन्दा पहिला त माओवादी फुटाउनुपर्छ । यो देश ५२ सालदेखि बिगार्ने दलाल भनेको प्रचण्ड र माओवादी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर