‘सुम्निमा’ उपन्यास : बीपी कोइरालाले के सोचेर लेखेका थिए ?
काठमाडौं । साहित्यमा विश्वेश्वरप्रसाद कोइराला भनेर चिनिन चाहेका बीपी कोइरालाले लेखेको उपन्यासमा धेरैले धेरै रुपमा व्याख्या गरेका छन् । २०२७ सालमा साझा प्रकाशनबाट प्रथम पटक प्रकाशित ‘सुुम्निमा’ उपन्यासबारेमा विभिन्न भाषा, साहित्य क्षेत्रका अनुहारहरुले विभिन्न कुरा भनेका छन् । उदाहरणको लागि ‘सुम्निमा’ उपन्यासबारेमा साहित्यकार र आफैं आख्यानकार पनि रहेकी सरस्वती प्रतीक्षाले २०७३ मा भनेकी थिइन्, ‘पहिचान र आदिवासी मुद्दामा अहिले धमाधम कलम चलिरहेको छ । आजभन्दा वर्षौं अगाडि लेखिएको ‘सुम्निमा’को प्रत्येक आवाजमा म त पहिचानको आवाज सुन्छु ।’
महेन्द्र आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक अनिल अधिकारीले ‘सुम्निमा उपन्यासको विम्बपरक विश्लेषण’ शीर्षक लेखमा लेखेका छन्, ‘सुम्निमा उपन्यासले बहुसांस्कृतिक समाज र सभ्यतामा बहुल साँस्कृतिकले अल्प सांस्कृतिकलाई आफूभित्रै समाहित गर्ने मानवशास्त्रीय यथार्थलाई नेपाली समाजको संरचनासँग सम्बद्ध विद्यमान साँस्कृतिक विलयनको यथार्थलाई मिथकीय पुनर्सिर्जनाका माध्यमबाट प्रस्तुत गरेको छ ।’
सप्तगण्डकी जर्नलमा सप्तगण्डकी क्याम्पसकी उपप्राध्यापक विन्दू पौड्याल (वस्ती)ले पनि सुुम्निमाबारेमा ‘सुम्निया उपन्यासको परिवेशीय मिथक’ शीर्षकमा धारणा दिएकी छन् । उनले लेखेकी छन्, ‘किराँती र आर्य संस्कृतिका पात्रहरुको सिर्जना गरी त्यसमा किराँती र आर्य समाजका मिथकहरुको संयोजन गरेर उपन्यासको कथावस्तुलाई जीवन्त बनाइएको छ ।’
बीपी कोइरालाको बहुचर्चित उपन्यास ‘सुम्निमा’बारेमा लेखिएका यी त तीन थान तर्कमात्रै हुन् । नेपाली भाषा साहित्यमा शोध गरेका सयौंले यस्ता विभिन्न तर्क दिएका छन्, धारणा दिएका छन् । स्वयं बीपी कोइरालाले चै सुम्निमा उपन्यासबारेमा के भनेका थिए ? त्यो उपन्यासको कथाको जरो के थियो ? यो सामग्रीमा त्यही कुरा जोडिएको छ ।
बीपीलाई २०२० सालमै फुरेको थियो सुम्निमा उपन्यास
सुम्निमा उपन्यास २०२७ सालमा प्रकाशन भएको थियो, तर यसको कथाले बीपीको मथिंगल घुमाएको भने २०२० चैतबाटै हो । २०२० चैत ७ गतेको बीपी कोइरालाको डायरीमा यसबारे लेखिएको छ । भारतको जवाहरलाल नेहरु संग्रहालयबाट पदमबहादुर थापाले छायाँ प्रति लिएर शंकर तिवारी सम्पादक भएर शिखा बुक्सले २०८० मा प्रकाशन गरेको सन् १९६२ देखि १९६८ सम्मको बीपी कोइरालाको डायरीको संकलन गरेर छापिएको पुस्तक ‘जेल डायरी’मा यसबारेमा लेखिएको छ । यो उपन्यास लेख्नुमा बीपीलाई दुई सवालले छोएको देखिन्छ ।
‘यौन विलास कि जिम्मेवारी ?’ भन्ने दुई सवालमा जोडिएर बीपी चैत ७ गरेको डायरीमा दुई बुँदा लेख्छन्-
१. जिम्मेवारीको रुपमा गरिने हो भने यो जायज संरक्षणका लागि गरिने जैविक अथवा प्रेरणात्मक जिम्मेवारीको रुपमा यो अनिवार्य हो, तर यो विलासको माध्यम भयो भने बेठीक छ । यो हिन्दू धर्मको दृष्टिकोण हो । ईसाई धर्ममा पनि यस्तै कुरा हुन्छ । विलासको क्रियाको रुपमा यौनलाई सबैतिर वर्जित नै मानिएको छ ।
२. अर्कोतिर यौन विलास क्रीडा हो । यसबाट हुन आउने प्रजनन फगत एक अतिरिक्त उत्पादन हो । निकृष्ट उत्पादन तथा अनिश्चित ।
यी बुँदा भनेर बीपी लेख्छन्, ‘यस विषयमा मेरो दिमागमा एउटा कथा फुरिरहेको छ । हिन्दू धारणामा आधारित यौन र एक जोडी दम्पतीको सम्बन्धबारे । उनीहरुका लागि यौनक्रिया फगत एक अनुशासन हो । एउटा निष्पृह कार्य । उनीहरुको बच्चा भएन । त्यसैले उनीहरुको जिम्मेवारीपूर्ण क्रीडा निष्फल भयो । पुत्र प्राप्तिको उनीहरुको प्रयास व्यर्थ भयो ।’
बीपीले अर्को ठाउँमा उपन्यासको नाम सुम्निमा नै राखेको छनक दिएर लेखेका छन्, ‘सुम्निमा-विश्व सम्बन्धबारेमा मेरो धारणालाई निरुपण गर्न यो कथा मेरो अनुकूल हुनेछ । मानव जोडीमा देखिने आत्मश्लाघा, दैविक उद्देश्य र देवत्वको अवधारणा तथा तिनको कार्यान्वयन यस कथाले सायद समेट्छ । धरतीमा विद्यमान आवाज, गन्ध र रङहरु प्रिय छन् । मान्छेको प्रेमले समयलाई अझ स्वर्णिम बनाउँछ । मन अझ खुशी हुन्छ । मैले भगवानबाट थप केही कुराको पनि आशा राखिनँ । मान्छेलाई वास्तवमा मनपर्ने भनेको दुःखमा उसमा आउने साहस हो ।’
बीपीले देखेको सुम्निमा उपन्यासको दुर्बल पक्ष
सुम्निमा उपन्यासको कमजोरी पक्षमा पनि बीपी मुखर छन् सोही दिनको डायरीमा । उनले भनेका छन्, ‘यस कथाको कमजोर पक्ष के छ भने आफूले आफ्नो लोग्नेभन्दा बलियो पुरुषसँग यौन सम्पर्क राखेको कुराप्रति महिला अनभिज्ञ रहून् भन्ने म चाहन्छु । उता लोग्ने भने त्यस साँझ उनकी श्रीमतीले देखाएको उग्र प्रतिक्रियाप्रति चकित छ, तर प्राकृतिक रुपले यस्तो घटना घटित हुने कुनै पनि सम्भावनाको म कल्पना गर्न सक्दिनँ । कुनै प्रपन्चको शिकार बनाइएकी महिलाको कुनै मिथकीय कथा सायद मेरो लागि काम लाग्ला ।’