अर्काकी श्रीमतीलाई मोटरसाइकल चढाउँदा गयो ज्यान ! – Nepal Press

अर्काकी श्रीमतीलाई मोटरसाइकल चढाउँदा गयो ज्यान !

रुपन्देही । पश्चिमनवलपरासीको पाल्हिनन्दन गाउँपालिका ५ घर भएका २० वर्षीय रोशन भनिने सूर्यकुमार बढईको हत्यामा संलग्न भएको आरोपमा स्थानीय एक किशोरसहित तीन जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।

जिप्रका नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका ६ का ३० वर्षीय जोगिन्दर बढई, सोही ठाउँमा २० वर्षीय सुरज राजभर र अर्का एक १७ वर्षका किशोर रहेका छन्। गत साउन १४ गते राति आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बढईको हत्या भएको थियो।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार साउन १४ गते राति आफ्नै भाइसँग सुतिरहेको बेला बढईमाथि धारिलो हतियार प्रहार हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि हत्याराहरू फरार भएका थिए।

घटना हुनुभन्दा तीन दिनअघि साउन ११ गते जोगिन्दर बढईकी श्रीमतीलाई मोटरसाइकलमा राखेर रोशन भनिने सूर्यकुमार बढईले आफन्तको घरमा पुर्‍याएका थिए। सोही बेला बाटोमा जोगेन्दरसँग रोशनको भेट भएपछि विवाद सुरु भएको थियो।

आफ्नी श्रीमतीलाई मोटरसाइकलमा चढाएको विषय जोगिन्दरले साथी सुरज राजभर र अर्का किशोरलाई पनि जानकारी गराएका थिए। सो विवादपछि जोगिन्दरले रोशनसँग बदलाको भावना राखेको पाइएको प्रहरी अनुसन्धानले देखिएको छ।

साथीहरूबीच रोशनलाई तह लगाउने सल्लाह भए बमोजिम साउन १३ गते बेलुकी गाउँको कुटिया माई मन्दिरमा बसेर उनीहरू गाँजा सेवन गरी रोशनलाई समेत उनीहरूले सोही स्थानमा बोलाए ।

रोशन मोटरसाइकलमा त्यहाँ पुगेपछि सामान्य छलफल भएर उनीहरू छुट्टिए। सोही राति १७ वर्षीय किशोरसहित जोगिन्दर र सुरजले स्थानीय पसलमा मादक पदार्थ सेवन गरी रोशनको घर नजिकै बगैँचामा बसेर गाँजासमेत सेवन गरेका थिए।

गाँजा सेवनपछि जोगिन्दर बढईले साथमा ल्याएको हँसिया लिएर रोशन सुतेको ठाउँमा गए। साउन १४ गते बिहान झण्डै चार बजेतिर उनले ओछ्यानमै गएर रोशनको घाँटीमा प्रहार गरेका थिए।

त्यसपछि उक्त हतियार ट्वाईलेटको सेफ्टिट्यांकीमा लुकाएर जोगिन्दर यूपी ५६ एए २७८९ नम्बरको मोटरसाइकल चढेर भारततर्फ फरार भएका थिए। घटनापछि पनि सुरज र ती किशोर भने गाउँमै बसेका थिए।

प्रहरीले घटनाको अनुसन्धान गर्दै थियो। सोही क्रममा असोज २३ गते जोगिन्दर बढई आफ्नो घरमा आएको सूचना पाउनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो। जोगिन्दरकै सूचनाको आधारमा घटनामा संलग्न देखिएका अन्य दुईजना समेतलाई पक्राउ गरिएको नवलपरासी प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर