डीवाईएस वडाध्यक्ष कप क्रिकेट कपको उपाधि शुक्लाफाँटालाई – Nepal Press

डीवाईएस वडाध्यक्ष कप क्रिकेट कपको उपाधि शुक्लाफाँटालाई

कैलाली । कञ्चनपुरको लालझाडी गाउँपालिका-५ देखतभुलीमा आयोजित प्रथम डीवाईएस वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिका-७ ले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा आयोजक देखतभुली युवा समाजलाई पराजित गर्दै शुक्लाफाँटाले उपाधि चुमेको हो । ५७ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको देखतभुलीलाई शुक्लाफाँटाले ७ ओभरमा अलआउट गरेर नतिजा आफ्नो पक्षमा पारेको हो ।

उपाधि विजेता शुक्लाफाँटाले ५१ हजार १५१ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेतामा चित्त बुझाएको देखतभुलीले २५ हजार ५०५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

विजेता र उपविजेतालाई एक कार्यक्रमबीच एमालेका प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, वडाध्यक्ष पहलबहादुर थापा र कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्काले पुरस्कार प्रदान गरेका थिए ।

लालझाडी गाउँपालिका- ५ वडासँगको सहकार्यमा देखतभुली युवा समाजले आयोजना गरेको प्रतियोगितामा १४ टीमको सहभागिता थियो ।

समाजका अध्यक्ष प्रेमसिंह धामीले पछिल्लो पटक नेपाली क्रिकेट टीमको प्रदर्शन उत्कृष्ट रहेका बेला गाउँघरमा पनि क्रेज बढेकाले नयाँ खेलाडी उत्पादनमा सहयोग होस् भनेर प्रतियोगिता आयोजना गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *