रवि लामिछानेलाई पक्राउ गर्न खोजिनु राजनीतिक प्रतिशाेध, पार्टीको रणनीति बनाउँदैछौं: डीपी अर्याल – Nepal Press

रवि लामिछानेलाई पक्राउ गर्न खोजिनु राजनीतिक प्रतिशाेध, पार्टीको रणनीति बनाउँदैछौं: डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीेका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी हुन सक्ने हल्लाले राजनीतिक सरगर्मी बढाएको छ । रास्पपा नेताहरु पार्टी कार्यालयमा भेला भएर अनौपचारिक छलफल गरिरहेका छन् ।

रास्वपा उपसभापति डोलप्रसाद अर्याल पक्राउ पूर्जि जारी हुने चर्चा सुने तापनि औपचारिकरुपमा केही पनि नआएको बताउँछन् । यदि लामिछानेलाई पक्राउ नै गर्न खोजिएको हो भने त्यो राजनीतिक प्रतिसोधपूर्ण हुने उनको भनाइ छ ।

अर्यालसँग गरिएको संक्षिप्त कुराकानीः
रवि लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्याप्त छ । अहिलेसम्म पार्टीलाई कुनै सूचना वा जानकारी छ कि छैन ?

हामीलाई औपचारिक जानकारी केही पनि आएको छैन । पक्राउ पूर्जि जारी हुँदैछ रे भन्ने सुनेका छौं । अहिले पार्टी कार्यालयमा बसेर अनौपचारिक कुराकानी गरिरहेका छौं ।

यदि पक्राउ पूर्जी जारी भयो र पक्राउ गर्न खोजियो भने रास्वपाको रणनीति के हुन्छ ?
हामी अहिले छलफलमै छौं । सभापतिज्यूले निस्पक्ष अनुसन्धामा सघाउँछु भनेर भन्दै आउनुभएको छ । तर, राजनीतिक प्रतिसोध साँध्न खोजिएमा हामीलाई मान्य हुँदैन । पक्राउ गर्न खोजिएको अवस्थामा कसरी सामना गर्ने भन्ने रणनीति बनाउने क्रममा छौं ।

पार्टी कार्यकर्तालाई सडकमा उतार्ने तयारी हो ?

आफ्नो पार्टीका सभापतिलाई अन्यायपूर्वक जेल हाल्न खोजिन्छ भने कार्यकर्तापंतिले स्वतस्फुर्त रुपमा प्रतिरोध गर्न सक्छन् । पार्टीले अहिलेसम्म यसमा कुनै पनि निर्देशन दिएको छैन ।

अनुसन्धानलाई सघाउने भनिसकेपछि पक्राउ पूर्जी जारी गर्ने कुराको विरोध किन त ?
के आधारमा पक्राउ गर्ने भन्ने त प्रष्ट हुनु पर्यो नि ।

संसदीय छानविन समितिले दिएको प्रतिवेदनका आधारमा ?

सर्वप्रथमत संसदीय छानविनसमितिले आफ्नो टीओआर नाघेर कारवाही सिफारिस गरेको छ । अर्कोकुरा सहकारी ठगीमा सभापतिज्यूलाई समितिले आरोपित पनि गरेको छैन । गोर्खा मिडियाको पैसा खर्च गरेकोमा मात्रै जिम्मेवार ठहर्याइएको हो । यसमा त सहकारी ऐन नभएर कम्पनी ऐन आकर्षित हुन्छ । कम्पनी ऐन अनुसार एमडीले कम्पनीको खातमा भएको पैसा खर्च गर्न पाउँछ कि पाउँदैन रु एमडीले कम्पनीको पैसा खर्च गर्दा जेलमा हाल्न कुन कानूनले दिन्छ ? हाम्रो प्रश्न यो हो ।

भनेपछि राजनीतिक पूर्वाग्रह साँध्न खोजिएको पार्टीको निस्कर्ष हो ?

विल्कुल हो । सहकारीपिडितलाई न्याय दिन खोजिएको छैन । त्यतातिर चासो नै छैन । जसरी पनि रवि लामिछानेलाई जेल हाल्नु परेको छ । यो राजनीतिक प्रतिसोध नभए के हो ?


प्रतिक्रिया

One thought on “रवि लामिछानेलाई पक्राउ गर्न खोजिनु राजनीतिक प्रतिशाेध, पार्टीको रणनीति बनाउँदैछौं: डीपी अर्याल

  1. रविलाई पनि अनुसन्धान गर्नुपर्छ भन्ने संसदीय समितिको प्रतिवेदनमा रास्वपाकै प्रतिनिधिले सहि गरेको होईन ? अनि सडकमा मान्छे उतार्ने ? छानबिन हुन देउ न त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *