चितवनमा दुई दिनमा दर्ता भयो ३२ मुद्धा – Nepal Press

चितवनमा दुई दिनमा दर्ता भयो ३२ मुद्धा

चितवन । जिल्ला सरकारी वकिल कार्यालय चितवनले दुई दिनमा ३२ वटा मुद्धा दर्ता गरेको छ । कार्यालयले दशैँ बिदा पछि कार्यालय खुलेको बुधबार र बिहीबार दुई दिन ३२ वटा मुद्धा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गरेको हो ।

जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलका अनुसार असोजको ३० गते ९ वटा मुद्धा दर्ता भएको थियो भने कात्तिक १ गते २३ वटा मुद्धा दर्ता भएका हुन् । चितवनमा दसैँ बिदा भएयताको समयमा भएका विभिन्न आपराधिक गतिविधिमा प्रहरीले नियन्त्रणमा लिई हिरासतमा लिएका व्यक्तिहरूका मुद्धा एकैपटक दर्ता हुँदा धेरै देखिएको उनले बताए ।

फौजदारी प्रकृतिको मुद्धा अनुसन्धान पछि जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा पेश गर्ने गर्दछ । र, जिल्ला सरकारी वकिलको कार्यालयले अपराधको प्रकृति अनुसार अभियोजन लगाएर मुद्धा दर्ता गर्ने गर्दछ ।

दुई दिनमा दर्ता भएकामध्ये धेरैजसो अपराधको प्रकृति भने चाडपर्वको समयमा गरिएका हुलहुज्जत, अभद्र व्यवहार र चोरीका रहेका छन् । जिल्ला न्यायाधीवक्ता लुइँटेलले नेपाल प्रेससँग कुरा गर्दै भने, — धेरैजसो चोरी, अभद्र व्यवहारका मुद्धा छन् । त्यसैगरि जबरजस्ती करणी, करणी उद्योग लगायतका मुद्धा पनि दर्ता भएका छन् । धेरै दिनपछि अदालत खुलेका कारण एकैपटक मुद्धाको चाप धेरै भएको हो ।

अभद्र व्यवहारका मुद्धा जिल्ला प्रशासन कार्यालय चितवनले छिनोफानो गर्ने भएकोले सरकारी वकिल कार्यालय मार्फत जिल्ला प्रशासनमा दर्ता भएका हुन् । भने बाँकी मुद्धा जिल्ला अदालत चितवनमा दर्ता भएको उनले जानकारी दिए  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर