यूएईबाट नेपाल पैसा पठाउँदा उपहारमा १० वटा कार – Nepal Press

यूएईबाट नेपाल पैसा पठाउँदा उपहारमा १० वटा कार

आबुधावी । यूएईबाट वैधानिक रूपमा नेपाल पैसा पठाउँदा १० वटा निसान कार उपहार पाइने भएको छ । अल अहलिया एक्सचेन्जले अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि ‘विन्टर योजना’ ल्याएर वैधानिक हिसाबले घरमा पैसा पठाउने ग्राहकलाई यस्तो अवसर प्रदान गर्न लागेको हो । उपहारमा प्रदान गरिने निसान सनी प्रतिएक कारको बजार मूल्य अहिले झन्डै साढे २२ लाख रुपैयाँ छ ।

एक्सचेन्जले केन्द्रीय कार्यालय आबुधावीमा पत्रकार सम्मेलन गर्दै यो योजनाअन्तर्गत नेपालसहित कुनै पनि देशमा पैसा पठाउँदा सेवाग्राही स्वतः उपहारको भागीदार बन्ने योजना सार्वजनिक गरेको हो ।

यो योजना अक्टोबर १७ तारिखदेखि फ्रेबुअरी १३ सम्म सञ्चालन गरिनेछ । यस अवधिमा एक्स्चेञ्जको कुनै पनि शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनोट गरिनेछ ।

यूएईको स्थानीय प्रशासनका उच्च अधिकारीले डिजिटल प्रविधिमार्फत गोलाप्रथा गरेर विजेता घोषणा गर्नेछन् । यस अवधिमा जम्मा ५ पटक इलेक्ट्रोनिक ड्र गरिनेछ । सोहीअनुसार योजना सुरु भएको ६० दिनमा दुई ठाउँ दुबई र आबुधावीमा इलेक्ट्रोनिक लक्की ड्र गरिनेछ । बाँकी ३ वटा इलेक्ट्रोनिक ड्र योजनाको १२० औं दिनको दिन आबुधावी, दुबई र सारजाहमा गरिनेछ । लक्की ड्र जहाँ गरिए पनि यूएईभरका ३० वटा शाखाबाट पैसा पठाउने सबै सेवाग्राहीले यो अवसर प्राप्त गर्नेछन् ।

अल अहलिया एक्सचेन्जले गएको ११ वर्षदेखि आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । कोरोना सङ्क्रमणका दुई वर्ष अफर ल्याउन नसकिए पनि गएको वर्षबाट ग्राहक लक्षित योजना सुरु गरेको एक्सचेन्जका वरिष्ठ बजार प्रमुख सन्तोष नाएरले बताए ।

यसै वर्ष समर प्रमोसनमा पनि मेघा लक्की ड्रमार्फत आधा किलो सुनसहित ५ वटा निसान सनीको कार उपहार प्रदान गरिएको एक्सचेन्जका स्याटलाइट तथा एपीएस मार्केटिङ म्यानेजर सुदर्शन जोशीले नेपाल प्रेसलाई जानकारी दिए ।

वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन यहाँ कार्यरत नेपालीलाई प्रेरित गर्ने उद्देश्यले विभिन्न योजना ल्याएको एक्सचेन्जका नेपाल प्रमुख बेनिमाधव ढकालको भनाइ छ ।

यसअघिका योजनामा धेरै जना नेपालीले उपहार जितेको भन्दै यस योजनामा पनि सहभागी हुन उनले आग्रह गरेका छन् । यही एक्सचेन्जमार्फत पैसा पठाउँदा सन् २०१८ को यस्तै योजनामा इलामका नरेन्द्र मगर र सन् २०१९ को योजनामा ताप्लेजुङका यमनाथ भट्टराईले १ किलो सुन उपहार पाएका थिए ।

त्यस्तै सन् २०१३ मा सोही कम्पनीले चलाएको योजनामा अर्का एक नेपाली रामबहादुर कटुवालले एक लाख दिराम (झन्डै ३६ लाख रुपैयाँ) नगद उपहार पाएका थिए । एक्सचेन्जले सन् २०२० मा चलाएको विन्टर प्रमोसनमा रोल्पाका झकबहादुर गिरी र रुपन्देही सैनामैनाकी सीता पाण्डेले झन्डै ५० लाख रुपैयाँको उपहार पाएका थिए ।

सन् १९९६ देखि यूएईमा सेवा सुरु गरेको एक्सचेन्जले विभिन्न राज्यमा ३० वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । अहलिया एक्सचेन्ज यूएईबाट नेपालमा धेरै रेमिट्यान्स पठाउनेमध्ये एक ठूलो कम्पनी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर