टीआरसीसम्बन्धी बैठकमा प्रधानमन्त्रीसामु जब प्रचण्डले रवि लामिछानेको प्रसंग उप्काए… – Nepal Press

टीआरसीसम्बन्धी बैठकमा प्रधानमन्त्रीसामु जब प्रचण्डले रवि लामिछानेको प्रसंग उप्काए…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसीको छनोट समिति बनाउने विषयमा छलफल गर्न हिजो बोलाएको बैठकमा गृहमन्त्री रवि लामिछानेको प्रसंग निस्कियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विषय कोट्याएका थिए ।

प्रधानमन्त्री ओली र प्रचण्डसहित गृहमन्त्री रमेश लेखक र महान्यायाधीवक्ता रमेश बडाल बैठकमा उपस्थित थिए । टीआरसीका विषयमा औपचारिक छलफल पश्चात प्रचण्डले प्रधानमन्त्रीसँग सहकारी ठगीका विषयमा गठित संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयनबारे जिज्ञासा राखे ।

‘छानविन समितिले दिएको प्रतिवेदन कसरी कार्यान्वयन गर्नुहुन्छ ? रवीजीलाई के हुन्छ ?’ प्रचण्डको प्रश्न उद्दृत गर्दै स्रोतले भन्यो ।
जवाफमा ओलीले संसदीय समिति आफ्नो रहरले गठन नभएको बताए ।

उनले भने, ‘तपाईं प्रधानमन्त्री हुँदा नै छानविन समिति बनाउनुभएको हो । मैले त संसदीय छानविन समिति भनेको नीतिगत विषयमा गठन गर्ने हो, व्यक्तिलाई लक्ष्यित गरेर बनाउन हुँदैन भनेर अडान लिएँ । तपाईंहरुले मान्नु भएन । आफैंले अघि सरेर समिति बनाउनुभएको हो । रवीजी पनि तयार हुनुभयो । कांग्रेसले त मागेकै थियो । अल्पमतमा परेपछि म चुप लागेँ । अब समिति बनिसकेपछि उसले जे सुझाव दिएको छ, त्यहीअनुसार हुन्छ । रवीजीको विषयमा कार्यान्वयन नगर्ने, अरुको मात्र गर्ने भन्ने हुँदैन ।’

ओलीको जवाफपछि प्रचण्डले थप जिज्ञासु भएर सोधे, ‘त्यसो भए रविजीलाई के हुन्छ त ?’

ओलीले सहजरुपमा जवाफ दिए, ‘अब समितिले जे भनेको छ त्यही हुन्छ । यसमा मैले भन्ने कुरा केही पनि छैन । संसदीय समितिले दिएको सिफारिस प्रधानमन्त्रीले मान्दिनँ भन्न पाउँदैन । यो त तपाईंलाई नै थाहा छ ।’

उनले अर्को प्रश्न राखे ‘सहकारी ठगीको विवादमा कांग्रेस नेताहरु पनि मुछिनु भएको छ । कांग्रेस नेताहरुलाई जोगाएर रविजीलाई मात्रै कारवाही गर्दा त जनमानसमा प्रश्न उठ्ला नि । त्यसमाथि अहिले प्रणालीमाथि नै प्रहारहरु भइरहेका छन् । झन् असन्तुष्टि बढ्न सक्ला नि रु’
प्रचण्डले ‘कांग्रेस नेता’ भनेपछि गृहमन्त्री रमेश लेखक टाठा भए । उनले प्रचण्डलाई जवाफ दिए ।

‘हेर्नुस पूर्वप्रधानमन्त्रीज्यू, तपाईंलाई मैले के भनौं । एउटा पार्टीको व्यक्ति मुछियो भनेर समावेशी बनाउन कांग्रेसलाई पनि मुछौं भन्ने हो भने बेग्लै कुरा, नत्र त कारवाही गर्न त आधार चाहियो नि । धनराजजीको कुरा गर्नुभएको हो भने उनको खातामा पैसा गएको देखिनुपर्यो, उनले हस्ताक्षर गरेको हुनुपर्यो । श्रीमतीले गल्ति गरेको हो भने पनि त्यसमा कारवाही भोग्ने भन्ने हुन्छ र रु छोराले अपराध गर्यो भने बाबु जेल जानुपर्छ ?  तपाईं र मैले चाहेअनुसार हुने हो र ? कानून अनुसार पो हुन्छ,’ लेखकले भने ।

त्यसपछि प्रचण्डले बिट मार्दै भने, ‘त्यो त त्यही हो । बाहिर प्रश्न उठ्ला भन्ने चिन्ता मात्रै हो मलाई ।’

प्रचण्डले आज आफैंले बोलाएको विपक्षी दलको बैठकमा प्रधानमन्त्रीसँग भएको कुराकानीको जिस्ट सुनाएका थिए । प्रधानमन्त्रीले रविलाई पक्राउ गर्ने संकेत दिएको उनको भनाइ थियो ।


प्रतिक्रिया

One thought on “टीआरसीसम्बन्धी बैठकमा प्रधानमन्त्रीसामु जब प्रचण्डले रवि लामिछानेको प्रसंग उप्काए…

  1. कांग्रेस त सकिएछ अब, राजनैतिक प्रतिशोध लिएर फसाउन खोजेको स्पष्ट छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *